ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले दशौँ हजार शहीदको योगदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिकका मूल्य मान्यतालाई समृद्ध बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । ललितपुरको महालक्ष्मी नपा–६ सिद्धिपुरमा निर्माण गरिएको समाजसेवी तथा किसान नेता अष्टमान महर्जन र चन्द्रबहादुर महर्जनको स्मृतिमा स्थापित सालिक अनावरण गर्दै उहाँले जनताको अधिकारलाई संरक्षरण गरेर अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो । मन्त्री भुसालले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक व्यवस्थाको रक्षा गर्दै थप अधिकारका निम्ति निरन्तर ढङ्गले अगाडि बढ्न चाहन्छौँ ।”

जनप्रतिनिधि र क्रान्तिकारी पार्टीको जिम्मेवार व्यक्तिका रूपमा आफू र आफ्नो पदीय दायित्वबाट जिम्मेवारी पूरा गर्ने दृढता व्यक्त गर्दै उहाँले अष्टमान र चन्द्रबहादुरले जनताको पक्षमा निर्वाह गरेको भूमिकालाई निरन्तर स्मरण गर्ने बताउनुभयो । निरङ्कुश राजतन्त्रको समयमा पनि गरिब, उत्पीडित जनता र राष्ट्रको पक्षमा क्रान्तिकारी कम्युनिष्ट पार्टीमा आबद्ध हुने अग्रगामी नेताका रूपमा स्थापित अष्टमान र चन्द्रबहादुर सिङ्गो कम्युनिष्ट आन्दोलनका साहसी योद्धा भएको स्मरण गर्दै मन्त्री भुसालले भन्नुभयो, “अष्टमान र चन्द्रबहादुरसहित लाखौँ बेपत्ता र शहीदको योगदानले जनताको संविधान लेख्न सफल भएको हो । उहाँसहित दशौँ हजार शहीदलाई पार्टीले सम्झिरहन्छ ।”
पछिल्लो समयमा जनताका अधिकारलाई घुमाइफिइराइ प्रतिगमनतर्फ लैजाने हर हर्कत पराजित गर्ने विश्वास व्यक्त गर्दै जनताकै बीचमा रहने जनविरोधलाई चिन्न सक्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा ललितपुरबाट प्रदेश एवं स्थानीय निर्वाचित जनप्रतिनिधिसहित विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति थियो ।
यो पनि – पर्वतीय पर्यटनको प्रवद्र्धनमा पर्वतारोहण सङ्घको सहयोग महत्वपूर्ण : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल पर्वतारोहण सङ्घले मुलुकको पर्वतीय पर्यटनको विकास र प्रवद्र्धनमा सरकारलाई महत्वपूर्ण सहयोग पुर्याएको बताउनुभएको छ । सङ्घको नवनिर्मित भवनको उद्घाटन तथा ४२ औँ विश्व पर्यटन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले हिमाल आरोहणसँग सम्बन्धित विभिन्न कार्यहरु तालिम, हिमालको सरसफाई, विपद्मा उद्धार र खोज, अपाङ्गता भएकाको औषधोपचारलगायत कार्यमा सङ्घले गर्दै आएको कार्यको प्रशंसा गर्नुभयो ।
विभिन्न २७ हिमालको कर व्यवस्थापनलगायतको कार्य पनि गर्दै आएको सङ्घले पर्वतीय पर्यटनको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार गर्ने काममा सरकारसँगको सहकार्यका लागि प्रधानमन्त्री देउवाले धन्यवादसमेत दिनुभयो । उहाँले भन्नुभयो, “कोभिड–१९ बाट प्रभावित भएको पर्यटन क्षेत्रलाई उत्थान गर्न सरकारले योजना अघि बढाएको छ । मुलुकको अर्थतन्त्रमा टेवा पुर्याएको पर्यटन क्षेत्र कोभिड–१९ कारण सुस्ताएको हुँदा यस क्षेत्रलाई पुनःस्थापना गर्नका लागि हालै सरकारले नेपाल प्रवेश गर्ने पर्यटकका लागि स्वास्थ्य मापदण्डमा सहजीकरण गरेको छ ।”
सो अवसरमा उहाँले रु आठ करोड २५ लाखको लागतमा सङ्घको नवनिर्मित साढे छ तले भवनको शिलान्यास गर्नुका साथै सङ्घले तयार गरेको ४६७ हिमालको प्रोफाइलसहितको नयाँ वेबसाइटको उद्घाटनसमेत गर्नुभएको थियो । यसले नेपालको पर्वतीय पर्यटनको विकासमा महत्वपूर्ण टेवा पुग्ने उहाँको विश्वास थियो । नेपालको हिमाल आरोहणमा चासो राख्नेका लागि प्रोफाइल महत्वपूर्ण हुने बताउँदै उहाँले यसकोे निरन्तर अद्यावधिक गर्न आग्रह गर्नुका साथै यसमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पर्वतीय पर्यटनका लागि सङ्घले पुर्याउँदै आएको सहयोग महत्वपूर्ण भएको बताउनुभयो । उहाँले कोभिड–१९ ले थला परेको पर्यटन क्षेत्रको उत्थानका लागि सरकारले कर छुट, विभिन्न सहुलियत तथा अनुदानका कार्यक्रममा अघि बढाएको उल्लेख गर्दै पर्यटन क्षेत्रको दिगो विकासका लागि सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने बताउनुभयो ।
सङ्घका अध्यक्ष सन्तवीर लामाले पर्वतीय पर्यटन प्रवद्र्धनका लागि सङ्घले गर्दै आएका विभिन्न कामका बारेमा अवगत गराउँदै यस क्षेत्रका नीति र विधि सरकारको परिवर्तनसँगै नफेरिने गरी अघि योजना अघि बढाउन सरकारसँग आग्रह गर्नुभयो । साथै उहाँले पर्वतारोहीहरुले बुढेसकालमा दुःख पाउने गरेको बताउँदै यसको समाधानका लागि हिमाल आरोहणको करबाट बास्केट फण्ड बनाइदिन सरकारसँग आग्रह गर्नुभयो ।



प्रतिक्रिया