‘अमडुवा औद्योगिक क्षेत्र कार्यान्वयनमा ल्याउनुपर्छ’

‘अमडुवा औद्योगिक क्षेत्र कार्यान्वयनमा ल्याउनुपर्छ’

13
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सङ्घीय सरकारले घोषणा गरेको सुनसरीको अमडुवामा औद्योगिक क्षेत्र निर्माण कार्यलाई कार्यान्वयनमा ल्याउनु पर्ने सरोकारबालाले सुझाव दिएका छन् ।उनीहरुले चार वर्ष अगाडि घोषणा गरिएको मुलुकको औद्योगिकिकरणमा कोशेढुङ्गाको रुपमा रहने ६५० विघा क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माणलाई प्रदेश सरकारले छिटो अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । प्रदेश नं १ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेशमा औद्योगिकिकरणको अवसर र चुनौति विषयक छलफल तथा अन्तरक्रियामा उद्योगीले नयाँ उद्योग दर्ताका लागि मन्त्रालयमा झन्झटिलो व्यवस्था रहेकोले एकद्वार नीतिको माध्यमबाट दिन तोकेर कार्य गरेमा मुलुकको औद्योेगिकिकरणमा सहयोग पुग्ने सुझाव दिनुभयो ।

उद्यमीले कृषि उत्पादनलाई मूल्यअभिवृद्धि गरी निर्यातमा विशेष सहुलियत प्रदान गरेमा यस क्षेत्रका नगदेवाली उत्पादनमा वृद्धि र रोजगारी उपलव्धताले जनताको क्रयशक्ति वृद्धि हुने हुँदा यसलाई कार्यान्वयन ल्याउन आग्रह गरियो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लछुमन तिवारीले मुलुकको आर्थिक समृद्धिका लागि नीजि क्षेत्रको सहयोग आवश्यक रहेको छ भन्दै सरकारले हातेमालो गरी अगाडि बढ्ने बताउनुभयो । उहाँले सरकार, उद्यमीको सम्वन्ध नङ र मासुको रहेको चर्चा गर्दै प्रदेशमा औद्योगिकिकरणका लागि उद्योगीको सुझावअनुसार ऐन कानून संशोधनको प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।

राज्यमन्त्री उत्तमकुमार बस्नेतले आत्मनिर्भर, परनिर्भर र अन्तरनिर्भरको आधारमा वर्गीकरण गरी स्वदेशी उद्योगलाई प्राथमिकता दिने बताउनुभयो । उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति सीता थेबे, प्रदेशसभा सदस्यद्वय लिलम बस्नेत र उमिता विश्वकर्माले राज्यले स्वदेशी वस्तुको प्रयोगको नीति बनाएमा रोजगार, राजश्व वृद्धि र मुलुकमा औद्योगिकिकरणमा बल पुग्ने धारणा राख्नुभयो ।

मन्त्रालयका सचिव सञ्जीवकुमार राईले प्रदेशका औद्योगिक उत्पादनको अन्तरराष्ट्रिय गुणस्तर चिन्हका लागि आवश्यक रहेको प्रयोगशाला निर्माणको प्रक्रिया अगाडि बढेको जानकारी दिँदै मन्त्रलयले सूचना प्रविधिको प्रयोगबाट सेवाग्राहीको समस्या गर्ने बताउनुभयो । उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयेश प्याकुरेल र सचिव अनिल शारडाले उद्यमीलाई विदेशमा रहेका नेपाली दक्ष जनशक्तिको तथ्याङ्क उपलव्ध भएमा नेपाली युवाको विदेश पलायनमा नियन्त्रण गर्न सकिने चर्चा गर्दै सुनसरी–मोरङ औद्योगिक करिडोरलाई ‘औद्योगिक क्षेत्र’ घाषणा गर्न सुझाव दिनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङका अध्यक्ष चेतन निरौला, महिला उद्यमी प्रतिमा रिजाल, बन्दना जैन र उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निमित्त निर्देशक गौमराज अमात्मले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले गुणस्तरीय दक्ष जनशक्ति उत्पादन नगरेका कारण विदेशबाट कामदार ल्याउनु परेको गुनासो व्यक्त गर्नुभयो । मन्त्रालयका कृष्णप्रसाद पौडेलले प्रदेशमा औद्योगिकिकरणको अवसर र चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।