मध्यपश्चिम विश्वविद्यालयले लामो समयदेखिको तालाबन्दीका कारण कार्यसम्पादन प्रभावित भएको भन्दै आन्दोलनरत प्राध्यापक सङ्गठनलाई वार्तामा आउन आग्रह गरेको छ । विश्वविद्यालयले मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई आज साँझसम्म वार्तामा आउन आग्रह गरेको हो ।
विश्वविद्यालयले तालाबन्दीका कारण विद्यार्थी सङ्गठनसँग भएका सहमति कार्यान्वयन गर्न, एघारौँ सभासम्बन्धी तयारी गर्न, बजेट निकासा र खर्चको प्रक्रिया एवं दैनिक प्रशासनिक कार्यसञ्चालन गर्न अवरोध पुगेको जनाएको छ । विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय वार्ता समिति र प्राध्यापक सङ्गठनबीच पटक–पटक वार्ता भए पनि सहमति हुनसकेको थिएन । विश्वविद्यालयले निष्काशित गरेका दुई प्राध्यापकलाई पुनःवहालीको माग गरी प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन र आंशिक प्राध्यापक सङ्गठन आन्दोलित छन् ।
विश्वविद्यालयले आज साँझसम्म वार्तामा नआए आफैँ ताला खोल्ने चेतावनी दिएको छ । “लामो समयसम्म तालाबन्दीको अवस्थामा राख्न नसकिने हुँदा लगाइएको ताला खोली विश्वविद्यालय प्रशासन दैनिक कार्यसम्पादन गर्न बाध्य हुने अवगत गराउँछौँ”, रजिष्ट्रार प्रा डा नारायणप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विश्वविद्यालयमा देखिएका समस्यालाई वार्ता र सहमतिबाट समाधान गर्न विश्वविद्यालय नेतृत्व सदैव तयार छ ।”
यो पनि – नेपाली दूतावास बेलायतद्वारा घुम्ती सेवा सञ्चालन
नेपाली दूतावास बेलायतले लन्डन सहर बाहिर रहेका स्वीन्डेनवासी नेपालीका लागि एकदिने घुम्ती सेवा सञ्चालन गरेको छ । नेपाली एशोसिएशन विल्सायरको सहकार्य र आयोजनामा भएको सो घुम्ती सेवामा कोरोना महामारीका कारण दूतावास जान नपाएका थुप्रै नेपाली लाभान्वित भएका छन् । लन्डन जान–आउन असहज खेपिरहेका वृद्ध भूपू गोर्खालगायतका नेपालीको सुविधाका लागि सो कार्यक्रम आयोजना गरिएको एशोसिएशनका अध्यक्ष ज्ञानप्रसाद गुरुङले बताउनुभयो । घुम्ती सेवामा राहदानी नवीकरण, वारेसनामा, एनआरएन कार्डजस्ता सेवा उपलब्ध गराइएको थियो ।
दूतावासका तर्फबाट द्वितीय सचिव रामबाबु नेपाल, सहचारी पुजन पाण्डे र विनोद कार्की उपस्थित भएर सेवा प्रदान गर्नुभएको थियो । बिहान ९ः०० देखि साँझ ५ः०० बजेसम्म सञ्चालन गएिको उक्त घुम्ती सेवामा ४४ व्यक्तिलाई सेवा प्रदान गरिएको गुरुङले जानकारी दिनुभयो । संस्थाले राहदानी तयार भएपछि वृद्धवृद्धालाई दुःख नहोस् भनेर आफैँ दूतावास गएर सङ्कलन गरिदिने पनि गुरुङले बताउनुभयो ।
लामो समय खर्चिएर दूतावास पुग्नुपर्ने झन्झटबाट मुक्ति पाएकामा सेवाग्राहीलगायत स्वीन्डनवासीले खुशी व्यक्त गरेका थिए । नेपाली एशोसिएशन विल्सायरले नेपाली र बेलायती समुदायका लागि निरन्तर सामाजिक कार्य गर्दै आएको छ । हालैमात्र संस्थाले स्वीन्डनमा नेपाली सांस्कृतिक महोत्सव आयोजना गरी बेलायतीलाई नेपाली कला संस्कृति, खाना आदिबारे अवगत गराएको एशोसिएशनका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । सात वर्षअघि बेलायतका लागि कार्यवाहक राजदूतका रूपमा कार्यरत तेजबहादुर क्षेत्रीले सुरु गर्नुभएको यो घुम्ती सेवा पुनः सञ्चालनमा आएको हो ।



प्रतिक्रिया