सरकार प्रेस स्वतन्त्रताको प्रवद्र्धन र पत्रकारको पेशागत हितप्रति प्रतिबद्ध छ– प्रधानमन्त्री देउवा

सरकार प्रेस स्वतन्त्रताको प्रवद्र्धन र पत्रकारको पेशागत हितप्रति प्रतिबद्ध छ– प्रधानमन्त्री देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार प्रेस स्वतन्त्रताको प्रवद्र्धन र पत्रकारको पेशागत हितप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा स्थापित ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता–२०७८’ पुरस्कार नेपाल टेलिभिजनका कपिलवस्तु समाचारदाता वासुदेव वर्मालाई आज यहाँ प्रदान गर्दै प्रधानमन्त्री देउवाले संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता र विचार तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पत्रकार महासंघ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले बिहिबार सिंहदरबारमा आयोजना गरेको ‘हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ वितरण कार्यक्रममा संवोधन गर्नुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस

उहाँले भन्नुभयो, “विगतमा गौरवमय सङ्घर्षको जगमा बनेको नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई संरक्षण गर्दै नेपालको पत्रकारिता जगत्लाई विकसित र व्यवसायी बनाउँदै लैजाने कार्य गर्न सरकार तयार छ ।”प्रधानमन्त्री देउवाले नेपाल टेलिभिजन राज्यको टेलिभिजन भएकाले त्यसलाई अझ प्रभावकारी बनाउन व्यवस्थापन र कार्यरत कर्मचारीलाई निर्देशन दिनुभयो । नेपाल टेलिभिजनका पाँचवटै च्यानलबाट सांस्कृतिक, भाषिक, क्षेत्रीय र अन्तर्राष्ट्रियलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै शिक्षामूलक कार्यक्रम प्रसारण गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल टेलिभिजन सरकारको टेलिभिजन भएकाले सरकारको मात्रै गुणगान गाउँछ भन्ने छ, यो हट्नुपर्छ, यसले सत्यतथ्यमा आधारित भएर निष्पक्षरूपमा सरकारको पनि आलोचना गर्ने हिम्मत गर्नुपर्छ ।” उहाँले समावेशी लोकतन्त्रको पक्षधर हुनुको नाताले राज्यका सञ्चारमाध्यम पनि सम्पादकीय स्वतन्त्रता सुनिश्चित गर्दै सञ्चालन हुनुपर्ने बताउँदै स्वतन्त्र, निष्पक्ष र व्यावसायिक पत्रकारिताका निम्ति आग्रह गर्नुभयो ।

नेपालमा विभिन्न समयमा हुने महामारी, प्राकृतिक विपत्तिका कारण पनि पत्रकारिता क्षेत्र जोखिमपूर्ण हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले जोखिमका बीच पनि नेपाली नागरिकलाई सूचनामार्फत सुसूचित गरेर आफ्नो कर्तव्य निर्वाह गरेकाप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आगामी वैशाख महिनासम्ममा सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको योजना सुनाउँदै कोरोना भाइरसका बिरामीलाई स्वास्थ्य उपचारमा कुनै कमी हुुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

कोरोनाको समयमा जोखिमका बीच कपिलवस्तु जिल्लाबाट रिपोर्टिङ गरेबापत समाचारदाता वर्मालाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि रु ५१ हजार रहेको छ । कार्यक्रममा टेलिभिजनका नायब महाप्रबन्धक रामेश्वर शुक्ला र प्रभु बैंकलाई सम्मान गरिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले सिङ्गो पत्रकारिता क्षेत्रलाई स्वच्छ, मर्यादित, जिम्मेवार, पारदर्शी र विश्वसनीय बनाउन मन्त्रालयका तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले संविधानको मर्मविपरीत सङ्घीय र प्रदेश सरकारले संसद्मा पेश गरेका विधेयक फिर्ता लिएर सम्बन्धित क्षेत्रसँग छलफल गरेर मात्रै अगाडि बढाउनुपर्ने माग गर्नुभयो । टेलिभिजनका महाप्रबन्धक फूलमान बल तामाङले नेपाललाई विश्वमा पु¥याउने उद्देश्यअनुरूप अब छिट्टै ‘एनटिभी वल्र्ड’ सुरु हुने जानकारी दिनुभयो ।