कालीगण्डकीको पुट्टारघाट पुलबाट हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन् । तनहुँ घिरिङ गाउँपालिका–१ पुट्टार निवासी अन्दाजी ४८ वर्षीय विष्णुभक्त सिग्देल आज दिउँसो करिब ३ बजेको समयमा पुलबाट हाम फालेर बेपत्ता भएका हुन् । पाल्पा रामपुर बेझाड बजारमा होटल व्यवसाय गर्दै आएका सिग्देल आइतबारमात्रै पुट्टारस्थित घरमा गएको पारिवारिक स्रोतले जनाएको छ । पुट्टारघाटको झोलुङ्गे पुलपारि (तनहुँतिरको भागमा) आफूले प्रयोग गरेको मोटरसाइकल, चाबी, बिलबुक, पर्ससमेत फेला परेको प्रहरी चौकी पुट्टारका प्रमुख पदमबहादुर कुमालले जानकारी दिनुभएको छ । नदीमा बेपत्ता भएका सिग्देलको खोजी जारी रहेको स्थानीयवासी नारायण सिग्देलले बताउनुभयो ।
यो पनि – दुर्घटनामा परी उद्धार गरिएका युवकको मृत्यु
सवारी दुर्घटनामा परी घाइते भएका पाटन नगरपालिका–६ का ३६ वर्षीय उद्धव जोशीको उपचारका क्रममा आज मृत्यु भएको छ । जोशीको काठमाडौँको बाँसबारीमा रहेको न्यूरो अस्पतालमा उपचारका क्रममा दिउँसो १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनभयो ।जोशीले चलाइरहेको भे ७ प ४३४५ नं को मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको से १ ज ६३४ नं को जीप गएको बुधबार दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ बेडौतीमा एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका जोशीलाई सोही दिन विमान चार्टर्ड गरी नेपालगञ्ज रेफर गरिएकोमा त्यहाँ पनि उपचार हुन नसक्दा शनिबार काठमाडौँ रेफर गरिएको थियो । सोही दुर्घटनामा परी जोशीसँगै मोटरसाइकलमा सवार ७३ वर्षीय अन्तराम पन्त र जीप चालक पाटन– १ का ज्ञानेन्द्र भट्टराई घाइते भएका थिए । उनीहरु दुवै जना उपचारपछि निको भइसकेका छन् । जीप सवार सोही जीपका साहुु ३४ प्रदीप सिंह सिनाल भने सकुशल छन् । जोशीको मृत्यु भएपश्चात जिप चालक भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साँघुरो सडकमा द्रुत गतिमा सवारी हाँक्दा दुर्घटना भएको हो ।
यो पनि – लागुऔषध लुकाएर ल्याउँदै गरेका युवक पक्राउ
भारतीय निकटवर्ती बजार वनवसाबाट लागुऔषध ल्याउँदै गरेका युवकलाई सशस्त्र प्रहरीले आज भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट पक्राउ गरेको छ । गुप्ताङ्गमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दार्चुला जिल्ला महाकाली नगरपालिका–४ खलङ्गा स्थायी घर भई भीमदत्त नगरपालिका–१८ जानकीटोलमा डेरा गरेर बस्ने १८ वर्षका राहुल सोनमलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरका अनुसार पक्राउ परेका सोनामको साथबाट वुपफ्रेनोफाइन इन्जेक्सन २९ वटा, डाइजेपाम इन्जेक्सन एक थान र प्रोमेथाजाइन इन्जेक्सन २९ थान बरामद गरेको छ । बरामद लागुऔषधसहित पक्राउ परेका सोनमलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।



प्रतिक्रिया