नेपाल राष्ट्र बैंकले सर्तसहित शेयर धितो कर्जा रु १२ करोडभन्दा माथि पनि लिन पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज साँझ जारी गरेको सूचना अनुसार उद्यमी व्यवसायीले उद्योग व्यवसायका लागि अन्य धितोसँगै शेयरसमेत धितो राख्न चाहेमा शेयर धितो राखी कर्जा लिन पाइने व्यवस्था गरिएको जनाएको हो ।
बैंक तथा वित्तीय संस्थाले व्यावसायिक प्रयोजनका लागि प्रवाह भएको कर्जाका लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोका रूपमा शेयर धितो राख्न सक्ने केन्द्रीय बैंकको भनाइ छ । राष्ट्र बैंकले बारम्बार सोधिने प्रश्नहरू शीर्षक राखेर सो बारेमा स्पष्ट पार्न खोजेको छ । अन्य संस्थाको शेयर खरिद गर्ने प्रयोजनदेखि बाहेकका व्यावसायिक प्रयोजनका लागि शेयर धितो राखी कर्जा प्रवाह हुन सक्नेछ । त्यसमा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमाका रूपमा रहेको एउटा इजाजतप्राप्त संस्थाबाट अधिकतम रु चार करोड र सबै इजाजत प्राप्त संस्थाबाट अधिकतम रु १२ करोडको सीमा लागू नहुने केन्द्रीय बैंकको भनाइ छ ।
शेयर लगानीकर्ता समूहले मार्जिन प्रकृतिको कर्जामा राष्ट्र बैंकले सीमा तोकेको भन्दै गुनासो गर्दै आएका छन् । राष्ट्र बैंकले भने मार्जिन प्रकृतिको कर्जामा केही समस्या देखिएको भन्दै सीमा तोकेको जनाउँदै आएको छ । यही विषयमा अस्पष्टता हुँदा पछिल्ला केही दिनदेखि शेयर बजारसमेत प्रभावित हुँदै आएको थियो । आइतबार उच्च अङ्कले नेप्सेमा गिरावट आएको थियो । पुनः सोमबार भने बजार सम्हालियो र नेप्से ‘बाउन्स ब्याक’ भयो । लगानीकर्ता समूहले आज असन्तुष्टि जनाएका थिए । अर्थमन्त्री जनार्दन शर्माले गभर्नर अधिकारीलाई फोन गरेर बजारमा देखिएको समस्याका बारेमा चासो राख्नुभएको थियो । सोही चासोको समाचार सार्वजनिक भएपछि आज नेप्सेमा १६२ अङ्कको वृद्धि भयो ।
यो पनि – नेप्सेमा उछाल, ४५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः उच्च अङ्कले उकालो लागेको छ । आइतबार उच्च अङ्कले ओरालो लागेको नेप्से सोमबार ‘बाउन्स ब्याक’ भएको हो । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका सम्बन्धमा देखिएको अन्योलतमा समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गर्नुभएको समाचार सार्वजनिक भएपछि बजारले पुनः गति समातेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६१.९४ बिन्दुले उकालो लागेर दुई हजार ९८०.७८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३१.४१ बिन्दुले उकालो लागेर ५५३.४० मा पुगेको छ । कूल २२४ कम्पनीको एक करोड ७९ लाख २२ हजार ५८८ कित्ता शेयर एक लाख नौ हजार १८२ पटक कारोबार भयो । नेप्सेका अनुसार कूल रु नौ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ७८.२, व्यापार १३३.०३, होटल तथा पर्यटन १९४.८३, विकास बैंक ५०३.३६, जलविद्यसत् २८३.५, वित्त २५६.२२, निर्जीवन बीमा ६४३.६३, उत्पादन ३९८.११, अन्य १५०.२५, लघुवित्त २४१, जीवन बीमा ८१७.४, सामूहिक लगानी कोष ०.१७ र लगानी ६.६७ बिन्दुले उकालो लागेको छ ।
सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ७१ अर्ब ५८ करोड ८० लाख ८२ हजार १०१ मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४६ करोड ३० लाख ९१ हजार ४५६ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु २६ करोड ८८ लाख ९६ हजार ३१३, माथिल्लो तामाकोशी रु २४ करोड ९२ लाख ४८ हजार ५४२, नेशनल हाइड्रोपावर रु १९ करोड ९९ लाख ३२ हजार र आइसिएफसी फाइनान्स रु १९ करोड ८७ लाख ३६ हजार ७२१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
६० कम्पनीको शेयरमा सकारात्मक सर्किट
बाउन्स ब्याक भएको नेप्सेमा आज ६० कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले वृद्धि भएको छ । त्यसमा ४५ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यो पनि अर्को नयाँ इतिहास हो । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र १.९४, आइसिएफसी फाइनान्स १.७४, एनआइसि एशिया बैंकको ऋणपत्र १.७१, सनराइज ब्ल्यूचिप फण्ड ०.५९ र कुमारी इक्विटी फण्डका लगानीकर्ताले ०.४९ प्रतिशतले गुमाए ।



प्रतिक्रिया