पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ तिलकथान उद्यान पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । गाउँपालिकाको लगानीमा भौतिक संरचनाको निर्माण थालिएसँगै आन्तरिक पर्यटक आकर्षित हुन थालेका हुन् । सो उद्यानबाट हिमालय तथा तराईका सुन्दर फाँटहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । गाउँपालिकाले पोखरी, प्रतिक्षालय र बालबालिकालाई खेल्न पिङ, पैदलमार्ग, रेलिङ, तिलकथान मन्दिर, भवनलगायतका संरचनाले आन्तरिक पर्यटकलाई लोभ्याएको हो । स्थानीय बासिन्दा भुवन रायमाझीले अग्लो डाँडाबाट अन्य स्थान अवलोकन तथा घुमफिरका गर्न रुचाउनेका कारण अहिले यस क्षेत्र चहलपहल बढेको बताउनुभयो ।
जिल्लाको पश्चिम क्षेत्रमा हेर्नलायकको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा उद्यानलाई विकास गरिएको छहरा –४ वडाध्यक्ष विष्णु पोखरेलले जानकारीदिनुभयो । उद्यान गर्मीमा शीतल, जाडोमा घमाइलो तथा वनभोजका निम्ति उपयुक्त रहेको बताइएको छ । पछिल्लो समय कोरोना सङ्क्रमणले गर्दा आन्तरिक पर्यटकमा कमी देखिएको छ । आन्तरिक पर्यटकको चहलपहल ल्याउन प्रचारमुखी कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको नगरप्रवक्ता समेत रहनुभएका पोखरेलले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षेत्रीले तिलकथान उद्यानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थप बजेटको व्यवस्था भएको जानकारीदिनुभयो । दुई वर्षदेखि तिलकथानको विकासका लागि बजेट खर्चिएको छ । चालु आर्थिक वर्ष पार्कलाई तारबारले घेर्ने योजना छ । उहाँका अनुसार गाउँपालिकाले धार्मिक तथा पर्यटकीय महत्व बोकेका रैनादेवी, बल्ढगढी देवी, कालिका मन्दिरलाई थप विकास गर्न अध्ययन गरी काम अघि बढाएको छ ।
गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले रैनादेवी छहरा गाउँपालिकालाई धार्मिक तथा कृषि पर्यटन क्षेत्रका रूपमा विकास गर्ने योजनाअनुसार काम भएको बताउनुभयो । गाउँपालिकाभित्र तरकारी, सुन्तला, कफी उत्पादनमा पाल्पामा नै अगाडि रहेको र तरकारी तथा सुन्तला रु करोडभन्दा बढीको निकासी हुँदै आएको उहाँले जानकारी दिनुभयो । लुम्बिनी–बल्ढेङगढी सडकलाई कालोपत्र गर्ने काम गाउँपालिकाले सुरु गरेको छ । यसले लुम्बिनी भ्रमणका लागि आउने पर्यटकलाई पहाड ल्याउन सहज हुने अध्यक्ष कार्कीले बताउनुभयो ।
यो पनि – अझै पाएनन् मुक्त कमलरीले परिचयपत्र
सरकारले कमलरी प्रथा मुक्त घोषणा भएको आठ वर्ष बितिसक्दा पनि मुक्त कमलरीले सरकारी परिचयपत्र पाउन सकेका छैनन् । परिचयपत्र पाउन नसक्दा उनीहरु विभिन्न सरकारी सेवासुविधाबाट बञ्चित हुनुपरेको बताइएको छ । सरकारले विसं २०७० असार १३ गते मुक्त कमलरी घोषणा गरेको थियो । अहिलेसम्म पनि आधा बढी मुक्त कमलरीले परिचयपत्र पाउन नसकेको मुक्त कमलरी विकास मञ्च कैलालीको अध्यक्ष बिन्द्रा चौधरीले जानकारी दिनुभयो । पछिल्लो समय कमलरीको जीवनस्तरमा परिर्वतन आउन नसकेको बताइएको छ । अहिले पनि गाँस, बास, कपाससँगै शिक्षा, स्वास्थ्यलगायतका अन्य आधारभूत आवश्यकताबाट बञ्चित हुनुपर्ने अवस्था रहेको उहाँले जानकारीदिनुभयो ।
