पछिल्लो २४ घण्टाको अवधिमा प्रदेशमा सबैभन्दा बढी मोरङमा ९३ जनामा कोरोनो सङ्क्रमण भएको पुष्टि भएको छ । सोही अवधिमा स्थानीय तहअन्तर्गत मोरङकै विराटनगरमा ५२ जना सङ्क्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा ७९, सुनसरीमा ४८, पाँचथरमा दुई, धनकुटा, सङ्खुवासभा र तेह्रथुममा एकएक र प्रदेश बाहिरका चार जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ । सोही अवधिमा एक हजार ५९ को पीसीआर परीक्षण गर्दा २२९ र ४५१ को एन्टिजेन परीक्षण गर्दा ९१ गरी कूल ३२० मा कोरोना सङ्क्रमण भएको हो । प्रदेशमा आजै १७४ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ८७ महिला र ८७ पुरुष रहेका छन् । सोही अवधिमा कोरोना सङ्क्रमणबाट एक महिलासहित चारको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यो पनि – पछिल्लो २४ घण्टामा थप १४७८ जनामा कोरोना संक्रमित,१६३० जना कोरोना संक्रमणमुक्त
काठमाडौं,६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११०६७ पीसीआर र २८६३ एन्टीजेन परीक्षणमा १४७८जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ८७ हजार ८२८ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ८९ हजार ६३० पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा १६३० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ५५ हजार ६३० पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि- ४० वर्षमाथिका सबैलाई खोप
दोलखामा ४० वर्षभन्दा माथिका सबैलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएकोे छ । यसअघि जिल्लामा निश्चित मापदण्ड बनाई विभिन्न समूहका लक्षित समूहलाई कोरोनाविरुद्धको भेरोसिल तथा कोभिसिल्ड खोप लगाइएकोमा यस पटक भेरोसिल खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालयका प्रमुख अर्जुन पौडेलले ४० वर्षामाथिका नागरिकसँगै पहिलो डोज लगाएर दोस्रोका प्रतिक्षामा रहेकालाई खोप उपलब्ध गराइने जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला खोप समन्वय तथा अनुगमन समितिको यही असोज ४ गते बसेको बैठकले आजदेखि ११ गतेसम्म जिल्लाका सबै पालिकाका खोप केन्द्रमार्फत खोप लगाउने निर्णय भएको थियो । चीनसँग सिमाना जोडिएको जिल्लाको गौरीशङ्कर र विगु गाउँपालिका सबै नागरिहरुलाई चीनले खोप उपलब्ध गराउने भएपछि सहज भएको छ । ती गाउँपालिकाका १८ वर्षभन्दा माथिका सबैलाई खोप दिइएको छ भने १८ वर्ष पूरा भएका खोप लगाउन बाँकीलाई सरकारी कागजातसहित खोप केन्द्रमा सम्पर्क गरी खोप लगाउन पालिका स्वास्थ्य शाखाले आग्रह गरेको छ ।
