राष्ट्रपति, प्रधानमन्त्रीद्वारा इन्द्रजात्रा अवलोकन

राष्ट्रपति, प्रधानमन्त्रीद्वारा इन्द्रजात्रा अवलोकन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानु भई जात्रा अवलोकन गर्नुभएको छ ।जात्रा अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शार्मालगायत मन्त्रिगण, सांसद, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि सहभागी हुनुभएको थियो । जात्राका अवसरमा राष्ट्रपति भण्डारीले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिनुभएको थियो । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।

भाद्र शुक्ल द्वादशीका दिन शनिबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो । सोमबार माथिल्लो टोलमा रथयात्रा गरिने छ ।असोज ८ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति भण्डारी हनुमानढोका दरबार जानु भई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ । टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ ।

असोज ८ गते राति १०ः३६ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित वाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेशलगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ । इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गर्नुभएको थियो । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो ।

वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजाआज पनि गरिएको थियो । जात्राका अवसरमा लाखेनाच, दश अवतार नाचलगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइन्छ ।

यो पनि – इन्द्रजात्राको रौनक, स्वास्थ्य मापदण्ड पालनामा चुनौती

काठमाडौँ, ३ असोज (रासस) ःनयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेपनि इन्द्रजात्राका कारण वसन्तपुर दरबार क्षेत्रलगायत काठमाडौँ उपत्यकाका भित्री सहरमा चहलपहल बाक्लो छ ।गत वर्ष कोरोना जोखिमका कारण इन्द्रजात्रा स्थगित गरिएको थियो । यस वर्ष शनिबार बिहान ६ः५१ को साइतमा इन्द्रध्वजोत्थान गरेसँगै महाकालीलगायत विभिन्न नाच प्रदर्शन भइरहेको छ । भक्तपुरबाट आएका विभिन्न नाचका कारण पनि भीडभाड बढेको छ । स्वास्थ्य मापदण्ड कायम गरेर जात्रा सम्पन्न गर्ने भनिए पनि त्यो सम्भव भएको छैन ।

जात्राका अवसरमा शनिबारदेखि नै घण्टाकिसी, ख्याक, कवचा, घिन्ताङ किसी, नवदुर्गा, रामचन्द्र, पुलुकिसी, देप्याख, सवाभक्कु, लाखे, दशअवतारलगायत नाचले हनुमानढोका दरबार क्षेत्रको माहोल जात्रामय बनेको छ । गत वर्ष जात्रामा सहभागी हुन नपाएका युवा युवती रमाइलोका साथ उपस्थित भएका छन् । धेरैको मुखमा मास्क भए पनि दूरी कायम भएको छैन ।

असनबाट जात्रामा सहभागी हुन आउनुभएका युवा रवीन्द्रलाल खोखाली स्वास्थ्य मापदण्ड पूरा हुनसक्ने अवस्था नभएको स्वीकार्नुहुन्छ । अधिकांश सहभागीले कोरोनाको खोप लगाइसकेकाले समस्या नहुने उहाँको विश्वास छ । इन्द्रध्वजोत्थान गरेसँगै शनिबार बेलुकी महानगरका भित्री सहरवासीले एक वर्षभित्र दिवङ्गत भएकाको सम्झनामा उपाकु गरेका छन् । धूप, बत्ती बालेर तोकिएको मार्ग घुमेर ठाउँ ठाउँमा बत्ती बाल्ने कर्मलाई उपाकु भनिने ठहिँटीका जयराम महर्जनले बताउनुभयो । घरबाट निस्केर उपाकु कर्म गर्ने मार्ग हुँदै वसन्तपुर दरबार क्षेत्र जाने गरिन्छ ।

जात्राको मुख्य दिन आज राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । जात्राका क्रममा तीनै रथलाई आज तल्लो टोल र भोलि माथिल्लो टोल घुमाउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ । “भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको छ ।यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन सोमबार बिहान स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ ।