झापाका तीन विद्यालय पुनः बन्द

झापाका तीन विद्यालय पुनः बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन् । विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा बन्द गरिएका हुन् ।  बन्द भएका सामुदायिक विद्यालय बुद्धआदर्श मावि, राष्ट्रिय विजय मावि र श्री बर्ने मावि रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमलप्रसाद निरौलाले जानकारीदिनुभयो ।

उहाँले बुद्धआदर्शका शिक्षकलाई कोरोना पोजेटिभ देखिएको र अन्य दुई विद्यालयका विद्यार्थीमा खोकी लाग्ने ज्वरो आउने समस्या देखिएका कारण बन्द गरिएको बताउनुभयो । यही असोज ४ गतेदेखि मात्र विद्यार्थीको भौतिक उपस्थितिमा पालिकाका १६ सामुदायिक विद्यालय, १७ निजी विद्यालय र एउटा धार्मिक विद्यालयमा पठनपाठन सुरु गरिएको थियो । विद्यालय खोलिएको एक हप्ताभित्रमै ज्वरो आउने र खोकी लाग्ने विद्यार्थीको सङ्ख्या बढ्न थालेपछि पालिकाको शिक्षा शाखा तथा विद्यालय व्यवस्थापन समितिसँगको समन्वयमा बुधबारदेखि पठनपाठन बन्द गरिएको बर्ने माविका प्रधानाध्यापक चन्द्रप्रसाद उप्रेतीले जानकारीदिनुभयो ।

बुद्धशान्ति–७ मा रहेको राष्ट्रिय विजय माविले समेत आजबाट भौतिक उपस्थितिको पठनपाठन बन्द गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद पौडेलले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयबाट गतभदौमा जारी गरिएको आदेशमा स्थानीय तहसँगको समन्वयमा विद्यालय सञ्चालन गर्न सकिने अधिकार प्रत्यायोजन भएसँगै जिल्लाका अधिकांश स्थानीय तहका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सुरु गरिएको थियो ।

यो पनि – इडिभी भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश

इडिभी २०२१ मा नाम निकाली अमेरिका जानका लागि भिसा प्रक्रियामा सहभागी केही व्यक्तिले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको पाइएको छ । डिभी परेर अमेरिका जान लाग्दा उनीहरुको शैक्षिक प्रमाणपत्रमाथि शङ्का लागेर अनुसन्धान गर्दा यसरी नक्कली शैक्षिक प्रमाणपत्र फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले यस्ता गतिविधिमा संलग्न तीन जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने चितवनको जुगेडीका ३६ वर्षीय जीवन कार्की, चितवन खैरेनीका ३१ वर्षीय नवीन दराई र काठमाडौँ कोटेश्वर बस्ने रौतहट चन्द्रपुरका ३२ वर्षीय शिव रोक्का रहेका छन् । उनीहरुलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । नेपालस्थित अमेरिकी दूतावासमा इडिभी २०२१ को नतिजामा नाम निकाली भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता बुझाउने क्रममा केही व्यक्तिले प्लस टुको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भनेर अमेरिकी दूतावासबाट प्राप्त सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा उनीहरुले नक्कली प्रमाणपत्र प्रयोग गरेको पाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

दराई र रोक्कालाई महाशाखा काठमाडौँबाट खटिएको प्रहरी टोलीले महाराजगञ्जबाट पक्राउ गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान गर्दा दराईसँग काठमाडौँका कार्कीले रु एक लाख ७० हजार लिई उक्त नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिएको खुल्न आएपछि उनलाई समेत कलङ्कीबाट पक्राउ गरिएको जनाइएको छ । तीनै जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ को लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ ।

यसअघि भदौ १८ मा पनि महाशाखाले यसैगरी नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा छ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पाल्पाका सुमितरत्न गुभाजू, मोरङका अमरबहादुर कटुवाल, कास्कीका नरेश केसी, नवलपुरका लक्ष्मण पाठक, काभ्रेका दीप विष्ट र काठमाडौँका सोहिली शाही थिए । प्रहरीले उनीहरुको साथबाट नक्कली ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल सर्टिफिकेट, एसएलसीको मार्कसिट, राष्ट्रिय परीक्षा बोर्डको प्रमाणपत्रलगायत बरामद गरेको थियो ।