सप्तरीमा दुई बालिकासहित तीनको डुबेर मृत्यु

सप्तरीमा दुई बालिकासहित तीनको डुबेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियास्थित नहरमा डुबेर एक बालिकाको ज्यान गएको छ । स्थानीय भतो मन्सुरीकी १२ वर्षीया छोरी सबना खातुनको नहरमा कपडा धुने क्रममा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरीको खडक नगरपालिका–८ मुसहरनिया बस्ने राजेशकुमार चौधरीको अन्दाजी तीन वर्षीया छोरी एलिजाकुमारी चौधरीको आफ्नै घर नजिक पोखरीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । घरदेखि पाँच मिटर पश्चिमपट्टि रहेको आफ्नै पोखरीमा नुहाउने क्रममा उनी डुबेका थिइन् ।निजको आफ्नै काका रामकुमार चौधरीले पोखरीमा डुबेको देखेपछि स्थानीयवासीको सहयोगमा उपचारका लागि सप्तऋषि अस्पताल लहानतर्फ लैजाँदा गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सप्तरी महादेवा गाउँपालिका–४ परसाही टोलमा समेत सार्वजनिक पोखरीमा बस्ने अमृत सदाको ३० वर्षीया छोरी लक्षनकुमारी सदाको डुबेर मृत्यु भएको छ । पोखरीमा भाडा मस्काउन जाँदा छारे रोग भई पानी देखी अचानक लडेपछि उनी डुबेकी थिइन् ।

यो पनि – टिकटक बनाउदा सेतीमा खसेर बेपत्ता भएकी १९ वर्षीया पवित्रा लम्सालको शव आठ दिनपछि भेटियो

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मङ्गलबार बेपत्ता भएकी एक युवतीको शव आठ दिनपछि फेला परेको छ । टिकटक बनाउने बहानामा शुक्लागण्डकी नगरपालिका–८ स्थित रक गार्डेनबाट सेती नदीमा खसेकी सोही ठाउँकी युवती आज मृत अवस्थामा फेला परेकी हुन् । १९ वर्षीया पवित्रा लम्सालको शव भिमाद नगरपालिका–७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । सेती नदी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको शव आफन्तले पहिचान गरेका छन् । “शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ”, प्रनाउ तिमिल्सिनाले भन्नुभयो ।

विवाह भएको पाँच दिनमा माइत आएकी उनी साथीहरुसँग घुम्ने क्रममा रक गार्डेनमा पुगेकी थिइन् । त्यसक्रममा साथीहरुले उनको भिडिओ खिचेका थिए । भिडिओमा ‘पवित्रा नजा नजा’ भनेको सार्वजनिक भएको थियो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि – टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर आज तनहुँमा एक किशोरी बेपत्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ । शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी हुन् । आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा खसेर बेपत्ता भएपछि अहिले स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

घुम्ने क्रममा साथीहरुसँग टिकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभिएकी लम्साल अचानक चिप्लिएर नदीमा खसेको उनीसँगै गएका साथीहरुले बताएको उहाँले बताउनुभयो । लम्साल अचानक चिप्लिएर नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेपछि तत्कालै खोजी कार्यमा खटिएको उहाँले जानकारी दिनुभयो ।