जापानका प्रधानमन्त्री योशिहिडे सुगा अमेरिका भ्रमणमा जानु हुने भएको छ । यही सेप्टेम्बर महिनाको अन्त्यमा उहाँ अमेरिका जाने निर्णय भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । क्वाडा सम्मेलनमा सहभागी भइ विभिन्न देशका शिर्ष नेतासँग सुरक्षासम्वन्धी विषयमा छलफल गर्न उहाँ अमेरिकाको वासिङ्ट जानुहुने भएको हो ।
सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्टे«लियाका प्रधानमन्त्री स्कट मोरिसन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत सहभागी हुने तय भएको छ । जापानका प्रधानमन्त्री सुगाको यो भ्रमण नै अन्तिम बैदेशिक भ्रमण हुनसक्ने देखिएको छ । यही सेप्टेम्बरको अन्त्यमा हुने पार्टीको निर्वाचनमा उम्मेदवार नबन्ने भएकाले उहाँले पार्टीको निर्वाचनपछि प्रधानमन्त्री पदसमेतबाट बाहिरिनु पर्ने छ । कोरोनाभाइरसको महामारीका विरुद्धमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री सुगाप्रति धेरैतिरबाट असन्तुष्टि व्यक्त भएको छ । त्यही असन्तुष्टिका कारण उहाँले प्रधानमन्त्री पद त्याग्ने उद्देश्यले पार्टीको जिम्मेबारीसमेत नलिने हुनुभएको हो ।
जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीको महाधिवेशन यही सेप्टेम्बरको अन्त्यमा हुन लागेको छ । त्यस अधिवेशनमा उहाँले आफूले उम्मेदवारी नदिने र नेतृत्व अन्य नेतालाई हस्तान्तरण गर्न चाहेको बताउनु भएको छ । तत्कालिन प्रधानमन्त्री सिन्जे आवेको आकस्मीकरुपमा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सुगा अघिल्लो वर्ष प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । झण्डै एक वर्षे कार्यकाल विताएर उहाँले देशको कार्यकारी प्रमुख पदबाट विदा लिन लाग्नु भएको उहाँ निकटस्थले जानकारी दिएका छन् ।
यो पनि – अफगानिस्तानको तालिवान सरकारलाई चीनको समर्थन, तीन करोड दश लाख अमेरिकी डलर दिने
चीनले अफगानिस्तानमा बनेको नयाँ तालिवान सरकारलाई समर्थन जनाएको छ । विश्वका धेरै देशले तालिवान सरकारलाई समर्थन गर्न आनाकानी गरिरहेका बेला चीनले समर्थन गर्ने घोषणा गरेको हो । चीनले तालिवान सरकारलाई समर्थन गर्दै तीन करोड १० लाख अमेरिकी डलर सहयोगसमेत गर्ने जनाएको छ । चीनको विदेश मन्त्रालयले अफगानिस्तानको नयाँ सरकार इस्लामिक इमरेट्स अफ तालिवानलाई प्रारम्भीक सहयोग स्वरुप तीन करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय भएको जानकारी दिएको छ ।
अफगानिस्तानमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेको झण्डै तीन सातापछि केही दिन अगाडि अन्तरिम सरकार गठन भएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता हुय चुनीनले छिमेकी मुलुकको हैसियतले अफगानिस्तानलाई सहयोग गर्नु चीनको कर्तव्य हुने बताउनुभयो । उहाँले यस सहयोगलाई अफगानिस्तानी जनतालाई दिइएको आपतकालिन सहयोगको रुपसमेतमा व्याख्या गर्नुभयो ।
सहयोग अन्तर्गत चीनले खाद्य पदार्थ, पानीजन्य पदार्थ, खोप, औषधीजन्य पदार्थलगायत पनि रहने प्रवक्ता चुनीनले जानकारी दिनुभयो । तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि तत्कालिन राष्ट्रपति अशरफ घानीले देश छाडेर भाग्नु भएको थियो भने उहाँको सरकारले हात उठाएको थियो । घानी सरकारले हात उठाएपछि नयाँ सरकार गठन हुन नसकेको र नयाँ सरकार काम गर्न अन्यौलमा परेकोले दैनिक उपभोग्य वस्तुको व्यवस्थापनदेखि प्रशासनिक कामसमेतमा ठूलो समस्या देखिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले त अफगानिस्तानलाई पहिलो चरणमा ३० लाख खोप दिने घोषणा यसअघि नै गरिसक्नु भएको छ । तर खोप कहिले उपलब्ध हुन्छ भन्ने यकिन हुन भने बाँकी नै रहेको बताइएको छ ।



प्रतिक्रिया