सरकारले १ देखि ८ कक्षासम्म अध्ययनरत मुक्त कमलरीलाई मासिक रु १५० एवं ९ र १० कक्षामा पढिरहेकालाई रु १८० दिँदै आएको छ । साथै १२ कक्षासम्म अध्ययन गर्ने छात्रालाई छात्रवृत्ति दिने गरेको छ । सो कक्षाभन्दा माथि अध्ययन मुक्त कमलरीलाई छात्रवृत्ति दिने गरेको छैन । अर्थावस्था कमजोर भएकै कारण १२ पास गरेर माथिल्लो तह अध्ययन गर्न नसकेको जनाइएको छ । उच्च शिक्षा अध्ययनका लागिसमेत राज्यले मुक्त कमलरीलाई सहयोग गर्नुपर्ने अध्यक्ष चौधरीको भनाइ छ ।
कैलालीमा चार हजार ७४ मध्ये दुई हजार ५०० मुक्त कमलरीले मात्र सरकारी परिचयपत्र पाएको मञ्चले जनाएको छ । सो जिल्लामा अझै एक हजार ५७४ जनाले परिचयपत्र पाउन बाँकी छ । छुट कमलरीको परिचपपत्रका लागि आफूहरु लागे पनि सरकारले कुनै सुनुवाइ नगरेको उहाँको गुनासो छ ।
मञ्च केन्द्रीय कार्यालय दाङका अनुसार हाल दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा गरी सात हजार ८३५ मुक्त कमलरीले परिचयपत्र प्राप्त गर्न सकेका छैनन् । यी पाँच जिल्लामा उनीहरुको सङ्ख्या १२ हजार ७६९ छ । ती दाङमा दुई हजार १६०, बाँकेमा ३४३, बर्दियामा दुई हजार ९५३, कैलालीमा एक हजार ५७४ र कञ्चनपुरमा ८०५ गरी झण्डै आठ हजार बढी मुक्त कमलरीले परिचयपत्र पाउन नसकेको मञ्चले जनाएको छ ।
यो पनि – हाजिरीजवाफ प्रतियोगिताको उपाधि युलियन्सलाई
अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि युलियन्स स्कुल ललितपुरले हात पारेको छ । लियो क्लब अफ काठमाडौँ समर्पणद्वारा शनिबार यहाँ आयोजित सो प्रतियोगितामा ११ विद्यालयले भाग लिएका थिए । प्रतियोगितामा केन्द्रीय विद्यालय द्वितीय, राजश्री गुरुकुल तृतीय र राई स्कुलले सान्त्वना पुरस्कार हात पारेका हुन् । प्रथम भएसँगै युलियन्सले रु २८ हजार र केन्द्रीय विद्यालयले रु १५ हजार बराबरको उपहार र प्रमाणपत्र पाएको छ । प्रतियोगिताका तृतीय र चौथो टोलीलाई प्रमाणपत्र र ‘टोकन अफ लभ’ प्रदान गरिएको छ ।
प्रतियोगितामा कक्षा ९ देखि १२ मा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको क्लबका अध्यक्ष प्रियान्सु जलानले जानकारी दिनुभयो । प्राडा महेन्द्रप्रसाद सिंह, लायन्स क्लब अफ काठमाडौँ समर्पणका अध्यक्ष लभेन्द्र मल्ल र लायन्स क्लबका मल्टिपल काउन्सिल चियरपर्सन मानबहादुर रोकाले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो ।
सन् २०२१ को सेप्टेम्बरमा स्थापना भएको लियो क्लब अफ काठमाडौँ समर्पणले कोभिड–१९ को समयमा ३०० भन्दा धेरै व्यक्तिलाई निःशुल्क खाना खुवाउनुका साथै रक्तदान र लत्ताकपडा सहयोगलगायतका काम गरेको क्लबका पूर्वअध्यक्ष सिद्धान्त अग्रवालले जानकारी दिनुभयो ।



प्रतिक्रिया