नेपाल प्रहरीले ला.गुऔ.षध चरेस विदेश निर्यात गर्ने नौ जनालाई पक्राउ गरेको छ । प्रहरीको ला.गुऔ.षध नियन्त्रण ब्यूरो कोटेश्वरले ला.गुऔ.षध विदेश निर्यात गर्ने गिरोहलाई चरेस, चरेस लुकाउन प्रयोग गरिने हेन्डीक्राफ्टका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्याग्दीका ३६ वर्षीय श्यामप्रसाद रोका, ३५ वर्षीय वीरबहादुर रोकामगर, ४४ वर्षीय दिलबहादुर रोका, धादिङका ३३ वर्षीय अनिलबहादुर घले, २८ वर्षीय सुनबहादुर गुरुङ, २८ वर्षीय जितबहादुर तामाङ, ३६ वर्षीय कृष्णबहादुर तामाङ, नुवाकोटका ५२ वर्षीय सेसे भन्ने उर्पा तामाङ र ३४ वर्षीय वीरबहादुर तामाङ रहेका छन् ।
कतार एयरवेजबाट भदौ २१ गते बिहान दोहा जान लागेका श्यामप्रसाद रोका र वीरबहादुर रोकामगरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट चार किलोग्राम ३५ ग्राम लागुऔषध चरेससहित पक्राउ गरी प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कारोबारमा संलग्न दिलबहादुर रोका, अनिलबहादुर घले, सुनबहादुर गुरुङ, जितबहादुर तामाङ र कृष्णबहादुर तामाङ समेतलाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
साथै कतार पठाउन चरेस दिने उर्पा तामाङलाई काठमाडौँ सामाखुशीबाट पक्राउ गरी उनको कोठाबाट २३ थान हेन्डीक्राफ्ट र १६ थान डायरीमा लुकाई विदेश पठाउन तयारी राखेको चरेस तीन किलोग्राम ५७९ ग्राम, चरेसको पाता बनाउनको लागि प्रयोग गरिने औजारलगायतका सामानसमेत बरामद गरी उनीसँग चरेसको कारोबारमा संलग्न वीरबहादुर तामाङलाई भदौ ३० गते नुवाकोट विदुर नगरपालिका–९ बाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
उर्पा तामाङ र वीरबहादुर तामाङले भारतीय नागरिकको संलग्नतामा भारत हुँदै हङकङ, थाइल्याण्ड, टर्कीलगायतका देशमा चरेस निकासी गर्दै आएको र पछिल्लो समय लागुऔषध मेथामफेटामाइनको धन्दासमेत गर्ने तयारी गरिरहेको तथा उर्पा तामाङ विसं २०५४ मा लागुऔषध हेरोइनसहित पक्राउ परी १९ वर्ष जेल सजाय भुक्तान गरी विसं २०७३ मा रिहा भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
यो पनि – अमेरिका पठाउने प्रलोभनमा रोहिङ्गा शरणार्थीलाई नेपाल भित्र्याउने गरेको खुलासा
केही गिरोहको मिलेमतोमा अमेरिका पठाउने बहानामा रोहिङ्गा शरणार्थीलाई नेपाल ल्याउने गरेको खुल्न आएको छ । अनुसन्धानका क्रममा हाल काठमाडौँको कपनमा रहेको रोहिङ्गा शरणार्थी क्याम्पमा बस्ने नूर अमिन र सोफिक आलमले बङ्गलादेशी नागरिक आजमत अलिसँग मिलोमतो गरी अन्य शरणार्थीलाई नेपाल भित्र्याइएको पाइएको छ ।
नेपालबाट अमेरिका जान परिचयपत्र पाइने, मासिक प्रतिव्यक्ति पुरुषलाई रु पाँच हजार ७५०, महिलालाई रु तीन हजार ७५० र बालबालिकालाई रु दुई हजार ७५० भत्ता सुविधा दिने तथा अन्य सुविधा पनि राम्रो रहेको भनी प्रलोभन दिएर नेपाल ल्याउने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उनीहरुले यसरी छ जना शरणार्थीलाई नेपाल ल्याएको पनि प्रहरीले जानकारी दिएको छ ।
