महाकाली नदीमा झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन माग

महाकाली नदीमा झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महाकाली नदीमा तुइन विस्थापनअन्तर्गत निर्माण हुनुपर्ने झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन नेपाली कांग्रेसले माग गरेको छ । व्यास गाउँपालिकाको वडा नम्बर २ जोड्ने मालघाट र वडा नम्बर ४ जोड्ने मलघट्टेमा तुइन विस्थापनअन्तर्गत झोलुङ्गे पुल निर्माणको काम अघि बढाउन माग गरिएको हो । व्यास गाउँकार्यसमिति कांग्रेसले प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई ज्ञापन बुझाउँदै पुल निर्माणको काम तत्काल अघि बढाउन निर्माण व्यवसायीलाई ताकेता गर्न ध्यानाकर्षण गराएको छ । पुल निर्माण कार्य अलपत्र छाड्दा गत साउन १५ गते व्यास–२ का ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको स्मरण गराउँदै कांग्रेसले तत्काल पुल निर्माणको काम अघि बढाउन भनेको छ ।

विसं २०७८ साउन २८ गते सस्पेन्सन बृज डिभिजनले पुल निर्माणको जिम्मा पाएको खम्पाछे÷रुविना जेभीका प्रतिनिधिलाई बोलाएर २०७८ पुस मसान्तसम्म पुल निर्माणको काम सम्पन्न गरिसक्न निर्देशन दिएको थियो तर अहिलेसम्म काम नै अघि नबढेको भन्दै कांग्रेसका व्यास सभापति नरेन्द्र भट्ट नेतृत्वको टोलीले ध्यानाकर्षण गराएको हो ।

महाकाली नदी वारपार गर्न व्यासका वडा नं २, ३ र ४ का नागरिकका लागि अहिले तुइन छैन । भारतीय एसएसबीले तुइन काटिदिँदा अहिले यो क्षेत्रमा नाकाबन्दीजस्तै भएको छ । नेपालतिर निर्माणाधीन खलङ्गा–तिंकर सडकखण्ड ठाउँठाउँमा अवरुद्ध छ । सो क्षेत्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा तुइन विस्थापन गर्ने योजना अघि बढेको थियो । सोहीअनुसार महाकाली नदीका चार ठाउँमा एकसाथ तुइन विस्थापन गर्दै पुल निर्माण कार्य अघि बढेको थियो ।

विसं २०७६ मा व्यासको बडुगाउ, मलघट्टे, माल र बाकुमा तुइन विस्थापन गर्न भन्दै झोलुङ्ग पुल निर्माण गर्न बोलपत्र आह्वान गरिएको थियो । सोअनुसार बडुगाउ र बाकुमा पुल निर्माण कार्य अन्तिम चरणमा पुग्दा पनि मालघाट तथा मलघट्टेमा पुल निर्माण कार्य अघि बढ्न सकेको छैन । नेपालतिर सडकले गति लिएको छैन् । ठाउँ ठाउँमा पहिरो गएर सडक अवरुद्ध हुँदा गाउँमा खाद्यान्न ढुवानी गर्न नसकिएको बताइएको छ ।

यो पनि – पोखरा अन्तराष्ट्रिय विमानस्थलको ८४ प्रतिशत भौतिक प्रगति

गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले आज पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्का, अर्थमन्त्री रामजीप्रसाद बराल, कानून सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा र पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पोखरा–१४ छिनेडाँडामा निर्माण भइरहेको विमानस्थलको हालसम्मको कार्य प्रगतिका बारेमा निरीक्षण गरी जानकारी लिनुभएको हो । सो अवसरमा पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले हालसम्म आयोजनाको ८४ प्रतिशत काम सकिएको जानकारी दिनुभयो ।

गत साउनमा सम्पन्न हुनुपर्ने आयोजना कोभिड–१९ का कारण निर्धारित समयमा पूरा नभएको उहाँले बताउनुभयो । आयोजना प्रमुख मुनकर्मीका अनुसार आयोजनाको म्याद एक वर्ष थप भएकाले यस अवधिमा सबै काम सम्पन्न भएर विमानस्थल सञ्चालनमा आउने बताउनुभयो । विमानस्थलको दुई हजार ५०० मिटर लामो रनवे गत वर्षनै सम्पन्न भएको छ । टर्मिनल भवन एटिसी टावर, ह्याङ्गरलगायतका १४ वटा भवन निर्माण कार्य सम्पन्न भएर फिनिसिङ र इलेक्ट्रिक जडान कार्य भइरहेको छ ।

यसैगरी ट्याक्सी–वे, ह्याङ्गर, एप्रोन, पार्किङ निर्माणलगायतका काम सम्पन्न भएको आयोजनाले जनाएको छ । जग्गा अधिग्रहणको ९९ प्रतिशत कार्य सकिएको बताइन्छ । विमानस्थल तीन हजार ८९९ रोपनी क्षेत्रफलमा फैलिएको छ । रु २२ अर्बको लगानीमा चीनको सिएएमसी इञ्जिनीयरिङ कम्पनीले विमानस्थल निर्माण गरिरहेको छ ।

रिठ्ठेपानी डाँडा कटान, ल्याडफिल साइट र आयल निगमको डिपो निर्माणलगायतका काममा ढिलाइ भएकाले मुख्यमन्त्री पोखरेलसँग आवश्यक सहयोग र समन्वयका लागि आयोजना प्रमुख मुनकर्मीले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “एप्रोचमा पर्ने रिठ्ठेपानी डाँडा कटान, ल्याण्डफिल साइट र आयल डिपोको काम ठोसरूपमा अघि बढ्न सकेको छैन । प्रदेश सरकारबाट सहयोगको अपेक्षा गरेका छौँ ।”

मुख्यमन्त्री पोखरलले थप भएको समयभित्रमा विमानस्थलको काम सम्पन्न गर्नका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । विमानस्थलको निर्माणमा अहिले देखिएका समस्या समाधानका लागि सङ्घीय सरकारसँग समेत समन्वय गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विमानस्थल हाम्रो गौरवको आयोजना हो । निर्धारित समयभित्रै सम्पन्न गर्न निर्माण कार्यमा आइपरेका व्यवधान हटाउन प्रदेश सरकारले पहल गर्नेछ ।”