पहाडकी रानी उपनामले परिचित बन्दीपुर गाउँपालिका–५ स्थित चन्द्रपुरी गढी संरक्षणको अभावमा अलपत्र बन्दै गएपछि संरक्षण गरिएको छ । गाउँपालिकाको रु पाँच लाख लागतमा गढीको पुनःनिर्माण गरी संरक्षण गरिएको हो । बाइसे–चौबीसे राज्यका पालामा रहेको गढी लामो समयदेखि भग्नावशेषका रूपमा रहेकाले पुनःनिर्माण गरी संरक्षण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो । दरबारमा ढाल, खुँडा, तरबार हराउँदै गएकाले गाउँपालिकाले त्यसको संरक्षण गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्य राखेको छ । चन्द्रकोट गढीको इतिहासको खोजी गरी पर्यटकीयस्थलका रूपमा प्रचारप्रसार गर्न आवश्यक देखिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो ।
गाउँपालिकाले गढीसम्म पुग्ने पैदलमार्ग निर्माण गरेर सहजरूपमा आवतजावतको व्यवस्था मिलाउन लागेको छ । गढी पुरातात्विक महत्व बोकेको स्थान भएकाले पुनःनिर्माण गरी संरक्षण गरिएको गाउँपालिकाले जनाएको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि केही समयअघि कार्यपालिकाको ९०औँ मोबाइल बैठक सोही स्थानमा राखिएको अध्यक्ष थापाले बताउनुभयो ।
त्यसैगरी गाउँपालिकाले गाउँपालिकाभित्रका पर्यटकीयस्थलहरुको प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम तथा कार्यपालिकाको बैठक राख्दै आएको छ । त्यसैगरी वडा नं २ स्थित थानीमाई मन्दिरबाट सुरु गरी मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करिब चार किलोमिटर मिनी ग्रेटवाल पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ ।
गाउँपालिका कार्यालयले रु एक करोड खर्च गरेर चीनको जस्तै झझल्को दिने गरी निर्माण गरेको मिनीग्रेटवालमा पर्यटकको आर्कषण बन्दै गएको हो । प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा ‘मिनीग्रेटवाल’ निर्माणपछि पर्यटकको आगमनमा वृद्धि हुँदै गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।
यो पनि – बेनीमा बर्खेनाच समापन
बेनी बजारमा एक महिनाअघि सुरु भएको बर्खेनाचको समापन गरिएको छ । भाषा मंकाःखल र ल्यामःपूचको नेतृत्वमा प्रत्येक वर्षको साउन महिनाको घण्टाकर्ण चर्तुदशीदेखि हरितालीका तीज पर्वका दिनसम्म देखाउने गरिन्छ । बेनीको गणेश मन्दिरमा धार्मिक विधिअनुसार कृष्णद्वारा घण्टाकर्ण नामको राक्षसको प्रतीकको बध गरी समापन गरिएको हो ।
‘तरबार लडाइँ नृत्य’मा श्रीकृष्णको रूपधारण गरेका कलाकारले लाखेको मुखुण्डोलाई बध गरेका थिए । बेनीमा नेवार समुदायको बसोबास रहेदेखि नै बर्खेनाच देखाउने चलन रहेको नेपाल भाषा मंकाःखल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । परापूर्वकालमा समाजलाई दुःख दिएको घण्टाकर्ण नामको राक्षसको स्थानीयवासीले बध गरेपछि साक्षसकी पत्नीले पतिवियोगमा देखाएको चरित्रलाई बर्खेनाचमा कलात्मकरूपमा प्रस्तुत गरिन्छ ।
बर्खेनाचअन्तर्गत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागिनी, रोपाइँ र जोगीनाच देखाउने गरिन्छ । कोरोना भाइरसको महामारीका कारण गत वर्ष र यसपालि बर्खेनाचलाई औपचारिकतामा मात्र सीमित गरिएको ल्यामःपुच म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । “घण्टाकर्णको प्रतीक सेलाउने, गाईजात्राका दिन दिवङ्गतहरुको स्मृतिमा लक्ष्मीनारायण मन्दिर परिसरमा तायमचा देखाउने र कृष्ण मन्दिरमा घण्टाकर्णको बध गर्ने कार्यक्रम मात्र भयो”, उहाँले भन्नुभयो, “विभिन्न नृत्यसहित बजार परिक्रमा गरिएन, परम्परालाई निरन्तरता र संस्कृति जोगाउन औपचारिकतामा मात्र सीमित बनायाँै ।”
बेनीमा बसोबास सुरु भएदेखि नै बर्खेनाच देखाउने परम्परागत चलन रहेको पाइन्छ । उक्त नाचअन्तर्गत तीजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी भएको सन्देशसहित यो नाच समापन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । नाचमा पछिल्लो समय यहाँका युवाले सक्रिय सहभागिता जनाउने गरेका छन् । बर्खेनाचका लागि नयाँ कलाकारलाई तालिमसमेत दिइएको थियो ।



प्रतिक्रिया