कोरोना महामारीपछि कला क्षेत्रलाई पुनःजीवन दिन सुशील कोइराला मेमोरियल फाउण्डेशनको सहयोगमा प्यागोडा गु्रपले १५ दिने कला प्रदर्शनी सुरु गरेको छ ।ललितपुर महानगरपालिका–१ बखुण्डोलस्थित कुण्डलिनीमा बिहीबारदेखि सुरु भएको प्रदर्शनीमा १४ कलाकारका १८ कलाकृति प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीको सुरुआत गर्दै फाउण्डेशनका सदस्यसचिव इञ्जीनियर अतुल कोइरालाले नेपालको कला, संस्कृति मासिँदै गएकाले माध्यमिक तहदेखि नै यस्ता विषयलाई प्राथमिकताका साथ पाठ्यक्रममा राखिनुपर्ने बताउनुभयो ।
साना विद्यार्थीलाई सानैदेखि चिकित्सक, इञ्जीनियरमात्र नभएर कला, संस्कतिका साथै अनुशासन सिकाउने शिक्षको आशा रहेको उहाँको भनाइ थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख सुष्मा राजभण्डारीले बालबालिकालाई चित्रकलामा आकर्षित गर्न कक्षा १ देखि १० सम्मको पाठ्यक्रम निर्माण भइरहेको जानकारी दिनुभयो ।
एउटा घरमा एउटा चित्रकला राख्ने गरी प्रतिष्ठानले अभियान चलाउन लागेको उहाँको भनाइ थियो । नेपाली कला कमजोर नरहेको उल्लेख गर्दै राजभण्डारीले ठाउँमा लैजान भने नेपाल चुकेको बताउनुभयो । कलालाई ठाउँमै लैजाने गरी प्रतिष्ठानले काम गरिरहेको उहाँको भनाइ थियो ।
कुण्डलिनी आयुर्वेद केन्द्रका सञ्चालक प्रमोद पौडेलले केन्द्रमा आर्ट ग्यालरी स्थापना गरी पहिलोपटक १५ दिने कला प्रदर्शनी गरिएको जानकारी दिनुभयो । प्रदर्शनीमा गोपाल कलाप्रेमी, सुष्मा राजभण्डारी, राजु पिठाकोटे, सरोज बज्राचार्य, किशोर नकर्मी, विकास शाक्य, रोशन प्रधान, पासाङविक्रम लामा, अजय देसार, विपना महर्जन, माला श्रेष्ठ, प्रद्युम्न श्रेष्ठ, कान्छाकाजी भाषिमा र रुद्रबहादुर पुनका चित्रकला प्रदर्शनीमा राखिएका छन् ।
यो पनि – ठेकेदार सम्पर्कविहीन बनेपछि सडक अलपत्र
बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन बनेपछि काम अलपत्र परेको छ । गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो ।
निर्माण कम्पनीका प्रतिनिधि र सहायक ठेकेदार अधकल्चो काम छाडेर सम्पर्कविहीन बनेपछि आयोजना अलपत्र पर्नाका साथै नागरिकलाई सास्ती भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । “ठेकेदारको जिम्मामा पर्ने बाङ्गेपहिरोमा दैनिकजसो पहिरो खसेर सडक अवरुद्ध हुन्छ, यात्रु र सवारीधनी हामीसँग कराउँछन्”, उहाँले भन्नुभयो, “आयोजना सञ्चालन गर्ने निकाय पूर्वाधार विकास कार्यालयले बेवास्ता गरेको छ, ठेकेदार पाँच महिनादेखि सम्पर्कविहीन छन्, पहिरो पन्छाएर सडक मर्मत गरी नियमित यातायात सञ्चालन गर्न समस्या भएको छ ।”
लाम्पाटाबाट दरवाङसम्म आठ किलोमिटर खण्डसडक कालोपत्र गर्न रु २२ करोड ५७ लाख ९३२ मा विसं २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । उसले हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । मङ्गला गाउँपालिकाको सिमबाट लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौताको तयारी गरेको कार्यालयले जनाएको छ । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक तीन प्याकेजमा स्तरोन्नति भइरहेको छ ।
पहिलो प्याकेजमा पर्ने बेनीबाट सिमसम्मका सहायक ठेकेदारले अधकल्चो छाडेर अलपत्र बनाएको सडकलाई पूर्णता दिन मुख्य ठेकेदारले पाँच महिनापछि गत भदौदेखि काम सम्हालेका छन् । समानान्तर–लामा जेभीले ठेक्का लिएको यो सडक आयोजनाको सहायक ठेकेदार तथा प्रतिनिधि दयाराम थापा गत चैतदेखि कार्यक्षेत्र छाडेर भागेपछि अलपत्र बनेको थियो । मुख्य ठेकेदार समानान्तरण निर्माण कम्पनीका इञ्जीनियर महेन्द्र शाहले सडक निर्माणलाई पूर्णता दिने गरी काम सुरु गरेको बताउनुभयो । विस २०७४ असोज ४ गते रु ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । हालसम्म करिब ६० प्रतिशतमात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।



प्रतिक्रिया