प्रदेश नं १ मा ३२२ मा कोरोना सङक्रमण

प्रदेश नं १ मा ३२२ मा कोरोना सङक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ९ असोज (रासस) : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ को मोरङमा सबैभन्दा बढी ७७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सोही अवधिमा पालिकामध्येमा विराटनगरमा ३९ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीमा ४८, झापामा ३०, धनकुटामा पाँच, खोटाङ र इलाममा दुई÷दुई, सङ्खुवासभा र पाँचथरमा एक÷एक तथा प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो । सो अवधिमा ७२५ जनाको पिसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ गरी कूल ३२२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेशमा आजै १५० महिलासहित २६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सोही अवधिमा दुई महिलासहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम ः ४१ सङ्क्रमणमुक्त, एकको मृत्यु

बैतडी– सुदूरपश्चिम प्रदेशमा आज थप २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट एक हजार ४४ जनाको नमूना परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैमा पिसीआर विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो ।

सेती प्रादेशिक अस्पतालमा १८ र डडेल्धुरा अस्पतालमा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर ४१ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामका २८ वर्षीय पुरुष छन् । यसअघि शुक्रबार यस प्रदेशमा ३४ जनामा सङ्क्रमण पुष्टि हुँदा सात जना निको भएका थिए ।

यो पनि – खाद्यान्न वितरण अभियान सम्पन्न

भक्तपुर, ९ असोज (रासस) : लकडाउनले खोसेको जागिर । परिवारमा आम्दानी शून्य । घरबेटीले भाडाका लागि गरेको सधैँको किचकिच । अनि खानेकुरा नभएर बालबालिका भोकै सुत्नुुको पीडा । सुन्नेको मन चसक्क हुन्छ, भोग्नेलाई कस्तो होला ?

विभिन्न जिल्लाबाट रोजगारीको सिलसिलामा आएका विपन्न मजदुर वर्गको कोरोनाकालको दैनिकी हो यो । मजदुर वर्गको यहीँ पीडालाई प्रत्यक्ष नियालेपछि दुखेको मनलाई शान्त पार्न निःशुल्क खाद्यान्न वितरणमा लागे सम्पदा संरक्षणकर्मी एवं सम्पदाविद् रवीन्द्र पुरी ।

“कोभिड–१९ को महामारी सुरु भएसँगै धेरैको रोजीरोटी खोसियो, अनि दैनिक ज्याला मजदुरी गर्न मोफसलबाट उपत्यका छिरेका धेरै मजदुर र तिनका कलिला लालाबालाको गाँस खोसियो,” सम्पदा संरक्षणको देशव्यापी अभियानमा खटिनुभएका भक्तपुर नागपोखरी निवासी आरपी फाउन्डेसनका अध्यक्ष रवीन्द्र पुरी भन्नुहुन्छ, “जब विपन्न मजदुरका बालबालिका भोकै सुतेको देखेँ, तब मेरो मन साह्रै दुख्यो, कहाली लाग्यो, अनि त्यसको भोलिपल्टदेखि नै सुरु गरे खाद्यान्न वितरण ।”

आरपी फाउन्डेसनको आयोजना तथा जर्मनको ‘सुलरहिल्फे फियुर नेपाल जर्मनी’ को सहयोगमा टफिल प्रोजेक्ट को खाद्यान्न वितरण कार्यक्रमअन्तर्गन २०७८ साल वैशाख १६ गतेदेखि सुरु गरेको खाद्यान्न वितरण अभियान पाँच महिनामा आज सम्पन्न भएको छ ।

फाउन्डेसनले वैशाख १६ गतेदेखि यहीँ असोजसम्मका लागि पाँचजनासम्मको परिवारलाई पुग्ने गरी २७० मजदुर परिवारलाई महिनाका दुईपटकका दरले चामल, दाल, नुन, चिउरा, तेल र चिनी वितरण गरेको फाउन्डेसनका अध्यक्ष पुरीले जानकारी दिनुभयो ।

भक्तपुरमा रोजगारीको खोजीमा रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सुन्धुलीलगायतका जिल्लाबाट आएका र भक्तपुरका स्थानीय गरिब मजदुर परिवारलाई खाद्यान्न राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो । एउटै घरको एउटा कोठामा कोही अघाउने, अर्को कोठामा कोही भोकै भएको अवस्था धेरै देखिएको बताउँदै उहाँले स्थानीय तहले वडावडामा फुड बैंक स्थापना गरे आरपी फाउन्डेसन खाद्यान्न सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ ।

गत वर्षको कोरोना महामारीको पहिलो लहरमा पनि आरपी फाउन्डेसनले भक्तपुरका अस्पताहरु, धुलिखेल अस्पताल र बाहिरी जिल्लाका केही अस्पताललाई पिपिई, मास्क र स्यानिटाइजर वितरण गर्दै स्थास्थ्यकर्मीको हौसला बढाएको थियो । पनौतीमा फुड बैंकलाई र अन्य संस्थालाई वितरणका लागि सयौँ बोरा चामल वितरण गरेको थियो ।

गत वर्ष कोरोना जोखिम कम गर्नका लागि करिब एक लाखभन्दा बढी व्यक्तिका लागि इम्यिुनिटी पावर बढाउने होमियोप्याथीको औषधि निःशुल्क वितरण गरेको थियो ।