नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देव गुरुङले विकासको बाधक भ्रष्टाचार रहेकाले भ्रष्टाचारमुक्त नेपाल बनाउनुपर्नेमा जोड दिनुभएको छ । माओवादी केन्द्र शुक्ला गण्डकी नगरपालिका–१२ ले लामागाउँमा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचार नियन्त्रण गर्न सकिएमात्रै नेपालको विकास र समृद्धि सम्भव रहेको उल्लेख गर्नुभयो ।
भ्रष्टाचार र कमिशनले देश ध्वस्त भएको उल्लेख गर्दै गुरुङले भन्नुभयो, “भ्रष्टाचारले अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम भइरहेको छ, यसलाई न्यूनीकरण गर्नुपर्छ ।” हरेक कुरामा नेपाललाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी हुनुपर्ने टिप्पणी गर्नुभयो । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमान, केन्द्रीय सदस्य आशा कोइराला, शुक्लागण्डकी नगर कमिटीका सचिव मनराज गुरुङलगायतले माओवादी सङ्गठन सुदृढीकरण गर्दै आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने जिकिर गर्नुभयो ।
यो पनि -बागलुङमा नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटी गठन
बलेवा, ९ असोज (रासस) : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङको अध्यक्षमा लालबहादुर थापा सर्वसम्मत चयन हुनुभएको छ । बागलुङ बजारमा आज सम्पन्न भेलाले उहाँको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्ष केशर छन्त्याल चयन हुनुभएको छ । महिला उपाध्यक्षको पद खाली छ । सचिवमा भरत पुरी र उपसचिवमा चक्रबहादुर थापा चयन हुनुभएको निर्वाचन समितिका संयोजक श्रीप्रसाद शर्माले जानकारी दिनुभयो । जिल्ला भेला आयोजक कमिटीको संयोजक बन्नुभएका थापालाई भेलाले अध्यक्षमा निर्वाचित गरेको हो । भेलामा निर्वाचन समितिले प्रस्तुत गरेका सबै नामावली सर्वसम्मतरूपमा पारित भएका थिए ।
त्यस्तै भेलाले पार्टीका जनवर्गीय सङ्गठनमा नेतृत्व घोषणा गरेको छ । युवा सङ्घ बागलुङमा प्रदीप जिसी, पेशागत महासङ्घमा रीता राना र अखिल नेपाल महिला सङ्घ क्षेत्र नं १ मा सीता छन्त्याल थापाको नेतृत्वमा कमिटी घोषणा भएको हो ।
यो पनि – गाउँमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी
डोटी, ९ असोज (रासस) : जिल्लाको जोरायल गाउँपालिका–४ खैगाडमा वर्षौंपछि खानेपानी पुगेपछि यहाँका स्थानीयवासी निकै खुसी भएका छन् । गाउँपालिका, स्थानीयवासी तथा विदेशी दातृ निकाय युनिसेफको आर्थिक र प्राविधिक सहयोगमा उक्त वडामा सुरक्षित खानेपानी विस्तार गरिएसँगै गाउँमा खुसियाली छाएको हो । उक्त गाउँलाई एक कार्यक्रमबीच ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ गाउँका रुपमा घोषणा गरिएको हो ।
युनिसेफको रु ३६ लाख ३२ हजार ६४३.२०, जोरायल गाउँपालिकाको रु १६ लाख र रु १२ लाख ६ हजार ७९.३४ बराबरको स्थानीय जनश्रमदान गरी कूल रु ६४ लाख ३८ हजार ७२२.५४ को लागतमा खैगाडका एक सय चार घरधुरीमा खानेपानीका धारा निर्माण सम्पन्न भएको छ । उक्त वडा प्रदेशकै पहिलो ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा भएको युनिसेफ सुदूरपश्चिम प्रदेशका रमेश दाहालले जानकारी दिनुभयो । घरघरमा खानेपानीका धारा निर्माण गरिएपछि खैगाड गाउँका कम्तीमा पनि ६२४ जना नागरिक प्रत्यक्ष लाभान्वित भएको खैगाड खानेपानी उपभोक्ता समितिका अध्यक्ष भजनसिंह मडैले बताउनुभयो । खानेपानी विस्तारसँगै खैगाडमा विद्युत विस्तारका लागि पहल गरिनुपर्ने स्थानीयवासीले माग गरेका छन् ।
खैगाड क्षेत्रमा मोबाइल नेटवर्क कमजोर भएकाले टावर जडान गर्न नेपाल टेलिकमको कार्यालय अत्तरियासँग पहल भइरहेको वडाध्यक्ष दिनेशकुमार मल्लले बताउनुभयो ।



प्रतिक्रिया