बनेपा, ९ असोज (रासस) : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ अरनिको राजमार्गअन्तर्गत होटल अरनिको अगाडि टिपर र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार शुक्रबार राति बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको प्रदेश३–०२००७प ४०८८ नंको मोटरसाइकल धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा४ख ६२२० नंको टिपरसँग ठोक्किएर दुर्घटना भएको हो ।
घटनामा परी मोटरसाइकल चालक पाँचखाल नगरपालिका–११ का ३३ वर्षीय सुमन रेग्मी गम्भीर घाइते भई धुलिखेल अस्पतालमा उपचारका क्रममा आज मुत्यु भएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताउनुभयो । मृतक रेग्मीको शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रहरीले गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको छ ।\
यो पनि – सहरका विद्यार्थीले रोजे गाउँको विद्यालय
म्याग्दी, ९ असोज (रासस) : कास्कीको पोखरास्थित शीतलादेवी माविमा कक्षा आठ पढ्नु भएका अन्नपूर्ण गाउँपालिका–६ घारका नबराज बरुवाल प्रभा माविमै नौ कक्षा पढ्न आउनुभयो । उहाँ हाल इलेक्ट्रिकल इञ्जिनियरीङ पढ्दै हुनुहुन्छ । बरुवाल गाउँ नजिकैको विद्यालयमा आफूले रोजेको विषय पढ्न पाएकोमा खुसी हुनुहुन्छ ।“आफैँ स्वरोजगार बन्ने सीपसहितको व्यवहारिक शिक्षा पढ्न यहाँ आएको हुँ”, बरुवाल भन्नुहुन्छ, “गाउँमा भएर के भो र ? सहरको विद्यालयकै जस्तो सेवा सुविधा छ ।” बरुवालले जस्तै चितवनको भानु माविबाट कक्षा ६ उत्तीर्ण गर्नुभएका महर पुन कक्षा सात पढ्न म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित प्रभा माविमा भर्ना हुनुभएको छ । उहाँ पनि सहरको विद्यालय छाडेर गाउँमा पढ्न आउनुभएको हो ।
बरुवाल र पुन जस्तै सहर बजारका विद्यालय छाडेर ग्रामीण क्षेत्रको प्रभा माविमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । विद्यालयका सहायक प्रधानाध्यापक विष्णुप्रसाद पोखरेलका अनुसार ३०० मध्ये १०० विद्यार्थी अन्यत्रबाटै आएका छन् । “विद्यार्थी र बालमैत्री शिक्षण विधि, प्रविधिको प्रयोग, अङ्ग्रेजी माध्यम, प्रयोगात्मक शैलीमा र प्राविधिक विषयको पठनपाठन गराउन थालेपछि विद्यार्थीको चाप बढेको छ”, उहाँले भन्नुभयो, “तीन वर्षअघि १३५ विद्यार्थी थिए, हाल विद्यार्थी सङ्ख्या बढ्दै गएको छ ।”
बेनी, पोखरा, चितवन, काठमाडौँ, बागलुङ, कुश्मालगायत सहरी क्षेत्रका निजी र सामुदायिक विद्यालयका विद्यार्थी प्रभा माविमा पढ्न आउने गरेका छन् । प्रभा माविमा साधारणतर्फ बाल कक्षादेखि १२ र प्राविधिकतर्फ कक्षा नौदेखि १२ सम्म इलेक्ट्रिकल इञ्जिनियरीङ विषयको पढाइ हुन्छ । यहाँ कक्षा ६ सम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन गराइन्छ । विज्ञान र कम्प्युटर प्रयोगशाला र पुस्तकालय भएको उक्त विद्यालयको आधारभूत तहको कक्षामा शैक्षिक सामग्री प्रदर्शनी र नाचगान गरी पढाउने सिर्जनात्मक शैली अपनाइएको प्रधानाध्यापक भगवानबहादुर कार्कीले बताउनुभयो । “परीक्षा प्रणालीलाई परिवर्तन, अतिरिक्त क्रियाकलापमा जोड र अभिभावकसँग नियमित अन्तक्र्रिया गर्न थालेपछि सिकाइ उपलब्धिमा सुधार आएको छ”, उहाँले भन्नुभयो, “पछिल्लो शैक्षिक सत्रको औसत सिकाइ उपलब्धि ६२ प्रतिशत छ ।”
दश जलविद्युत् आयोजना सञ्चालन भएको नारच्याङमा गाउँमै रोजगारीको अवसर भएकाले स्वरोजगारमूलक इलेक्ट्रिकल विषयको अध्ययनमा विद्यार्थीको आकर्षण बढेको छ । अठ्ठाइसमध्ये अधिकांश शिक्षक कर्मचारी ३० वर्षभन्दा कम उमेर र स्नातकोत्तर उत्तीर्ण छन् । विद्यार्थीको चापसँगै विद्यालयमा नयाँ कक्षाकोठा, छात्रावास र चमेनागृह भवन निर्माण गरिएको छ । गाउँपालिका, प्रदेश र सङ्घीय सरकारका निकाय, नारच्याङमा निर्माणाधीन जलविद्युत् आयोजना, पूर्वविद्यार्थी र समुदायले विद्यालयको पूर्वाधार निर्माणमा सघाएका व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले बताउनुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइको रु लाख अनुदानमा चार÷चार कोठे दुई तथा रु ३२ लाखमा दुई कोठे भवन निर्माण गरिएको छ ।
यसअघि चार कोठा थप गर्न रु ३५ लाख र चमेनागृह बनाउन रु १५ लाख सहयोग गरेको नीलगिरिखोला जलविद्युत् आयोजनाको रु एक करोड सहयोगमा शिक्षक र विद्यार्थीका लागि छात्रावास हाल निर्माणाधीन छ । हालै निर्माण भएको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलविद्युत् आयोजनाले प्रभा माविका तीन निजी स्रोतका शिक्षकका लागि सात वर्षको तलबभत्ता उपलब्ध गराएको छ । व्यवस्थित खेलमैदान र घेराबार भएको उक्त विद्यालयमा पठनपाठनका लागि इन्टरनेटको प्रयोग गरिँदै आएको छ ।
शैक्षिक, भौतिक र शिक्षण सिकाइ क्रियाकलापमा सुधार गर्ने हो सामुदायिक विद्यालयले पनि विद्यार्थी र अभिभावकको मन जित्न सक्ने सन्देश प्रभा माविले दिएको अन्नपूर्ण गाउँपालिकाको शिक्षा शाखाका अधिकृत गणेशबहादुर कटुवाल बताउनुहुन्छ । “जिल्लाका अन्य विद्यालयले पनि प्रभा माविको सिको गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “अब परम्परागत ढङ्गले मात्रै पठनपाठन गरेर उपलब्धि हासिल हुन सक्दैन, समय र प्रविधिसँगै दौडिनु पर्छ, अनी सफलता र उद्देश्य पूरा हुन्छ ।”



प्रतिक्रिया