केही अघि ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरी मानव वेचविखन अनुसन्धान व्यूरोमा बुझाएको थियो । ब्यूरोले जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी मानव वेचविखन तथा ओसारपसार नियन्त्रण ऐनअनुसार अनुसन्धान थालेको आज एक सूचनामार्फत जनाएको छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीअनुसार उनीहरुले कति जना मानिसलाई त्यसरी ल्याएका हुन् भन्ने बिषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । गिरोहले पीडितलाई शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर) नजिक छाडेका थिए । त्यसपछि कार्यालयको सम्पर्कमा गई पीडितले शरणर्थीको परिचयपत्र बनाएका थिए । अनुसन्धानमा उनीहरुलाई अवैध रुपमा नेपालमा भित्र्याएको पाइएको छ ।
उनीहरुले शरणार्थीलाई भारतको बाटो प्रयोग गरी नेपाल ल्याइ मानव तस्करी गर्ने गरेको दाबी प्रहरीको छ । गिरोहले ढाकादेखि काठमाडाँैसम्मको यात्राका लागि दुई लाख ५० हजार टाका (बङ्गलादेशी मुद्रा) लिइ प्रलोभनमा पारी नेपालसम्म ल्याई पु¥याएको जनाइएको छ ।
यो पनि – भारतले अक्टोबरदेखि कोभिड–१९ खोप निर्यात पुनः सुरु गर्ने
भारतले कोभिड–१९ विरूद्धको खोप निर्यातलाई अक्टोबरदेखि पुनः सुरू गर्ने निर्णय गरेको छ । यस वर्षको सुरुदेखि भारतमा कोरोनाभाइरसको रोग बढ्दै गएपछि भारतले खोप निर्यात रोकेको थियो । स्वास्थ्य तथा परिवार कल्याण मन्त्री मन्सुख माण्डभियाले सोमबार चौथो त्रैमासिकको सुरू अर्थात् अक्टोबरदेखि भारत सरकारले ‘भ्याक्सिन मैत्री’ पुनः आरम्भ गर्नेछ । यो पहल विश्वभरका देशहरूलाई कोभिड खोप प्रदान गर्ने र कोभाक्स अन्तर्गत आफ्नो जिम्मेवारी पनि पूरा गर्ने पहल भएको उहाँले बताउनुभयो ।
“‘भ्याक्सिन मैत्री’ अन्तर्गत हामी विश्वलाई मद्दत गर्नेछौं र चौथो त्रैमासदेखि कोभाक्समा योगदान गर्नेछौं,” माण्डभियाले संवाददातासँग भन्नुभयो । अर्को महिना सरकारले खोप उत्पादकहरूबाट ३० करोडभन्दा बढी मात्रा पाउने आश्वासन मिलेको छ भने यो खोप तत्काल विश्व बजारमा जानेछ ।स्वास्थ्य मन्त्रीले यस वर्षको चौथो त्रैमासको लक्ष्य लगभग एक अर्ब खोप उत्पादन गर्ने रहेको र यसको पहिलो प्राथमिकतामा सम्पूर्ण भारतवासी हुनेछन् ।
भारतमा पछिल्लो २४ घण्टामा ९६ लाख ४६ हजार ७७८ खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मङ्गलबारसम्म भारतमा ८१ करोड ८५ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् ।तथ्याङ्कअनुसार एक करोड तीन लाख ६९ हजार ३८६ स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपको पहिलो मात्रा दिइएको छ भने ८७ लाख ५० हजार १०७ जनाले दुवै मात्रा खोप लगाएका छन् । खोप लगाउने अग्रपङ्तीमा खट्ने स्वास्थ्यकर्मी सुरक्षाकर्मी तथा कर्मचारी शिक्षकलगायत फ्रन्टलाइनमा काम गर्ने एक करोड ८३ लाख ४६ हजार १६ ले पहिलो र एक करोड ४५ लाख ६६ हजार ५९३ जनाले खोपका दुबै मात्रा लगाइसकेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का मुख्य वैज्ञानिक सुमया स्वामीनाथनले मंगलबार कोभिड–१९ खोप निर्यात पुनः सुरु गर्ने भारतको निर्णयको स्वागत गर्नुभएको छ । विश्वव्यापी खोप पहुँचमा समान अवसरका लागि भारतको यो निर्णय महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।स्वामीनाथनले ट्वीटमार्फत् सम्प्रेषित सन्देशमा भन्नुभयो, “कोभिड–१९ खोप निर्यात पुनः सुरु गर्ने निर्णयको विश्व स्वास्थ्य सङ्गठन स्वागत गर्दछ । विश्वव्यापी खोप अभियानमा समानताका लागि अझै लामो यात्रा रहेको र भारतको यो निर्णय महत्वपूर्ण हुनेछ ।”



प्रतिक्रिया