आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७÷७८ मा कूल रु दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ । सो अवधिमा कार्यालयले कूल रु दुई अर्ब २८ करोड ८६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु ५८ करोड ६६ लाख राजस्व बढी सङ्कलन भएको कार्यालय प्रमुख तीर्थराज बरालले जानकारी दिनुभयो । सङ्कलित राजस्वमा आयकर रु ९७ करोड २८ लाख, मूल्यअभिवृद्धि कर रु ९२ करोड ८८ लाख र अन्तःशुल्क रु ८९ करोड ६८ लाख छ ।
लगातार लक्ष्य हासिल गरिरहेको कार्यालयले आव २०७६÷७७ मा कूल रु दुई अर्ब ३५ करोड राजस्व सङ्कलन गरेको थियो । कार्यालय आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत वर्ष रु ५२ करोड बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । यसैगरी चालु आर्थिक वर्षको पहिलो महिना साउनमा कूल रु २६ करोड ६१ लाख र भदौमा रु १२ करोड ४७ लाख राजस्व सङ्कलन गरी लक्ष्यमा ११८ प्रतिशत प्रगति हासिल गरेको प्रमुख बरालको भनाइ छ । उहाँले चालु आवमा वार्षिक रु दुई अर्ब ४२ करोड ७० लाख राजस्व सङ्कलन गर्ने लक्ष्यमा असुली दर हेर्दा लक्ष्यमा पुग्न कुनै समस्या नहुने स्पष्ट पार्नुभयो ।
यो पनि – कुम्भकर्ण हिमाल आरोहण गरिँदै
ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहणका लागि आरोहीको टोली कुम्भकर्ण हिमालमा पुगेको छ । विश्वको ३२ औँ तथा नेपालको १४ औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली आरोहणको तयारीमा जुटेको हो । कोभिड–१९ का कारण पर्यटकको उपस्थिति हुन नसकेको दुई वर्षभन्दा बढी समयपछि कुम्भकर्ण हिमाल आरोहणका लागि विदेशी पर्यटक आएका हुन् । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा रहेको कुम्भकर्ण (७७१० मिटर उचाइ) हिमाल आरोहण गर्न दुई अमेरिकी नागरिकसहित टोलीले तयारी गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले जनाएको छ ।
परिषद् कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङ शेर्पाका अनुसार यसै साताको शनिबारदेखि हिमाल आरोहण गर्ने योजनाका साथ तयारी भइरहेकोे छ । आरोहणका लागि बाटो बनाउने तथा आवश्यक सामग्री ओसार्ने काम भइरहेको शेर्पाले बताउनुभयो । आरोही टोली घुन्सादेखि खम्बाचेन र कुम्भकर्ण आधार शिविर हुँदै हिमाल आरोहणमा पुगेको शेर्पाले जानकारी दिनुभयो । फक्ताङ्लुङ–६ लेलेपको घुन्सालाई कुम्भकर्ण तथा कञ्चनजङ्घा हिमाल प्रवेशद्वारका रुपमा लिने गरिएको छ ।
दुई अमेरिकीसहित पाँचजना विदेशी नागरिकले कुम्भकर्ण हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्यका अनुसार पाँच जनालाई कुम्भकर्ण आरोहणका लागि अनुमति दिएबापत रु एक लाख ७६ हजार रोयल्टी रकमसमेत सङ्कलन भएको छ । विभागका अनुसार दुई वर्षयताअर्थात् कोरोना महामारी सुरु भएपछि कुम्भकर्ण हिमाल आरोहणका लागि कसैले पनि अनुमति लिएका थिएनन् । तथ्याङ्कअनुसार विसं् २०१९ मा फ्रान्सका एक नागरिकले पहिलो पटक सो हिमालको सफल आरोहण गर्नुभएको थियो ।



प्रतिक्रिया