पहिरोले एक सातादेखि कोशी राजमार्ग अवरुद्ध

पहिरोले एक सातादेखि कोशी राजमार्ग अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । गत शनिबारदेखि भोटखोला जाने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो । पहिराका कारण सदरमुकाम खाँदबारीबाट गाउँपालिका जाने उत्तर–दक्षिण सडकखण्ड एक सातादेखि अवरुद्ध भएको छ । उत्तर–दक्षिण सडकखण्डको मकालु गाउँपालिका र भोटखोला गाउँपालिका सिमाना मकालु–३ हाइटारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो हटाउन पहल भइरहेको प्रजिअ पौडेलले बताउनुभयो ।

अहिले पनि त्यस क्षेत्रमा निरन्तर पहिरो खसेका कारण हटाउन अझै केही दिन लाग्ने उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इञ्जीनियर गौतमकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले पहिरो हटाउन मकालु–३ हाइटार नजिकै तीनवटा स्काभेटर लगेका छौँ, तर पहिरो खस्ने क्रम नरोकी कारण सडक कहिले खुल्छ भन्ने यकिन हुन सकेको छैन ।”

सडक अवरुद्ध भएपछि भोटखोलासँग सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालुको हेदाङनागढीसम्म चलिरहेको उहाँले बताउनुभयो । सडकखण्ड अवरुद्ध भएपछि मकालुका केही वडा र भोटखोलामा यातायात सेवा बन्द भएको छ । पहिराका कारण सदरमुकाम खाँदबारीबाट भोटखोलाको हटिया पुगेको आधा दर्जन सवारी र खाद्यान्न बाकेर गएका ट्र्याक्टर हटियामै रोकिएका स्थानीयवासीले बताएका छन् ।

यो पनि – कोरोनाले ठूला मन्दिर सञ्चालनमा समस्या

कोरोनाले ऐतिहासिक मठमन्दिरमा पूजा खर्च तथा पुजारीको पारिश्रमिक जुटाउन सास्ती भएको छ । कोरोनाको जोखिमले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल नहुँदा मन्दिरका नियमित पूजा खर्च, पुजारी र मन्दिरका कर्मचारीका निम्ति पारिश्रमिक जुटाउन समस्या देखिएको हो ।

स्थानीय प्रशासनले वैशाखदेखि भदौ तेस्रो हस्तासम्म मठमन्दिर सञ्चालनमा निषेध गरेसँगै धार्मिक पर्यटकीय क्षेत्र सुनसान बनेका थिए । निषेधाज्ञा अवधिदेखि अहिलेसम्म पाल्पाका अमरनारायण, भगवती, भैरव, ऋषिकेश, सिद्धबाबालगायतका मन्दिर धार्मिक पर्यटकको चहलपहल हुन नसक्दा मन्दिरमा आर्थिक समस्या बढेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

रिब्दीकोट गाउँपालिका–५ भैरव मन्दिर पाल्पा जिल्लाकै प्रसिद्ध मन्दिर हो । यो मन्दिरले वार्षिक रु ५० लाखभन्दा बढी आम्दानी गर्दै आएको भए पनि हाल मन्दिरको नियमित पूजा खर्च र पुजारी, कर्मचारीलाई पारिश्रमिक प्रदान गर्न समस्या भएको मन्दिर व्यवस्थापन समितिका सचिव नवराज ज्ञवालीले बताउनुभयो । कोरोनाको उच्च जोखिमका कारण मन्दिरमा दर्शन गर्न आउने दशालु भक्तजनको सङ्ख्यामा कमी हुँदा मन्दिरको आम्दानीसमेत घटेको हो । मन्दिरमा चढाएको भेटी नै मन्दिरको नियमित आम्दानी हो ।

भैरव मन्दिर तानसेनबाट नौ किलोमिटर पश्चिममा पर्छ । कोभिड–१९ ले गर्दा नित्य पूजाबाहेक अन्य दैनिक पूजा गर्न कठिनाइ भएको छ । मन्दिरमा १४ स्थायी र अन्य ज्यालादारी कर्मचारी रहेका छन् । मन्दिरमा कोरोना असरले भक्तजन नआउँदा कर्मचारीको तलबभत्ता, मन्दिर व्यवस्थापनको खर्च जुटाउन समस्या चर्किएको छ । मन्दिरसँग जोडिएर स्थानीय बासिन्दाले रोजीरोटीको ग्यारेन्टी गरे पनि अहिले रोजगारीका अवसरबाट बञ्चित छन् ।

जिल्ला प्रशासन कार्यालयले मठमन्दिरमा भीडभाड गरी पूजा गर्न अझै रोक लगाएको छ । यसले गर्दा पाल्पामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल ठप्प छ । पर्यटकको आगमनमा कमी हुँदा दान, भेटी तथा सहयोगका भरमा सञ्चालित मठमन्दिर सञ्चालनमा आर्थिक बोझ थपिएको स्थानीय बासिन्दाको भनाइ छ । तानसेन नगरपालिका–२ नारायणस्थानस्थित अमरनारायण मन्दिर छ । कोरोनाले गर्दा साँझ–बिहान भजनकीर्तन हुनसमेत छाडेको छ । अहिले मन्दिरमा दर्शन गर्न आउने भक्तजन शून्य छ । मन्दिरमा दर्शन गर्न भक्तजन आउँदा पनि कोरोनाको त्रास छ । भक्तजन नआउँदा मन्दिरमा पूजा खर्च जुटाउन समस्या भएको मन्दिरका पुजारी उमाशङ्कर पोखरेलको भनाइ छ ।

तानसेन पर्यटकीयस्थल हो । पहाडी जिल्ला पाल्पामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुँदै आए पनि कोरोनाका कारण पर्यटक देख्न रहर हुन थालेको तानसेनका स्थानीय बासिन्दा वीरजङ्ग राणाको भनाइ छ । पाल्पामा पर्यटकीय चहलपहल नहुँदाको यहाँको पर्यटन व्यवसाय सङ्कटमा छन् ।