काठमाडौँ, ९ असोज (रासस) : नेपालमा पछिल्लो २४ घण्टामा थप ९५३ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा ९५३ मा सङ्क्रमण देखिएको हो ।
हाल देशभर सक्रिय सङ्क्रमित १९ हजार ७०० छन् । पछिल्लो २४ घण्टामा एक हजार ३७१ ले सङ्क्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने कूल सङ्ख्या सात लाख ५९ हजार ८७५ छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.१ प्रतिशत छ ।
यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा छ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ८७ को निधन भइसकेको छ । हाल देशभर ३६३ सघन उपचारकक्ष (आइसीयू), १०९ भेन्टिलेटर, १८ हजार ३४० होम आइसोलेशन, एक हजार ३६० संस्थागत आइसोलेशन र २३७ क्वारेन्टिनमा छन् । पछल्लो समय कोरोना भाइरसविरुद्धको खोप दुई लाख १६ हजार ७२५ जनाले लगाएका छन् । अहिलेसम्म ६५ लाख २८ हजार ३९२ ले पहिलो मात्रा र ६० लाख १४ हजार ९४१ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
यो पनि – खाद्यान्न वितरण अभियान सम्पन्न
भक्तपुर, ९ असोज (रासस) : लकडाउनले खोसेको जागिर । परिवारमा आम्दानी शून्य । घरबेटीले भाडाका लागि गरेको सधैँको किचकिच । अनि खानेकुरा नभएर बालबालिका भोकै सुत्नुुको पीडा । सुन्नेको मन चसक्क हुन्छ, भोग्नेलाई कस्तो होला ?
विभिन्न जिल्लाबाट रोजगारीको सिलसिलामा आएका विपन्न मजदुर वर्गको कोरोनाकालको दैनिकी हो यो । मजदुर वर्गको यहीँ पीडालाई प्रत्यक्ष नियालेपछि दुखेको मनलाई शान्त पार्न निःशुल्क खाद्यान्न वितरणमा लागे सम्पदा संरक्षणकर्मी एवं सम्पदाविद् रवीन्द्र पुरी ।
“कोभिड–१९ को महामारी सुरु भएसँगै धेरैको रोजीरोटी खोसियो, अनि दैनिक ज्याला मजदुरी गर्न मोफसलबाट उपत्यका छिरेका धेरै मजदुर र तिनका कलिला लालाबालाको गाँस खोसियो,” सम्पदा संरक्षणको देशव्यापी अभियानमा खटिनुभएका भक्तपुर नागपोखरी निवासी आरपी फाउन्डेसनका अध्यक्ष रवीन्द्र पुरी भन्नुहुन्छ, “जब विपन्न मजदुरका बालबालिका भोकै सुतेको देखेँ, तब मेरो मन साह्रै दुख्यो, कहाली लाग्यो, अनि त्यसको भोलिपल्टदेखि नै सुरु गरे खाद्यान्न वितरण ।”
आरपी फाउन्डेसनको आयोजना तथा जर्मनको ‘सुलरहिल्फे फियुर नेपाल जर्मनी’ को सहयोगमा टफिल प्रोजेक्ट को खाद्यान्न वितरण कार्यक्रमअन्तर्गन २०७८ साल वैशाख १६ गतेदेखि सुरु गरेको खाद्यान्न वितरण अभियान पाँच महिनामा आज सम्पन्न भएको छ ।
फाउन्डेसनले वैशाख १६ गतेदेखि यहीँ असोजसम्मका लागि पाँचजनासम्मको परिवारलाई पुग्ने गरी २७० मजदुर परिवारलाई महिनाका दुईपटकका दरले चामल, दाल, नुन, चिउरा, तेल र चिनी वितरण गरेको फाउन्डेसनका अध्यक्ष पुरीले जानकारी दिनुभयो ।
भक्तपुरमा रोजगारीको खोजीमा रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सुन्धुलीलगायतका जिल्लाबाट आएका र भक्तपुरका स्थानीय गरिब मजदुर परिवारलाई खाद्यान्न राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो । एउटै घरको एउटा कोठामा कोही अघाउने, अर्को कोठामा कोही भोकै भएको अवस्था धेरै देखिएको बताउँदै उहाँले स्थानीय तहले वडावडामा फुड बैंक स्थापना गरे आरपी फाउन्डेसन खाद्यान्न सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ ।
गत वर्षको कोरोना महामारीको पहिलो लहरमा पनि आरपी फाउन्डेसनले भक्तपुरका अस्पताहरु, धुलिखेल अस्पताल र बाहिरी जिल्लाका केही अस्पताललाई पिपिई, मास्क र स्यानिटाइजर वितरण गर्दै स्थास्थ्यकर्मीको हौसला बढाएको थियो । पनौतीमा फुड बैंकलाई र अन्य संस्थालाई वितरणका लागि सयौँ बोरा चामल वितरण गरेको थियो ।
गत वर्ष कोरोना जोखिम कम गर्नका लागि करिब एक लाखभन्दा बढी व्यक्तिका लागि इम्यिुनिटी पावर बढाउने होमियोप्याथीको औषधि निःशुल्क वितरण गरेको थियो ।



प्रतिक्रिया