नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारीको दुई महिनाभन्दा बढी लामो आन्दोलनले निगमको व्यवसायमा दूरगामी असर पार्ने महत्वपूर्ण काम कारबाही प्रभावित भएको जनाएको छ । निगमका प्रहाप्रबन्धक डिमप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै कर्मचारीको आन्दोलनका कारण संस्थाको दैनिक कामकाज अवरोधका साथै दसैँ तिहारजस्ता ठूला चाडपर्वको सम्मुखमा कर्मचारीलाई तलब वितरणमा समेत समस्या परेको बताउनुभएको हो ।
निगमभित्रको पछिल्लो अवस्थाले संस्थागत मर्यादाको उल्लङ्घन मात्र नभएर संस्थाको भविष्यमाथि नै गम्भीर सङ्कट पैदा गरेको भन्दै निगमको सेवालाई अविछिन्न राख्न सबैको भूमिका चाहिने उल्लेख गर्नुभएको छ । निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढाइएसँगै निगमका कर्मचारीले गत असार १८ गतेदेखि निगम केन्द्रीय कार्यालयमा धर्नालगायतका कार्यक्रम गर्दै आएका छन् । निगमले अनुमति पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड हेण्डलिङ सेवाका लागि आवश्यक तयारीको कार्य आन्दोलनले प्रभावित हुन पुगेको छ ।
त्यस्तै निगममा आइएफआरएस प्रणाली लागू गर्ने सम्बन्धमा गर्नुपर्ने तयारी, अनलाइन टिकट प्रणालीसमेत हुने गरी पिएसएस लागू गर्ने सम्बन्धमा गरी राखिएको तयारीको काम पनि प्रभावित बनेको छ । ए ३२० को इञ्जिन मर्मतका लागि एमआरओ छान्नेसम्बन्धी सम्पूर्ण प्रक्रिया अवरोध भएको छ भने अर्थ मन्त्रालयको निर्देशनबमोजिम गर्नुपर्ने निगमको अद्यावधिक डिडीएसम्बन्धी काम पनि प्रभावित भएको छ । आव २०७८÷७९ को बजेट तथा वार्षिक कार्यक्रम तर्जुमाको काम, महालेखा परीक्षकको प्रतिवेदनउपर छलफल र जवाफ दिने कार्य (आन्दोलनका कारण म्याद गुज्रिन पुगेको), निगमको ऋण दायित्व भुक्तानी गर्न अर्थ मन्त्रालयको समन्वयमा गरिने सम्पूर्ण काम अघि बढ्न सकेको छैन ।
निगम व्यवस्थापनले तयार गरी सञ्चालक समितिले स्वीकृत गरेको १० वर्षे व्यावसायिक योजना कार्यान्वयन गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि विमान सङ्ख्या थप गर्न नेपाल सरकारसँग समन्वय गर्नेसम्बन्धी सम्पूर्ण कामलगायत काम कारबाही प्रभावित हुन पुगेको निगमले विज्ञप्तिमा जनाएको छ ।
यो पनि – कांग्रेसले दसैँअघि हिमाली जिल्लामा अधिवेशन गर्ने
नेपाली कांग्रेसले हिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले महाधिवेशनको कार्यतालिकाअनुसार जिल्ला अधिवेशन गर्ने सहमति गरेको हो । कांग्रेसले हिमाली जिल्ला ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, गोरखासहित २१ जिल्ला सूचीमा राखेको छ । ती जिल्लामा दसैँअघि नै र अरु जिल्लामा दसैँपछि जिल्ला अधिवेशन गर्ने सहमति भएको छ । हिमालीबाहेकका जिल्लामा दसैँअघि स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने र बाँकी अधिवेशनका कार्यक्रम दसैँपछि गर्ने सहमति भएको छ ।
मौसमलाई मध्यनजर गरेर हिमाली जिल्लामा दसैँअघि नै जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको ६४ जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ । ती जिल्लामा यही असोज ९ गते पालिका अधिवेशन हुँदैछ । तेह्र जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा अधिवेशन तालिका नै प्रभावित भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सबै अधिवेशन एउटै समयमा हुनुपर्ने माग गरेपछि कांग्रेसमा महाधिवेशन कार्यतालिका परिमार्जन हुने भएको हो ।
कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार असोज ९ गते स्थानीय तहको अधिवेशन, असोज १२ गते प्रदेशसभा निर्वाचन क्षेत्र, असोज १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र र असोज १८ गते जिल्ला अधिवेशन गर्ने उल्लेख छ । कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको पदाधिकारी बैठकमा पार्टीको महाधिवेशन केन्द्रित भएर लामो छलफल भए पनि निष्कर्षमा पुगिनसकेको जानकारी दिनुभयो । कतिपय जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्गिएको छैन । पार्टीको महाधिवेशनबाट हुने नेतृत्व चयन प्रक्रियामा पार्टीले अङ्गीकार गरेको समावेशिताका विषयलाई कसरी सम्बोधन गर्ने भन्नेबारे पनि छलफल भएको कोषाध्यक्ष यादवले बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री डा शशाङ्क कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष यादव, सहमहामन्त्री प्रकाशशरण महत पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ र केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाललगायतको उपस्थिति थियो ।
यो पनि – षड्यन्त्र गरेर मलाई फसाइएको हो ः उपसभापति गच्छदार
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको बताउनुभएको छ । उहाँले आफूलाई षड्यन्त्र गरेर फसाइएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँगको भेटमा उपसभापति गच्छदारले आफू सधै जनताको हक अधिकारका लागि लड्ने गरेको बताउँदै मन्त्रिपरिषद्को निर्णयमाथि अख्तियारले कारबाही गर्न नमिल्ने र यदी कारवाही नै गर्नुपर्ने भएमा मन्त्रिपरिषद्माथि गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले ५० वर्षको राजनीतिक यात्रामा अख्तियारले आपूmमाथि अन्याय गरेको धारणा राख्नुभयो । “म अझै ११ वर्ष सक्रिय राजनीति गरिरहने छु”, उहाँले भन्नुभयो ।
उपसभापति गच्छदारले न्यायलयले न्याय दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफूलाई षड्यन्त्र गरेर फसाउनेका विरुद्ध जनता र स्वयं पार्टी नै उभिएको छ भन्नुभयो । जनताका अधिकार र संसदीय प्रजातन्त्रका लागि लडिरहने बताउँदै उहाँले आफूले भ्रष्टाचार गरेको वा अनियमितता गरेको दोषी ठहर भएमा जनताको अदालतमा उभिन तयार छु भन्नुभयो ।
यो पनि – नेकपा (एकीकृत समाजवादी)को बैठक सम्पन्न
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक सकिएको छ । बैठकले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गठन गरेको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
बैठकले एक अध्यक्ष, एक वरिष्ठ नेता, सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको छ । जम्मा ३५ सदस्यीय स्थायी कमिटी, ७१ सदस्यीय पोलिटब्यूरो र ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको खतिवडाले बताउनुभयो । सबै प्रदेश तथा जिल्ला इञ्चार्जसमेत तोक्नुका साथै केन्द्रीय कमिटीबाहेक सबै कमिटीमा दुई उपाध्यक्षको व्यवस्था गरिएको छ । बैठकले ‘तत्कालीन कार्ययोजना’ २०७८ पारित गरेको छ । तीन महिनाभित्र सबै स्थानीय तहका वडामा कमिटी गठन गर्ने लक्ष्य राखिएको छ ।
बैठकले ७०१ सदस्यीय केन्द्रीय परिषद् गठन गर्ने निर्णय गरेको छ । पार्टीमा अनुशासन, निर्वाचन र लेखा गरी तीन आयोग रहने छन् । केन्द्रीय सल्लाहकार र ज्येष्ठ नागरिक मञ्च गठन गरिएको सो पार्टीले जनाएको छ ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनमाथि विभिन्न पाँच समूह बनाइ छलफल भएको थियो । बैठकमा पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सङ्गठन विस्तार, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा आवश्यक रणनीति तयार गर्नेबारे छलफल भएको केन्द्रीय सदस्य दिलुकुमारी पन्तले बताउनुभयो । नेकपा (एमाले) बाट अलग भई गठन भएको एकीकृत समाजवादी पार्टीको यो केन्द्रीय कमिटीको पहिलो बैठक हो ।



प्रतिक्रिया