फोटो पत्रकार क्लबको अध्यक्षमा श्रेष्ठ

फोटो पत्रकार क्लबको अध्यक्षमा श्रेष्ठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फोटो पत्रकारको छाता संस्था फोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ चयन हुनुभएको छ । क्लबको आज सम्पन्न ११औँ साधारणसभाले श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको हो । क्लबको उपाध्यक्षमा नेपाल रिपब्लिक मिडियाका दिपेश श्रेष्ठ, महासचिवमा कान्तिपुर पब्लिकेशनका प्रकाशचन्द्र तिमिल्सिना, कोषाध्यक्षमा राजधानी दैनिकका द्वारिकाप्रसाद काफ्ले, सचिवमा नयाँ पत्रिका दैनिकका अमूल थापा र प्रवक्तामा गोरखापत्र दैनिकका विकास द्वारे निर्विरोध निर्वाचित हुनुभएको छ ।

सदस्यमा कान्तिपुरका अङ्गद ढकाल, सेतोपाटी अनलाइनकी निशा भण्डारी, देशसञ्चार अनलाइनकी वर्षा शाह, दि हिमालय टाइम्सका स्कन्द गौतम, अन्नपूर्ण पोष्टका दिपेन श्रेष्ठ र स्वतन्त्र फोटो पत्रकार लक्ष्मीप्रसाद ङाखुशी चयन हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालयमा आयोजित साधारणसभामा निर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्वाचन समितिका संयोजक एवं अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासङ्घका कोषाध्यक्ष निरञ्जन राजवंशी, फोटो पत्रकार नरेन्द्र श्रेष्ठ, किरण पाण्डे, भास्वर ओझा तथा क्लबका पूर्वअध्यक्ष प्रकाश माथेमाले प्रमाणपत्र प्रदान गर्नुभयो ।

यो पनि – मोतीशोभाका चार लघुउपन्यास एकैसाथ लोकार्पित

काठमाडौँ, ९ असोज (रासस) : मोतीशोभा श्रेष्ठद्वारा लिखित चार लघुउपन्यास ‘प्रकृति’, ‘सम्झनाको डायरी’, ‘सत्य र आमा’ र ‘आँशु’ एकसाथ लोकार्पण गरिएको छ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पुस्तकको लोकार्पण गर्दै महिलालाई प्रमुख पात्र बनाएर तयार पारिएका उपन्यासलाई पाठकले रुचिका साथ पढ्नेमा आफू आशावादी रहेको बताउनुभयो ।

उहाँले महिलाले समाजमा पु¥याएको योगदानलाई पुस्तकमा उतारिएकाले वैदेशिक रोजगारी, बालश्रम, पारिवारिक हिंसाजस्ता समाजिक समस्यालाई पनि औँल्याउनाले पुस्तक पठनीय बन्न पुगेको बताउनुभयो । उहाँले साहित्यले समाजको यथार्थ चित्रण गर्ने हुँदा यसको महत्व सबैले बुझ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कवि, गीतकार तथा पूर्वसचिव कालिप्रसाद रिजाल, साहित्यकार तथा पूर्वअर्थमन्त्री शङ्कर कोइराला, सहित्यकार तथा चलचित्र निर्देशक यादव खरेल, कला समालोचक धुव्र मधिकर्मीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

पुस्तकका लेखक श्रेष्ठले पितृसत्तात्मक नेपाली समाजमा महिलालाई हेर्ने, बुझ्ने र महसुस गर्ने तरिका तथा जीवनका भोगाइ एवं अनुभवका बारेमा लेखिएको बताउनुभयो । उहाँले प्रकृति प्रेम, समाजिक रीतिरिवाज, संस्कृति, पारिवारिक सम्बन्ध र मित्रताका कुरा पनि कृतिमा समावेश गरिएको जानकारी दिनुभयो ।

अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएकी लेखक श्रेष्ठ नेपाल सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालयको सहसचिव पदबाट अवकाशप्राप्त हुनुहुन्छ । उहाँ गोर्खा दक्षिणबाहु (चौथो), शुभराज्याभिषेक पदक, जनपदसेवा पदक तथा दीर्घसेवा पदकबाट विभूषित हुनुहुन्छ । उहाँको यसअघि ‘नेपालमा घरेलु उद्योगको विकास’ पुस्तक प्रकाशित छ ।

यो पनि – प्रदेश नं १ मा ३२२ मा कोरोना सङक्रमण

विराटनगर, ९ असोज (रासस) : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ को मोरङमा सबैभन्दा बढी ७७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सोही अवधिमा पालिकामध्येमा विराटनगरमा ३९ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीमा ४८, झापामा ३०, धनकुटामा पाँच, खोटाङ र इलाममा दुई÷दुई, सङ्खुवासभा र पाँचथरमा एक÷एक तथा प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो । सो अवधिमा ७२५ जनाको पिसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ गरी कूल ३२२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आजै १५० महिलासहित २६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सोही अवधिमा दुई महिलासहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम ः ४१ सङ्क्रमणमुक्त, एकको मृत्यु

बैतडी– सुदूरपश्चिम प्रदेशमा आज थप २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट एक हजार ४४ जनाको नमूना परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैमा पिसीआर विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो ।

सेती प्रादेशिक अस्पतालमा १८ र डडेल्धुरा अस्पतालमा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर ४१ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामका २८ वर्षीय पुरुष छन् । यसअघि शुक्रबार यस प्रदेशमा ३४ जनामा सङ्क्रमण पुष्टि हुँदा सात जना निको भएका थिए ।