नेपाली दूतावास बेलायतले लन्डन सहर बाहिर रहेका स्वीन्डेनवासी नेपालीका लागि एकदिने घुम्ती सेवा सञ्चालन गरेको छ । नेपाली एशोसिएशन विल्सायरको सहकार्य र आयोजनामा भएको सो घुम्ती सेवामा कोरोना महामारीका कारण दूतावास जान नपाएका थुप्रै नेपाली लाभान्वित भएका छन् । लन्डन जान–आउन असहज खेपिरहेका वृद्ध भूपू गोर्खालगायतका नेपालीको सुविधाका लागि सो कार्यक्रम आयोजना गरिएको एशोसिएशनका अध्यक्ष ज्ञानप्रसाद गुरुङले बताउनुभयो । घुम्ती सेवामा राहदानी नवीकरण, वारेसनामा, एनआरएन कार्डजस्ता सेवा उपलब्ध गराइएको थियो ।
दूतावासका तर्फबाट द्वितीय सचिव रामबाबु नेपाल, सहचारी पुजन पाण्डे र विनोद कार्की उपस्थित भएर सेवा प्रदान गर्नुभएको थियो । बिहान ९ः०० देखि साँझ ५ः०० बजेसम्म सञ्चालन गएिको उक्त घुम्ती सेवामा ४४ व्यक्तिलाई सेवा प्रदान गरिएको गुरुङले जानकारी दिनुभयो । संस्थाले राहदानी तयार भएपछि वृद्धवृद्धालाई दुःख नहोस् भनेर आफैँ दूतावास गएर सङ्कलन गरिदिने पनि गुरुङले बताउनुभयो ।
लामो समय खर्चिएर दूतावास पुग्नुपर्ने झन्झटबाट मुक्ति पाएकामा सेवाग्राहीलगायत स्वीन्डनवासीले खुशी व्यक्त गरेका थिए । नेपाली एशोसिएशन विल्सायरले नेपाली र बेलायती समुदायका लागि निरन्तर सामाजिक कार्य गर्दै आएको छ । हालैमात्र संस्थाले स्वीन्डनमा नेपाली सांस्कृतिक महोत्सव आयोजना गरी बेलायतीलाई नेपाली कला संस्कृति, खाना आदिबारे अवगत गराएको एशोसिएशनका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । सात वर्षअघि बेलायतका लागि कार्यवाहक राजदूतका रूपमा कार्यरत तेजबहादुर क्षेत्रीले सुरु गर्नुभएको यो घुम्ती सेवा पुनः सञ्चालनमा आएको हो ।
यो पनि – कागबेनीमा श्रद्धालुको भिड
यही असोज ५ गतेदेखि यस वर्षको पितृपक्ष अर्थात् सोह्र श्राद्ध सुरू भएको छ । सोह्र श्राद्ध सुरू भएसँगै हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा आफ्ना पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजन पुग्न थालेका छन् ।तीन वर्षअघिसम्म सोह्र श्राद्ध लागेपछि दैनिक हजारौँको सङ्ख्यामा मुक्तिनाथ र कागबेनी पुगेर श्राद्ध गर्न भक्तजनको भीड लाग्ने गरेकामा दुई वर्षयता कोरोना सङ्क्रमणका कारण स्थानीय प्रशासनले मुस्ताङ प्रवेशमा कडाइ गरेपछि भक्तजनको सङ्ख्या पनि पातलिँदै गएको हो । मुस्ताङ प्रशासनले यस वर्ष कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट वा दुवै खोप लगाएको कार्ड देखाए प्रवेशका लागि अनुमति दिने भएपछि रिपोर्ट नेगेटिभ भएका र दुवै खोप लगाएका व्यक्ति मुक्तिनाथ दर्शन तथा श्राद्ध गर्न कागबेनी र मुक्तिनाथ जान थालेका छन् ।
दामोदर कुण्डबाट बगेर आएकी काली नदी र मुक्तिनाथका १०८ धाराबाट बगेर आएको गण्डकीको सङ्गमस्थल भएकाले कागबेनी पुगेर पिण्डदान गर्दा सबैभन्दा उत्तम फल मिल्ने बराह पुराण, स्कन्द पुराण, श्रीमद्भागवतलगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।कालीगण्डकी तथा मुक्तिनाथ क्षेत्रका जानकार स्वामी ऋषि प्रपन्नाचार्यका अनुसार तीर्थस्थलमा पुगेर पितृलाई तर्पण दिनका लागि सोह्र श्राद्ध वा पितृको तिथि नै चाहिँदैन । सोह्र श्राद्धमा मुक्तिनाथ र कागबेनीमै पुगेर एकपटक भए पनि आफ्ना दिवङ्गत पितृको उद्धारका लागि पिण्डदान गर्न नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँ धर्मावलम्बी आउने गरेका बताइन्छ ।
सोह्र श्राद्धलाई ‘महालय श्राद्ध’ पनि भनिन्छ । यसबाहेक सोह्र श्राद्ध, पितृपक्ष, कगङ्त, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिन पुकारा गरिन्छ । भाद्र शुक्ल पूर्णिमाबाट सुरू भएको यो पक्ष सोह्र श्राद्ध अवधिभरि अर्थात् आश्विन कृष्ण औँसीका दिनसम्म चल्ने गर्दछ । सोह्र श्राद्धमा श्राद्ध गर्नका लागि चितवन, नवलपुर, नवलपरासी, म्याग्दी, बागलुङलगायत विभिन्न जिल्लाबाट भक्तजन आउन थालेका कागबेनीबाट कृष्णप्रसाद शर्मा (सापकोटा)ले जानकारी दिनुभयो । उहाँका अनुसार सोह्र श्राद्ध सुरु भएसँगै कागबेनीमा चहलपहल पनि बढेको छ ।
असोज १० गतेदेखि सर्वसाधारणका मुक्तिनाथ खुला गरिँदै
मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर पाँच महिनापछि यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । गत वैशाखदेखि मुक्तिनाथमा नित्य पूजाबाहेक सर्वसाधारणका लागि दर्शन तथा पूजाआजामा रोक लगाइएको थियो ।कोरोना महामारीका कारण बन्द रहेको मन्दिर सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो । मङ्गलबार प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षतामा बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले सङ्क्रमणदर न्यून रहेकाले मन्दिर खुला गर्ने निर्णय गरेको हो । जिप्रकाको आदेशअनुसार आसोज १० गतेदेखि मन्दिर सबैका लागि खुला हुने मुक्तिनाथ विकास समितिले जनाएको छ ।
बैठकले कोरोना परीक्षण गरेको पिसीआर रिपोर्ट वा एन्टिजेन रिपोर्टका आधारमा मात्रै जिल्ला प्रवेश गर्न पाउने व्यवस्था गरेको छ । पिसीआर गरेको सात दिन र एन्टिजेन गरेको ७२ घण्टाभित्रको रिपोर्टका आधारमा मात्रै जिल्ला प्रवेश गर्न दिइने निर्णय गरिएको छ । कोरोना खोप लगाएका व्यक्तिले सहज प्रवेश पाउनेछन् । मुक्तिनाथ झण्डै समुद्री सतहबाट तीन हजार ८०० मिटरको उचाइमा अवस्थित छ ।



प्रतिक्रिया