जुम्लामा चट्याङले ४० वटा भेडा मरे

जुम्लामा चट्याङले ४० वटा भेडा मरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्लाको गोठीचौर गाउँपालिकाको पाटनमा सोमबार राति चट्याङ लागेर भेडाबाख्रा मरेका छन् । चट्याङ लागेर ४० भेडा मरेका छन् भने १५ भेडा घाइते भएको सो गाउँपालिकाका स्थानीयवासी रामप्रकाश विकले बताउनुभयो ।  सो गाउँपालिका– ४ स्थित सामुदायिक वनअन्तर्गत चिमारा लेक नजिकै डाब भन्ने ठाउँमा चट्याङ लागेर सोही वडाका नानो भण्डारीका १० भेडा मरेको दुई घाइते, मुनबहादुर भण्डारीका चार मृत्यु दुई घाइते, मुणिप्रसाद अधिकारीका १७ मरेको सात घाइते र देवीप्रसाद अधिकारीको नौ मृत्यु, चार घाइते भएको इलाका प्रहरी कर्यालय गुठीचौरका इञ्चार्ज कमल श्रेष्ठले बताउनुभयो । चट्याङ लागेर भेडाबाख्रा मरेपछि करिब ६ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

पाटन क्षेत्रमा परेको चट्याङबाट भेडापालक किसानको पुख्र्यौली पेशालाई नै निकै प्रभावित बनाएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मराज गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो क्षेत्रको अधिकांश स्थानीयको मुख्य आम्दानीको स्रोत भनेकै भेडापालन हो ।” भेडापालक किसानलाई राहतका लागि गाउँपालिकामा छलफल गरेर मात्र राहतको कुरा अघि बढ्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत गिरीले बताउनुभयो ।

भेडा मरेपछि व्यावसायिक रूपमा भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउन मुश्किल पर्ने गुठीचौर गाउँपालिकाका स्थानीयवासी बताउँछन् । ठूलो मात्रमा क्षति भएपछि भेडापालक किसानले राहतको माग गरेका छन् । जुम्लामा विसं २०७० मा निरन्तर परेको असिनापानी र हावाहुरीले करिब ७०० भेडाबाख्रा मरेका थिए भने विसं २०७७ मा ५०० भेडा मरेको तथ्याङ्क रहेको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ ।

यो पनि – भारतीय गाडीकोे ठक्करले मोटरसाइकल चालकको मृत्यु

अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको सल्लाघारी चोकमा भारतीय आरजे ०२ जिबि १०१७ नम्बर प्लेटको गाडीले प्रदेश ३–०२–००८ प २५०१ नंको मोटरसाइकललाई ठक्कर दिँदा आज मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सूर्यविनायक नगरपालिका–३ बालकोटका ४५ वर्षीय गणेश रजौरा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकृत दीपक गिरीले जानकारी दिनुभयो । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार मध्यपुरथिमि नगरपालिका–३ कौशलटार बस्ने २८ वर्षीय अमृत सिलवालको भक्तपुर अस्पतालमा उपचारपछि घर आजै घर फर्किएको उहाँले जानकारी दिनुभयो ।

नगरकोट व्यासी सडक हुँदै सल्लाघारी चोकबाट थिमितर्फ जान लागेको मोटरसाइकललाई सूर्यविनायकबाट राधेराधेतर्फ तीव्र गतिमा आएको भारतीय नम्बर प्लेटको १८ चक्के टेलर गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीको भनाइ छ । अनुसन्धानका क्रममा तीव्र गति र पानी परिरहेका कारण बाटो चिप्लो भएर दुर्घटना भएको प्रारम्भिक जानकारीमा आएको बताउँदै उहाँले दुर्घटनामा परेको मोटरसाइकल, टेलर र चालक भारत राजस्थान प्रदेश अलबर जिल्लाका ५० वर्षीय महादेव शर्मालाई महानगरीय प्रहरी वृत्त जगातीमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।