नेप्सेमा सामान्य सुधार, कारोबार रकम बढ्यो


धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक २.७० अङ्कले बढेर दुई हजार ८१९.६५ मा पुगेको छ ।ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९३ अङ्कले बढेर ५३०.०२ मा उक्लिएको छ । कूल २२८ कम्पनीको एक करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर रु सात अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ मूल्यमा खरिद बिक्री भए । बिहिबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ४७ अर्ब १५ करोड सात लाख ९० हजारको हाराहारीमा पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्यो भने ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । नेप्सेका अनुसार बैंकिङ ४७.३७ र वित्त ८.२ अङ्कले उकालो लागे । केही वाणिज्य बैंकले आव २०७७÷७८ को मुनाफाबाट लाभांश घोषणा गरेका कारण बैंकिङ उपसमूहको शेयर मूल्यमा सुधार देखिएको हो । व्यापार ४५.०७, होटल तथा पर्यटन ९७.२७, विकास बैंक ८०.४४, जलविद्युत् ७१.८, निर्जीवन बीमा ९२.०४, उत्पादन ८०.४, अन्य २१.६१, लघुवित्त ४६.७९, जीवन बीमा ५१.०८, सामूहिक लगानी कोष ०.०६ र लगानी २.१६ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज सानिमा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३४ करोड १५ लाख ८३ हजार बराबरको कारोबार भयो । नेपाल बैंक रु २७ करोड १० लाख ७७ हजार १४३, माछापुच्छ्रे बैंक रु २३ करोड ८६ लाख ८८ हजार ६०३, नेशनल हाइड्रोपावर रु २१ करोड ९६ लाख ५० हजार ५०५ र युनाइटेड मोदी हाइड्रोपावरको रु २१ करोड ७७ लाख २३ हजार २७७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । प्राइम लाइफ इन्स्योरेन्स ६.१३, नेपाल बैंक ५.५१, नेपाल बंगलादेश बैंक ५.३०, मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ४.०२ प्रतिशतले कमाएका छन् । हिमालयन पावर पार्टनर ५.०९, यूनियन हाइड्रोपावर ५.०५, शिव श्री हाइड्रोपावर ४.६७, अरुण भ्याली हाइड्रोपावर ४.३६ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ४.१४ प्रतिशतले गुमाए ।

यो पनि – पछिल्लो २४ घण्टामा थप १२३९ जनामा कोरोना संक्रमित,१३२४ जना कोरोना संक्रमणमुक्त

काठमाडौं,६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११६२९  पीसीआर र ३६१४ एन्टीजेन परीक्षणमा १२३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ८८ हजार ७६९ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ८९ हजार ९०७ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १३२४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ५६ हजार ९५४ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यो पनि – भारतमा थप ३१ हजार ९२३ जना कोरोना सङ्क्रमित

७ असोज (रासस÷एएनआई) ः पछिल्लो २४ घण्टामा भारतमा ३१ हजार ९२३ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या ३ करोड ३५ लाख ६३ हजार ४२१ जना पुगेका छन् । सरकारी अधिकारीले बिहीबार बिहान दिएको जानकारीनुसार अहिले भारतमा सक्रिय सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख एक हजार ६०४ रहेका छन् । यो सङ्ख्या १८७ दिनपछि कै सबैभन्दा कम हो । भारतमा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या छ महिना पछिकै सबैभन्दा कम भएको बताइएको छ ।

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या पछिल्लो समयलगातार घट्दै गएको छ । दैनिक नयाँ सङ्क्रमितभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढी हँुदै गएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ०.९० प्रतिशत भएको जनाइएको छ । सन् २०२० को मार्च महिनापछि अहिले सक्रिय सङ्क्रमितको यो संख्या सवभन्दा कम हो ।

पछिल्लो २४ घण्टामा ३१ हजार ९९० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको देखिएको अधिकारीले जनाएका छन् । योसँगै भारतमा अहिलेसम्म तीन करोड २८ लाख १५ हजार ७३१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यहाँ कोरोनाका कारण अहिलेसम्म चार लाख ४६ हजार ५० जनाको मृत्यु भएको छ । तीमध्ये २८२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको जनाइएको छ ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ५५ करोड ८३ लाख ६७ हजार १३ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको बताइएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो सयमदेखि हालसम्म ८३ करोड ३९ लाख ९० हजार ४९ डोज खोप लगाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

यो पनि – चिनियाँ विदेशमन्त्रीद्वारा जी २० बैठकमा अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह

चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गरेका गर्नुभएको छ । मन्त्री वाङले (जी २०) समूहका विदेश मन्त्रीहरूको भिडियो सम्मेलनलाई सम्बोधन गर्दै अफगानिस्तानको विदेशी विनिमय भण्डार उसको राष्ट्रिय सम्पत्ति हो र त्यो अफगानिस्तानी जनताको स्वामित्वमा हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

उहाँले भन्नु भएको छ- यो विषय राजनीतिक सौदाबाजीको विषय हुन सक्दैन। मन्त्री वाङले अफगानिस्तानमा जारी सङ्कटको समाधानका लागि यथाशीघ्र राहत र अन्य मानवीय सहयोग उपलब्ध गराउनु पर्ने बताउनुभएको छ। चीनले अफगानिस्तानलाई ३०. ८९ मिलियन अमेरिकी डलरबराबरको सहयोग उपलब।ध गराउन लागेको उहाँले जानकारी दिनुभएको छ। मन्त्री वाङले जी २० का सदस्य राष्ट्रहरूलाई अफगानिस्तानमा जारी सङ्कटलाई छिटै पार लगाउन थप सहयोग उपलब्ध गराउन आग्रह गर्नुभएको छ। वित्तीय संस्थाहरूले आर्थिक सहयोग उपलब्ध गराई गरिबी निवारण र जीवनस्तर सुधारका निम्ति सहयोग गर्न मन्त्री वाङको आग्रह छ।

प्रतिक्रिया दिनुहोस