अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा टिकट काउन्टर थप

अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा टिकट काउन्टर थप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । सरकारले भोलिदेखि दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ थप गरेको हो ।

प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थप गरेको राससलाई जानकारी दिनुभयो । नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ । काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित विष्णुमती किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले अग्रिम टिकट बुकिङको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । उहाँले सोमबार बिहान ७ बजेदेखि टिकट बुकिङ सुरु गरिने बताउनुभयो । “म अग्रिम टिकट लिने यात्रुलाई टिकट लिएपछि आफू जाने गन्तव्यस्थल, बस नम्बर, मिति र समय पहिचान गरेर बस्न आग्रह गर्दछु,” महासचिव सिटौलाले भन्नुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्नेछ ।

यो पनि – टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जनकपुरधामको पिडारी चोकमा आज साँझ एक टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आनन्दकिशोर दास नामका भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार जनकपुरबाट ढल्केबरतर्फ जान लागेको ना७ख ४७४८ नंको टिप्पर विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करले ठक्कर दिएपछि मोटरसाइकल चालकको टाउकामा चोट लागेर गम्भीर घाइते भएको थियो । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याएको तर सोही क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनापश्चात् आक्रोशित स्थानीयवासीले टिप्परमा आगजनी गरेका छन् । आगजनीबाट टिप्पर पूर्ण रुपमा जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । आगजनीपछि प्रहरी प्रशासनले भीडलाई नियन्त्रण गर्दै वारुण यन्त्रको सहायताले आगो निभाएको थियो ।