सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी दिनुभयो ।
घरनजिकै रहेको पोखरीको डिलमा गाईवस्तुका लागि घाँस काट्न गएका बेलामा हात्तीले आक्रमण गर्दा खत्वे गम्भीर घाइते भएको स्थानीयवासी राजकुमार साहले जानकारी दिनुभयो । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते खत्वेको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको स्थानीयवासी साहले बताउनुभयो ।
खत्वेको हात्तीको आक्रमणबाट मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले आन्दोलन सुरु गरेका छन् । पटक–पटक जङ्गली जनावरको आतङ्कका कारणले आफूहरूलाई समस्या भएको भन्दै स्थानीयवासीले यसलाई नियन्त्रण गर्नुपर्ने माग गर्दै बराहक्षेत्रमा विरोध प्रदर्शन सुरु गरेका छन् । जङ्गली जनावरको नियन्त्रण गर्नुपर्ने, पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग गर्दै स्थानीयवासीले विरोध प्रदर्शन गरेको स्थानीयवासी साहले बताउनुभयो । केही दिन अगाडि मात्र जङ्गली हात्तीको आक्रमणबाट कोशी गाउँपालिका–२ का एक जनाको समेत मृत्यु भएको थियो ।
यो पनि -भारतीय तस्करको ढुङ्गामुढाबाट सशस्त्र प्रहरी घाइते
दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ । ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते जवानको हात र पाखुरामा चोट लागेको छ । सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सात÷आठ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका तस्करहरूले सीमाक्षेत्र नजिक ढु्ङगामुढा प्रहार गरेका हुन् । भारतबाट तस्करले सामान लिएर आउने क्रमममा गस्ती टोलीले तस्करलाई नियन्त्रणमा लिने क्रममा ढुङ्गामुढा प्रहार गरी भागेको उहाँले बताउनुभयो ।
“भारतीय प्रहरीले गस्तीमा रहेका जवानमाथि ढुङ्गामुढा प्रहार गर्नेहरूको समूहको खोजी गरी कारबाही गर्ने अश्वासन दिएको छ”, उहाँले भन्नुभयो, “तस्कहरूको भारतीय निकटबर्ती क्षेत्रका बासिन्दा भएको जानकारी पाएका छौँ ।” घटना राति १०ः३० बजे भएको बताइएको छ ।



प्रतिक्रिया