नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र यही असोज ४ गते सोमबारदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।
वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट सटही गर्न सकिने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कर्ता अपनाइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख छ । नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दूरीको पूर्ण पलना गर्न अनुरोध गरिएको छ । केन्द्रीय बैंकले रु १५ अर्बसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने तयारी गरेको छ । कूल रुपमा केन्द्रीय बैंकले रु ३५ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने तयारी भएको जानकारी दिएको छ । नयाँ नोट लिनका लागि सर्वसाधारणले केन्द्रीय बैंकको कार्यालयमा लामो लाइन लाग्ने गरेको यर्थाथलाई आत्मसात् गर्दै २७ वटै वाणिज्य बैंक र तिनका शाखा कार्यालयमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ ।
यो पनि – सोमबार ११ अर्ब ८३ करोड बराबरको टे«जरी बिल बिक्री गरिने
नेपाल राष्ट्र बैंकले सोमबार रु ११ अर्ब ८३ करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियाबाट उक्त टे«जरी बिल बिक्री गर्न लागिएको हो । केन्द्रीय बैंकले बिक्री गर्न लागेको टे«जरी बिल नवीकरण प्रयोजनका लागि हो । बैंकले रु पाँच अर्ब ५३ करोड बराबरको टे«जरी बिल ९१ दिनका लागि रहेको छ । उक्त बिल आगामी पुस ६ गते परिपक्व हुनेछ । यस्तै रु चार अर्ब ३० करोड बराबरको टे«जरी बिल १८२ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी चेत ८ गते परिपक्व हुनेछ ।
केन्द्रीय बैंकले रु दुई अर्ब बराबरको टे«जरी बिल ३६४ दिनका लागि बिक्री गर्न लागेको छ । सो बिल विसं २०७९ असोज ४ गते परिपक्व हुनेछ । केन्द्रीय बैंकले यसअघि भदौ २८ गते टे«जरी बिल बिक्री गरेको थियो ।



प्रतिक्रिया