उद्योग सङ्गठनले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण– २०७८ सुरुआत गरेको छ ।सबै औद्योगिक प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरी ‘डाटाबेस’ तयार गर्ने लक्ष्यका आइतबारदेखि सर्वेक्षण सुरु भएको हो । सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले एक पटक तथ्याङ्क सङ्कलन तयार गरेपछि नियमितरुपमा अद्यावधिक गरिने योजना रहेको जानकारी दिनुभयो ।
सङ्गठनले सञ्चालन गरेको औद्योगिक सर्वेक्षणले सुनसरी र मोरङ गरी सङ्गठनका सदस्य औद्योगिक प्रतिष्ठानको सबै र बाँकी अन्य उद्योगको समेत तथ्याङ्क सङ्कलन गरिने कार्यक्रम रहेको सङ्गठनका महानिर्देशक चूडामणि भट्टराईले बताउनुभयो । उहाँका अनुसार उद्योगका विविध आयाम समेटिएका करिब १०० प्रश्न लिएर पाँच गणक तथ्याङ्क सङ्कलनका लागि सबै उद्योग प्रतिष्ठान पुग्ने छन् । सङ्गठनले तथ्याङ्कको गुणस्तरीयतालाई मध्यनजर गर्दै गणकका लागि दुई दिनको तालिमसमेत सञ्चालन गरेको थियो । उहाँका अनुसार गणकले मोबाइल एपबाट तथ्याङ्क सङ्कलन गर्ने छन् र यसरी सङ्कलन गरिएको तथ्याङ्कको गुणस्तरीयता अनलाइनबाटै अनुगमन गर्न सकिने छ ।
फ्याक्ट्स नेपाल नामक परामर्शदाता कम्पनीसँगको सहकार्यमा सञ्चालन गरिएको सर्वेक्षणको तथ्याङ्क सङ्कलनको काम यही महिनाभित्रमा सक्ने र मङ्सिरको पहिलो सातासम्ममा सर्वेक्षण प्रतिवेदन तयार हुने जनाइएको छ । सङ्गठनले तथ्याङ्क सङ्कलनका लागि खटिआउने सङ्गठनका प्रतिनिधिलाई आफ्नो उद्योग व्यवसायसँग सम्बन्धित यथार्थपरक सूचना एवं तथ्याङ्क उपलब्ध गराई संगठनको औद्योगिक तथ्याङ्क र डाटाबेस तयार गर्ने अभियानलाई सहयोग गर्न उद्योग प्रतिष्ठान एवं सरोकारवाला सबैमा आग्रह गरेको छ ।
यो पनि – झापाका १५ पालिकामा नेतृत्व चयन
नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत यहाँका १५ वटै पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । चार पालिकामा निर्विरोध र ११ मा आइतबार मतदानबाट कार्यसमिति चयन भएको हो । मेचीनगरमा सुवेशकुमार पनेरु, विर्तामोडमा भोजराज सिटौला, अर्जुनधारामा हेमराज खरेल, कनकाईमा दुर्गा प्रसाई, भद्रपुरमा रामबहादुर कँडेल, गौरादहमा यादवराज सेढाई, शिवसताक्षी नगरपालिकामा अशोक बस्नेत निर्वाचित हुनु भएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाह्रदशीमा इन्द्र बस्नेत, गौरीगञ्जमा अग्नु राजवंशी, विर्तामोडमा भोजराज सिटौला सभापतिमा निर्वाचित भएका छन् । कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने र खगेन भण्डारीले ६५÷६५ मत ल्याएर बराबरी भएका छन् । उहाँहरु मध्ये पहिलो आधा कार्यकालको सभापतिको नेतृत्व बुद्धिराज न्यौपाने र बाँकी कार्यकालको नेतृत्व खगेन भण्डारीले सम्हाल्ने सहमति भएको सभापति थापाले जानकारी दिनुभयो । यसअघि नै कचनकवलमा तुलाराम अधिकारी, बुद्धशान्तिमा चक्र शेर्मा, हल्दिबारीमा गंगा प्रसाई र झापा गाउँपालिका सागीरथ गणेशलाई सभापतिमा निर्विरोध चयन हुनुभएको थियो ।
यो पनि – ताप्लेजुङका सबै पालिकामा कांग्रेसको नेतृत्व चयन
नेपाली कांग्रेसले जिल्लाका सबै पालिकामा नेतृत्व चयन गरेको छ । एक नगरपालिकासहित नौ स्थानीय तहमा निर्वाचन र अन्यमा सहमतिमा नेतृत्व चयन गरेको हो ।
फुङलिङ नगरपालिकामा सुरेस सिङ्घक सभापतिमा निर्वाचित हुनुभएको कांग्रेस जिल्ला कार्यसमितिले जनाएको छ । यसैगरी सिरिजङ्घामा लालकृष्ण चौहान, सिदिङ्वामा प्रदीप राई, मिक्वाखोलामा पञ्च थलङ र मेरिङ्देन गाउँपालिकामा जयबहादुर खड्का सभापतिमा निर्वाचित हुनुभएको छ ।
यस्तै पाथीभरा याङ्वरकमा राम थेबे, आठराई त्रिवेणीमा विश्व सिटौला, फक्ताङलुङमा भद्र बोखिम र मैवाखोला गाउँपालिकामा खगेन्द्र थक्लुङ सभापतिमा चयन हुनुभएको छ । फुङलिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकामा भने समय अभावलगायतका कारण आइतबार मात्रै निर्वाचन भएको थियो ।



प्रतिक्रिया