सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लोपोन्मुख अवस्थामा रहेको सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । लोपोन्मुख सोनाहा जातिलाई राज्यले आदिवासी जनजातिका रूपमा सूचीकृत गर्नुपर्ने माग गर्दै सोनाहा विकास समाजले शुक्रबार बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले सोनाहा जातिको संरक्षण र सम्वद्र्धन गर्न नसके अस्तित्व नै लोप भएर जाने बताउनुभयो ।
सोनाहा जातिलाई राज्यले सूचीकरण नगरेका कारण राज्यले उपलब्ध गराउँदै आएको सेवासुविधाबाट वञ्चित हुनुपरेकाले राज्यले लोपोन्मुख सोनाहा जातिको संरक्षण र सम्वद्र्धन गर्न जरुरी रहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री भट्टले सर्वोच्च अदालतले नै सूचीकरण गर्न सरकारलाई निर्देशन दिइसकेकाले सोनाहाको सूचीकरण कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँले सोनाहा जातिलाई सूचीकृत गर्न सुदूरपश्चिम प्रदेश सरकारले सङ्घीयसरकारलाई आग्रह गर्ने आश्वासन दिनुभयो ।
सूचीकरणका लागि सोनाहा समुदाय आफँै सक्रियतापूर्वक लाग्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “कमैया र दलित समुदायले आफैँले सङ्घर्ष गरेर अधिकार लिएको उदाहरण सोनाहाले सिक्नुपर्ने हुन्छ ।”सोनाहा समुदायले परम्परादेखि नै नदीमा सुन चाल्ने, माछा मार्नेलगायतका काम गर्दै आएका छन् । सोनाहाले सूचीकरण नहुँदा सुन चाल्ने, माछा मार्ने, डुङ्गा चलाउनेदेखि बास, गाँस, कपास, शिक्षा, स्वास्थ्य, राजनीतिक अधिकार, रोजगारी र सामाजिक सुरक्षासमेतमा वञ्चित हुनुपरेकोसमाजका अध्यक्ष बलबहादुर सोनाहाले गुनासो गर्नुभयो ।
सोनाहा जातिको कैलाली, कञ्चनपुर र बर्दियामा गरी तीन जिल्लामा एक हजार २०० जनसङ्ख्या रहेको जनाइएको छ । सूचीकरण भएन भने सो सङ्ख्या लोप भएर जाने चिन्ता सो समुदायको चिन्ता छ ।
यो पनि – दुई सय पर्यटन मजदुरलाई रोजगार
जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना कार्यक्रमअन्तर्गत दुईसय जनालाई रोजगारीको अवसर दिइएको छ । पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई आपतकालीन रोजगार कार्यक्रम अन्र्तगत सो अवसर दिइएको हो ।ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) पश्चिमाञ्चलले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट सङ्घ विकास कार्यक्रम (युएनडिपी) सहयोगमा सञ्चालित जीवनयापन सहयोग कार्यक्रमअन्तर्गत रोजगार प्रदान गरिएको हो । बोर्डका गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले मजदुरलाई सुरक्षा सामग्री र औजार हस्तान्तरण गरेर उक्त कार्यक्रमको शुभारम्भ गर्नुभयो ।
प्रमुख भण्डारीले कोभिड–१९ को कारण पर्यटन क्षेत्र शून्य अवस्थामा पुगेको जनाउँदै यस व्यवसायसँग आवद्ध मजदुरको जीविकोपार्जनमा कठिनाइ आएको उल्लेख गर्नुभयो । उहाँले सेप्टेम्बर २७ विश्व पर्यटन दिवसका दिन काठमाडौँमा भएका कूटनीतिक पदाधिकारीको टोलीलाई कास्कीकोटको अपाङ्गतामैत्री पदमार्गमा घुमाउने कार्यक्रम रहेको बताउनुभयो । टान पश्चिमाञ्चलका अध्यक्ष सुशीलराज पौडेलले कोरोनाका कारण रोजगार गुमाउन पुगेका पदयात्रा मजदुरलाई लक्षित गरी सञ्चालन गरिएको यस कार्यक्रमले उनीहरुको जीविकोपार्जनमा थोरै भए पनि राहत हुने विश्वास व्यक्त गर्नुभयो । पदमार्ग मर्मत र सरसफाइका लागि रोजगार प्रदान गरिएको जनाइएको छ । उहाँका अनुसार दाङसिङ, मोहरिया, टाडापानी, बिरेठाँटी र ड्यामसाइड स्तुपा, भुम्दी, पञ्चासे भञ्याङसम्म गरेर २०० जना मजदुरले रोजगारी पाउनेछन् । पहिलो चरणमा ३० जनाले १० दिनसम्म पदमार्ग मर्मत सम्भार र सरसफाइ गर्नेछन् । एक मजदुरलाई दैनिक एक हजार ज्याला दिइनेछ । सो कार्यक्रम अर्नतगत २० लाख छुट्टाइएको छ ।
पोखरा २४ का वडाध्यक्ष ओम सुवेदीले पोखराको पर्यटन विकासमा कास्कीकोटमा रहेको प्राकृतिक, सांस्कृतिक र धार्मिक महत्वको विषयलाई उजागार गर्नुपर्ने आवश्यता औँल्याउँदै अपाङ्गतामैत्री पदमार्ग एशियाकै नमूना भएको बताउनुभयो । कार्यक्रममा टानका सदस्य एव) मजदुर विभाग संयोजक मोहन सुवेदी, फेवा फेरो ट्रायलका अध्यक्ष विष्णु दाहाल, टान सचिव मिलन तिवारीलगायतले प्राकृतिक सुन्दरताले महत्वपूर्ण रहेको कास्कीकोटको पदमार्गको महत्वलाई उजागार गर्न सके पर्यटकको बसाइ लम्बाउन सकिने बताउनुभयो ।



प्रतिक्रिया