बागलुङ, ५ असोज (रासस) ः उद्यान उद्यानझैँ छैन भने, बोर्डमा नाम मात्रै झुन्ड्याएर के गर्ने ? यहाँको ‘मदन–आश्रित स्मृति उद्यान’छेउ उभिँदा जो कोहीको मनमा खेल्ने प्रश्न हो यो ।बागलुङ नगरपालिका–१ रामरेखास्थित सो उद्यानको नाम जति श्रद्धापूर्वक राखिएको छ, उति नै त्यसको संरक्षण र रेखदेखमा अनदेखा गरिएको छ ।
जीर्ण र फुङ्ग उडेको प्रवेशद्वार । माथिपट्टि मदनकुमार भण्डारी र जीवलाल आश्रितको धुमिल तस्बिर अङ्कित बोर्ड । भित्र बुट्यान र झाडीले छोपेको उद्यान परिसर, जहीँतहीँ फोहर तथा लत्रिएका तारबार । उद्यान भन्नलाई न कुनै पूर्वाधार छ, न साजसज्जा । दिवङ्गत नेताका नाममा बनाइएको उद्यानमा उहाँहरुको सालिकसम्म छैन । बेहाल स्थितिमा उद्यान छ । त्यो दुरावस्थाबाट उद्यानलाई ननिकालेसम्म नेकपा (एमाले)का तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको सम्मान हैन, अपमान हुनेछ ।

एमाले बागलुङ नगर कमिटीका संयोजक धनबहादुर परियारका भनाइमा उद्यान अलपत्र मात्र हैन, महाअलपत्र छ । “मदन–आश्रितलाई आदर्श मानेर हिँडेका हामी एमालेजनका लागि यो लज्जाको विषय बनेको छ,” उहाँले भन्नुभयो । उद्यानले स्वरुप ग्रहण गर्न नपाउँदै बीचैमा अलपत्र परेको हो । त्यसो हुनुको अपजस एमाले नेतृत्व पङ्क्तिलाई पनि जान्छ । बागलुङ नगरपालिकाका पूर्वप्रमुख ऋषिराम शर्माका पालामा उद्यानको योजना अगाडि बढेको थियो । रामरेखा सामुदायिक वनको झन्डै तीन रोपनी जग्गा उद्यानले ओगटेको छ ।
एमाले नेता परियारका अनुसार उद्यानको निर्माण, व्यवस्थापन र सञ्चालनबारे पार्टीभित्र खासै छलफल हुने गरेको छैन । “उद्यानको समितिमा को आयो, बजेट के छ भन्नेबारे हामीलाई केही थाहा हुँदैन,” उहाँले गुनासो गर्नुभयो । उद्यानमा पूर्वाधार निर्माण र सौन्दर्यसम्बन्धी काम गर्न सके पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने परियारको भनाइ छ । उद्यान निर्माण समितिका पूर्वाध्यक्ष केवी राना मगरले बजेट अभावमा सोचे जसरी काम हुन नसकेको बताउनुभयो ।
झिनो र टुक्रे बजेटले उद्यान नबन्ने उहाँको भनाइ छ । “कतिपय नीतिगत बाधा पनि आए, राज्यले रूख काट्न पाइँदैन भन्छ, उद्यान परिसरमा रूखैरूख छन्, अनि कसरी उद्यान बनाउने ?,” राना मगरले प्रश्न गर्नुभयो । उहाँले आफू पोखरासम्म पुगेर उद्यानको डिजाइनकर्ता इन्जिनियरलाई भेटेर काम सुरु गर्न खोजे पनि बजेट नजुट्दा पछि हट्नु परेको सुनाउनुभयो । पर्यटन कार्यालयबाट आएको रु ६ लाख बजेटबाट सानो एकतले भवन भने बनाइएको उहाँको भनाइ छ ।
सो भवन पनि संरक्षण नहुँदा जीर्ण बन्दै गएको छ । प्रतिनिधिसभा सदस्य एवं उद्यान व्यवस्थापन समितिका पूर्वाध्यक्ष मनकुमारी जिसीले मध्यपहाडी पुष्पलाल लोकमार्ग विस्तार योजनाले उद्यानको काम अन्योलमा परेको बताउनुभयो ।“सडक विस्तार हुँदा कति जग्गा रहन्छ, त्यसपछि बल्ल उद्यानको कामलाई गति दिने भन्ने थियो तर सडक विस्तार भएन, त्यसले पनि अलमल भयो,” उहाँले भन्नुभयो । उद्यानको तल्लो र माथिल्लो भागमा लोकमार्ग पर्छ ।
उहाँले आफू संयोजक हुँदा र पछि निर्माण समितिले पनि घेराबार, भवन निर्माण लगायतको काम गरेको स्मरण गर्नुभयो । गण्डकी प्रदेश सरकारको वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयबाट रु १५ लाख बजेट विनियोजन भएकाले यो वर्ष उद्यान निर्माणको कामलाई अगाडि बढाइने जिसीले बताउनुभयो । हुँदाहुँदा अहिले उद्यान नेतृत्वविहीनको स्थितिमा छ । पछिल्ला वर्षमा उद्यानमा मदन–आश्रितको जन्मजयन्ती र स्मृति दिवससमेत हुन छाडेपछि एमालेजन नै असन्तुष्ट छन् । सोही उद्यानको अगाडिपट्टि रहेको शहीद स्मृति उद्यान पनि वर्षौंसम्म अलपत्र परेर अहिले पुनर्निर्माण हुन थालेको छ ।
उद्यानमा रहेका शहीद धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द र थीरबम मल्लको सालिकसमेत संरक्षण नहुँदा जीर्ण बनेका थिए । विसं २०५७ मा निर्मित उद्यानमा सालिक, विश्रामस्थल, दृश्यावलोकनस्थल, बगैँचा लगायतका संरचना छन् । २९ रोपनी क्षेत्रफलमा फैलिएको उक्त उद्यानको संरक्षणमा बागलुङ नगरपालिकाले देखाएको उदासीनताका बारेमा पटकपटक सार्वजनिक सञ्चारमाध्यम र नागरिक तहबाट आवाज उठ्दै आएको थियो ।
बागलुङ बजारको मुटुमा रहेको वीरेन्द्र–ऐश्वर्य उद्यान पनि संरक्षण अभावमा विरुप बन्दै गएको छ । विसं २०३२ मा बनेको उक्त उद्यान पनि लथालिङ्ग अवस्थामा छ । अनेक नाममा निर्माण गरिने उद्यानमा बर्सेनि राज्यको बजेट खर्च हुने गरे पनि तिनको उचित संरक्षण र व्यवस्थापन हुन सकेको छैन ।



प्रतिक्रिया