काठमाडौँ, ९ असोज (रासस) : अझै केही दिन मनसुन बाहिरिने सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिलेको अवस्थालाई हेर्दा मनसुन तत्काल बाहिरिने सम्भावना नरहेको विभागका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ तथा बङ्गालको खाडीबाट जलवाष्फयुक्त हावा आउनेक्रम राकिनुपर्छ । “अहिले त्यस्तै अवस्था रहेको छैन । त्यसैले तत्काल मनसुन बाहिने सम्भावना छैन”, मौसमविद् नगरकोटीले भन्नुभयो ।
यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यसपालीदेखि मनसुनको अवधि परिमार्जन गरिएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने गरेको थियो । यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर दुईमा मनसुन बाहिरिने मिति तोकिएको छ ।
यसपाली नेपालमा मनसुन औसत समयभन्दा दुई दिन अगाडि भित्रिएको थियो । मौसमविद्का अनुसार हरेक १०–१० वर्षमा मनसुन भित्रने र बाहिरिने समय परिमार्जन गरिन्छ । आज देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव तीन डिग्री र अधिकतम तापक्रम ३० दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव तीन डिग्री र सबैभन्दा धेरै दिपालयको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।
यो पनि – तनहुँमा भाइरल ज्वरोका बिरामी बढे
तनहुँ, ९ असोज (रासस) : तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये करिब १५ प्रतिशत भाइरल ज्वरोका बिरामी रहेको सो अस्पतालले जनाएको छ । अहिले दैनिक अस्पतालमा २०० देखि २५० जनासम्म अस्पतालमा आउने गरेका छन् ।
भाइरल ज्वरोका बिरामीमा कोरोनाको जस्तो लक्षण देखिए पनि परीक्षण गर्दा पोजेटिभ नदेखिएको अस्पतालका प्रमुख डा सुनिल पौड्यालले बताउनुभयो । उपचारमा आएका बिरामीमध्ये दैनिक ३० देखि ४० जनासम्म भारइल ज्वरोका बिरामी भेटिने गरेको उहाँले जानकारी दिनुभयो । भाइरल ज्वरोका बिरामीमा कोरोनाको जस्तै लक्षण देखिन्छ । उहाँले भन्नुभयो, “हाँछ्यु आउने, सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, आँखाको भित्री भाग दुख्ने सबै लक्षण उस्तै हुन्छ तर मानिसमा सास फेर्न भने गाह्रो हुँदैन ।”
भाइरल ज्वरो मौसमी फ्लु भएकाले घरमै बसेर सामान्य उपचार गर्दा पनि निको हुन्छ । ज्वरो आएमा सिटामोल खाने, प्रशस्त पानी पिउने, आराम गर्ने, पोसिलो जुस पिउने गर्नाले यो निको हुने डा पौड्याल बताउनुहुन्छ । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा लक्षण देखिन कम्तीमा पाँचदेखि सात दिन लाग्न सक्छ तर भाइरल ज्वरो दुई दिनदेखि पाँच दिनभित्रमा लक्षण देखिने र सरुवा रोग भए पनि छिटो निको हुने उहाँले बताउनुभयो । दमौली अस्पतालमा सुरुसुरुका दिन ४० देखि ५० प्रतिशतसम्म कोरोना पोजेटिभ देखिए पनि अहिले १८ देखि २० प्रतिशतमा कोरोना देखापर्ने गरेको उहाँले बताउनुभयो । त्यसैगरी दमौली अस्पतालको सघन उपचार कक्षमा राखेर चार जना कोभिड–१९ का बिरामीको उपचार गरिँदै आएको सो अस्पतालले जनाएको छ ।



प्रतिक्रिया