प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बाहेक सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्षनेता सहभागी रहनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी रहनुभएको प्रधानमन्त्रीका संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।
बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाएर बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सभामुखका केही कार्यप्रति असन्तुष्टि जनाउँदै चालु अधिवेशनको सुरुदेखि नै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
यो पनि – प्रधानमन्त्री देउवाको आह्वानमा सर्वदलीय बैठक बस्दै
प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठक अहिले बिहान १०ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइएको प्रधानमन्त्रीका संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो । बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाएर बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सभामुखको केही कार्यप्रति असन्तुष्ट जनाउँदै चालु अधिवेशनको सुरुदेखि नै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
बैठकमा कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेताको सहभागिता रहने बताइएको छ ।
यो पनि – पाँच दलीय गठबन्धनको सरकार टिकाउनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिगमन विरुद्ध बनेको वर्तमान गठबन्धनको सरकार टिकाउनुपर्ने बताउनुभएको छ । आज लमजुङ बेँसीसहरमा आयोजित जनता समाजवादी पार्टी नेपाल सङ्गठन सुदृढीकरण तथा जागरण (सुज) अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा उहाँले शेरबहादुर देउवाको नेतृत्वमा प्रतिगमनका विरुद्धमा बनेको पाँच दलीय गठबन्धन सरकार टिकाउनुपर्ने बताउनुभएको हो ।
केही दिनअघि राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भइसकेको र माधव नेपालसहित पाँच दलीय गठबन्धनको संसद्मा सरकार बनाउन बहुमत पुग्ने भएकाले अब केही दिनभित्रै सरकारले पूर्णता पाउने उहाँको भनाइ थियो । उहाँले फरक प्रसङ्गमा देशको हितमा एमसीसी रहेकाले लागू गर्नुपर्नेमा जोड दिनुभयो । विदेशी सहयोग लिएर मात्र देश बलियो बनाउन सक्ने चर्चा गर्दै उहाँले अहिले एमसीसी लागू गरेर देश विकास गर्दै बलियो बनाउनुपर्ने बताउनुभयो । “हामी अहिले बलियो नहुँदा र गरिब देश हुँदा सबैलाई चिढ्याउने काम गर्नुहुँदैन, हात्तीसँग कुस्ती खेल्नु हुँदैन, बुद्धिले काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “अहिले विदेशीको सहयोग लिएर देश बलियो बनाउन सके लिपुलेकदेखि अमेरिकासँग पनि विभिन्न कुरा गर्न सकिन्छ ।”
लामो समयसम्म प्रमुख राजनीतिक दलले देश चलाए पनि विकास दिन नसकेकाले अब जसपा नै वैकल्पिक शक्ति रहेको उहाँले बताउनुभयो । सङ्घीयता लागू भए पनि अझै पूर्णरूपमा सङ्घीयताको महसुस नभएको उहाँको भनाइ थियो । पूर्वप्रधानमन्त्री भट्टराईले देशमा अझै गरिबी, दलित जनजाति, महिला पीडित नै रहेकाले यसलाई संशोधन गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।



प्रतिक्रिया