कालीञ्चोक र मेलुङ गाउँपालिकामा आजदेखि ८ गतेसम्म, विगु र वैतेश्वर गाउँपालिकामा ७ देखि ९ गतेसम्म, तामाकोशी र गौरीशङ्कर गाउँपालिकामा ८ देखि १० गतेसम्म, जिरी र भीमेश्वर नगरपालिकामा १० गते र शैलुङ गाउँपालिकामा ९ देखि ११ गतेसम्म खोप सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । लक्षित वर्गअन्तर्गत १८ वर्ष पूरा भएका सबै विद्यार्थीलाई समेत खोप लगाइन छुटेका विद्यार्थीहरुलाई उमेर खुल्ने सरकारी कागजसहित खोप केन्द्रमा सम्पर्क गरी खोप लगाउन अनुरोध गरेको छ । यसअघि प्राप्त खोप लक्षित वर्गअन्तर्गत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, व्यवसायीहरु, जनप्रतिनिधि, सरसफाइकर्ता तथा सवारी चालकहरुलाई लगाई सकिएको छ ।
पछिल्लो समय जिल्लाकासङ्क्रमितको सङ्ख्या घट्दै गइरहेको छ । जिल्लामा १०१ सक्रिय सङ्क्रमित छन् भने तीन हजार ४६० निको भइसकेको छ । जिल्लामा आठ पुरुष र पाँच महिला गरी १३ को ज्यान गइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो पनि – लोपोन्मुख वनकरिया समुदायले राष्ट्रिय परिचयपत्र बनाउँदै
मकवानपुरको मनहरि गाउँपालिका– ४ स्थित लोपोन्मुख वनकरिया समुदायले धमाधम राष्ट्रिय परिचयपत्र बनाइरहेका छन् । यसका लागि गाउँपालिकाले पशुपति माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको छ । राष्ट्रिय परिचयपत्र बनाउन पाएकामा निकै खुसी लागेको पूजा वनकरियाले बताउनुभयो । उहाँले भन्नुभयो,“ राष्ट्रिय परिचयपत्रका बनाउन पाउँदा धेरै खुसी लागेको छ ।”
यसैगरी ३८ वर्षीय सुरेश वनकरियाले पनि आफ्नो नागरिकता हराएर प्रतिलिपि बनाएर राष्ट्रिय परिचयपत्रमा फोटो खिचाएको बताउनुभयो । आफू सानो छँदा आफ्नो परिवार वनमा कन्दमूल खोज्न व्यस्त हुने गरेको सम्झना गर्दै उहाँले अब राज्यका अङगमा आफूहरु पनि सामेल हुन थालेकामा खुसी लागेको बताउनुभयो ।प्राथमिक शिक्षा अध्ययन गरेका उहाँले आफ्ना भावी सन्नती अब शिक्षाको उज्यालोबाट वञ्चित हुन नपर्नेमा आशावादी रहेको जानकारीदिनुभयो । नेपालमा नै जम्मा ९१जनसङ्ख्या रहेको उक्त समुदायका ३० जनाले गाउँपालिकाद्वारा सो विद्यालयमा सञ्चालन गरिरहेको राष्ट्रिय परिचयपत्र शिविरमा आफ्नो परिचयपत्रसहित उपस्थित भइरहेकका छन् । मनहरि– ४ का वडाध्यक्ष धु्रव खड्काले स्थानीयस्तरमा सेवा प्रवाह गरेको जानकारी दिनुभयो ।
सो विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले भन्नुभयो,“केही वर्ष अघिसम्म वनमा आधाररित जीवनशैली रहेको वनकरियाको हाल शिक्षित हुदैछन्, राज्यको सेवा सुविधामा पहुँच बढ्दै गएको यसले हामीलाई पनि खुसी बनाएको छ ।” वनकरिया बस्तीमा हाल उच्च शिक्षा अध्ययन गर्ने छात्रासमेत भएको उहाँले बताउनुभयो ।ती समुदायका छात्रछात्रालाई घरमा नै गएर विद्यालय भर्ना अभियान चलाएको प्रअ आचार्यले जानकारी दिनुभयो । उहाँले विद्यालय आएका बालबालिकामा पनि पढाइप्रति लगाव भएको बताउनुभयो । हालसम्म पम्फा, सन्तोषी र अनिल वनकरियाले माध्यामिक शिक्षा परीक्षा उत्तीर्ण भएको जानकारीदिनुभयो । यसैगरी कक्षा १ देखि १० सम्म कूल १५ छात्रछात्रा विद्यालय आउने गरेका छन् र मनहरि– ४ का वडासचिब विदुर पाठकले १० दिनसम्मको शिविरमा जम्मा ९०० जनाले राष्ट्रिय परिचयपत्र बनाएको बताउनुभयो । शिविरको पाँच दिन थप गरिएको छ ।



प्रतिक्रिया