पोखरीमा डुबेर पाँच दिनमा छ जनाको मृत्यु

पोखरीमा डुबेर पाँच दिनमा छ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यहाँ पोखरीमा डुबेर पाँच दिनको अवधिमा छ जनाको मृत्यु भएको छ । प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी शोकाकुल र चिन्तित भएका छन् ।
शम्भुनाथ नगरपालिका–१२ अर्नाहा टोल बस्ने महानन्द सरदारका छोरा दुई वर्षीय रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृत्यु भयो । घर पछाडि रहेको पोखरीमा डुबी बेहोस भएका उनलाई उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ । आज शव परीक्षण गरी अन्य थप अनुसन्धान कार्य गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

यसअघि शुक्रबार विष्णुपुर गाउँपालिका–५ मा खेलिरहेका आजाद अलीका तीन वर्षीय छोरा रहमतको पोखरीमा डुबेर मृत्यु भएको थियो । महदेवा गाउँपालिका–२ अकबरपुरकी रामचरित्र मण्डलकी पाँच वर्षीया छोरी शिवानीको बुधबार नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीको तथ्याङ्कमा छ । महदेवा गाउँपालिका–४ परसाहीस्थित सार्वजनिक पोखरीमा मङ्गलबारसमेत भाँडा पखाल्न गएका बेला अमृत सदाकी छोरी ३० वर्षीया अविवाहिता लक्षनकुमारीको डुबेर मृत्यु भयो । सोही दिन खड्ग नगरपालिका–८ मुसहरनियामा रहेको आफ्नै पोखरीमा राजेशकुमार चौधरीकी छोरी तीन वर्षीया एलिजाकुमारी डुबिरहेको अवस्थामा मृत फेला परिन् । सोही दिन तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाकी भतो मन्सुरीकी छोरी १२ वर्षीया सवाना खातुनको नहरमा कपडा धुने क्रममा डुबेर मृत्यु भयो ।

योसमेत आव २०७८÷०७९ मा जिल्लामा पोखरीमा डुबेर मृत्यु हुनेको सङ्ख्या १५ पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सात बालक, चार बालिका, दुई पुरुष र दुई महिला छन् ।

यो पनि- विपन्न बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहरा क्लबले सहारा घरमा आश्रित विपन्न बालबालिकाका लागि खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।
क्लबले शनिबार चितवनको भरतपुर –१२ नौरङ्गीस्थित अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र (सहाराको घर) मा शैक्षिक सामग्री तथा खाद्यान्न सहयोग गरेको हो । सहाराको घरमा रहेका १८ बालबालिकालाई चामल, दाल, चिउरा, तेललगायत खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष लायन शक्ति श्रेष्ठले जानकारी दिनुभयो ।

राजधानी काठमाडौँमा स्थापित लायन्स हेरिटेज धरहरा क्लबले विश्व महामारी कोभिड–१९ सङ्क्रमणको जोखिममा समेत विभिन्न अस्पताल तथा आइसोलेशनमा रहेका कोरोनाका बिरामीलाई खाद्यान्न तथा लत्ताकपडा तथा आर्थिक सहयोग गर्दै आएको छ । विसं २०६९ मा एक जना अनाथ बालबालिका संरक्षण गरेर सुरु गरेको सहारा घरमा हाल चार वर्षदेखि १८ वर्ष उमेरका १८ जना बालबालिका संरक्षित रहेको सहारा घरकी अध्यक्ष कुसुम तिवारी (सहारा) ले जानकारी दिनुभयो ।

विदेशमा बसेका केही नेपाली तथा सामाजिक सङ्घसंस्थाको सहयोगमा चलिरहेको सहारा घरमा लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहराले अतिआवश्यकरुपमा रहेको कम्युटर तथा बालिकाले प्रयोग गर्ने सेनिटरी प्याडलगायत शैक्षिक सामग्री कापी, कलम, विद्यालय झोला सहयोग गर्दा राहत भएको अध्यक्ष तिवारीले बताउनुभयो ।

यो पनि – भौतिक उपस्थितिमा परीक्षा सञ्चालन

भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालिक संस्थागत तथा सरकारी विद्यालयमा आजदेखि सुरु परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्न दिने निर्णय गरेको छ । नगरपालिकाको शैक्षिक क्यालेण्डरअनुसार परीक्षा आजदेखि हुने भएकाले विद्यालयलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७’ अनुसार नगरभित्रका सबै शैक्षिक संस्थामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न दिने निर्णय गरिएको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

कोभिड–१९ को सङ्क्रमणका कारण उत्पन्न परिस्थितिमा शैक्षिक संस्था सञ्चालन गर्दा कक्षाकोठाको क्षमताका आधारमा भौतिक दूरी कायम हुनेगरी विद्यार्थीको बसाइ व्यवस्थापन गर्ने, विद्यालयमा विद्यार्थीको सम्पर्कमा रहने शिक्षक, कर्मचारी, चालक, सहचालकलगायत सबैले खोप लगाएको सुनिश्चित गर्ने र खोप लगाउन बाँकी भए नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउने व्यवस्था गर्नुपर्ने निर्देशनसहित नगरपालिकाले विद्यालयमा परिपत्र गरेको छ ।

विद्यालय सञ्चालनपूर्व विद्यालय परिसर र कक्षाकोठाको पूर्ण सरसफाइ तथा निर्मलीकरणको सुनिश्चितता गर्ने, विद्यालयको भौतिक अवस्था, विद्यार्थी सङ्ख्या र उपलब्ध जनशक्तिका आधारमा एकै सिफ्ट वा फरकफरक सिफ्टमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने र विद्यालयको गेटमा र कक्षा कोठा बाहिर सेनिटाइजर वा साबुन पानीको प्रबन्ध गरी बेलाबेलामा हात सेनिटाइज गर्ने वा धुने व्यवस्था मिलाउने, विद्यालयको प्रवेशद्वार, कक्षाकोठा र शौचालयको प्रयोग गर्दा विद्यार्थी लाइनमा पालैपालो दूरी कायम गरी निस्कने तथा पस्ने प्रबन्ध मिलाउने र सबै जनाले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाको टोलीले यसको अनुगमनसमेत गर्ने भएको छ ।

यो पनि -वडा कार्यालयको शौचालयमा शव

बूढानीलकण्ठ नगरपालिका– ८स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार–‘शवको पहिचान हुनसकेको छैन । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन् । प्रहरीले घटनास्थलमा आएर लास जाँच गरिरहको छ ।शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताउनुभयो ।