संयुक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार ८१६ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । कोभिडका कारण यो अवधिमा एक हजार ५७९ जनाको मृत्यु भएको छ । न्यूयोर्क टाइम्सका अनुसार अमेरिकामा सङ्क्रमित सङ्ख्यामा औसतमा दैनिक पाँच प्रतिशत कमी आएको छ । अमेरिकामा हाल सम्म कूल छ लाख ५६ हजार ४ सय ४७ जनाको निधन भएको छ भने दुई हप्तामा औसतमा २८ प्रतिशतले मृत्यु घटेको बढेको छ ।
सेप्टेम्बर ९ को तथ्याङ्क अनुसार एक लाख ६१० जना कोरोना संक्रमितहरू अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा एक प्रतिशतले वृद्धि भएको छ भने हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या चार करोड सात लाख ३८ हजार २९ पुगेको छ ।देशभर एक दिनमा १६ लाख १२ हजार २५२ जनाले कोरोना जाँच गराएका थिए भने जाँच गराउने सङ्ख्या दरमा १७ प्रतिशतको वृद्धि भएको छ ।अमेरिकामा कूल जनसङ्ख्यामा पूर्ण खोप लगाउनेको सङ्ख्या ५३.४ प्रतिशत पुगेको छ भने एक मात्रा खोप लगाउनेको सङ्ख्या ६२.७ प्रतिशत पुगेको छ ।
यहाँ किशोर तथा वयस्क अर्थात् १८ बर्ष भन्दा माथिको समूहमध्ये कम्तीमा पनि एक मात्रा खोप लगाउनेको सङ्ख्या ७५.३ प्रतिशत छ । यहाँ दुवै खोप अर्थात् पूर्ण खोप ६४.५ प्रतिशतले लगाई सकिएको छ ।अमेरिकामा हाल सम्म तीन करोड १७ लाख ४४ हजार ९५९ जना कोरोनामुक्त भएका छन् । अमेरिकामा ६५ बर्षभन्दा माथिको उमेरकालाई कम्तीमा एक मात्रा खोप ९२.६ प्रतिशत र पूर्ण खोप ८२.२ प्रतिशत दिइएको सिडिसीले जनाएको छ । अमेरिकामा हालसम्म ४५ करोड २७ लाख ८१ हजार १ सय ९५ खुराक खोप आपूर्ति गरि सकिएको छ ।
यो पनि – अमेरिकामा सङ्क्रमित बालबालिका अस्पताल भर्ना हुने क्रम बढ्यो
अमेरिकामा अस्पताल भर्ना हुने सङ्क्रमित बालबालिकाहरुको सङ्ख्यामा बृद्धि भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा भाइरस देखिएको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा नयाँ शैक्षिक सत्र सुरु भएको केही समयमै बालबालिकामा सङ्क्रमणको असर धेरै देखिन थालेको छ । अमेरिकामा देशभरी नै डेल्टा भेरिएन्ट फैलिएको छ । चिकित्सकहरुले पनि डेल्टा भेरिएन्ट र शैक्षिक सत्रकोसुरुवातका कारण धेरै बालबालिका सङ्क्रमित भएको बताएका छन् ।
अमेरिकाको केन्द्रीय स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले गत मंगलबार मात्रै दुई हजार ३९६ जना बालबालिका कोरोनाभाइरसका कारण अस्पताल भर्ना भएको जनाएको छ । यो सङ्ख्या निकै धेरै भएको पनि अधिकारीहरुले बताएका छन् । अमेरिकामा कोरोनाभाइरसको महामारी सुरु भएको समय सन् २०२० को अगस्टदेखि अहिलेसम्म कुल ५५ हजार बालबालिका कोरोनाका कारण अस्पताल भर्ना भएका छन् कोरोनाभाइरसका कारण मृत्यु भएका बालबालिकाहरुको सङ्ख्यामा पनि बुद्धि हुदै गएको पाइएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ५२० जनाको मृत्यु भइसकेको छ ।
यो पनि – बेलायतमा २४ घन्टामा ३८ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण
बेलायतमा एकैदिन कोरोना भाइरसका ३८ हजारभन्दा बढी सङ्क्रमित फेला परेका समाचारमा जनाइएको छ । पछिल्ला केही दिनयता यहाँ भाइरसका सङ्क्रमित थपिने क्रम बढ्दै गएको पाइएको छ । यसै क्रममा यहाँ शुक्रबार ३८ हजार भन्दा पनि बढी सङ्क्रमित पाइएको बताइएको हो । यहाँ गएको २४ घण्टामा ३८ हजार १३ जना कोरोना भाइरसका नयाँ सङक्रमित थपिएका छन् । यो समेत गरी बेलायतमा सङ्क्रमित हुनेको सङ्ख्या ७१ लाख ३२ हजार ६२ जना पुगेको जानकारी दिइएको छ । त्यसैगरी यहाँ गएको २४ घण्टामा यहाँ १६७ जनाको कोरोनाकै कारण निधन भएको पनि बताइएको छ । यहाँ लामो समयपछि एकै दिन यतिधेरै मानिसको निधन भएको हो ।
पछिल्ला केही हप्तामा यहाँ सङ्क्रमित थपिने र मृत्यु हुनेको सङ्ख्या पनि बढेको बताइएको छ । तर धेरै पछि यहाँ एकै दिन १६७ जनाको मृत्यु भएको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । यहाँ यो भाइरसबाट एक लाख ३३ हजार ८८१ जनाको मृत्यु भइसकेको छ । यहाँ पछिल्लो समयमा लकडाउन खुला गरिएको र त्यसपछि पनि भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको छ । त्यसैले सरकारले यहाँ सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरिरहेको छ ।
यो पनि – कोरोना भाइरस ः सक्रिय सङ्क्रमित ३० प्रतिशतले घटे
भदौको पहिलो हप्ताको तुलनामा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण घट्दो र निको हुने दर बढ्दै गएको पाइएको छ । तथ्याङ्कअनुसार भदौको ३ गतेको तुलनामा बिहीबार सक्रिय सङ्क्रमितको सङ्ख्यामा करिब ३० प्रतिशतले कमी आएको पाइएको छ । भदौको पहिलो हप्ताको तुलनामा सक्रिय सङ्क्रमित उल्लेखनीय रुपमा घट्दै गएको देखिएको छ । भदौ ३ गते सक्रिय सङ्क्रमित ४० हजार ५०० जना थिए भने त्यो सङ्ख्या घटेर बिहीबार २८ हजार ६७८ जनामा आएको छ । यसरी हेर्दा सक्रिया सङ्क्रमितको सङ्ख्यामा करिब ३० प्रतिशतले कमी आएको छ ।
यसैगरी भदौ ३ गते १६ हजार ४३८ जनाको पिसिआर परीक्षण गरेकामा तीन हजार ७५ जनामा सङ्क्रमण पाइएको थियो । त्यसदिन कोरोना भाइरस सङ्क्रमण निको हुने व्यक्तिको सङ्ख्या दुई हजार १२६ जना मात्र थिए । यो सङ्ख्यामा बिहीबार गिरावट आएको छ । बिहीबारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क हेर्दा ११ हजार ९४४ जनाको पिसिआर परीक्षणमा एक हजार २७१ जनामात्र सङ्क्रमित पाइएका छन् ।
यता पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला घटेर १६ मा पुगेको छ भने बिहीबार एक हजार ८४५ जना सङ्क्रमणमुक्त भएका छन् । बिहीबारसम्म सात लाख ३५ हजार ६ जना सङ्क्रमणमुक्त भएका छन् भने नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४.९ प्रतिशत पुगेको छ । पछिल्लो समय मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् ।
नेपाल सरकारले जोमिखममा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई प्राथमिकतामा राखेको छ । यसबाट नागरिकमा रोग प्रतिरोधात्मक क्षमता बढ्न गई सङ्क्रमण घटेको चिकित्सकको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिने काम सरकारको पहिलो प्राथमिकता रहेको भन्दै यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
त्यसैले धेरै नागरिकले खोप पाएका र जोखिममा रहेका सङ्क्रमित पनि निको भएपछि उनीहरुमा पनि एन्टिबडीसमेत बनिसकेकाले सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या घट्दै गएको र निको हुने सङ्ख्या बढेको पाइएको हो । नेपालमा बिहीबारसम्म ९२ हजार १६९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५७ लाख २९ हजार ७८९ जनाले पहिलो मात्रा र ५१ लाख दुई हजार २४४ जनाले पूर्णमात्राको खोप लगाइसकेका मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पछिल्लो हप्ता सङ्क्रमण दरमा कमी आएको जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षण गराएकामध्ये सङ्क्रमण हुने दरमा कमी आएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार त्यहाँ पहिलेभन्दा सङ्क्रमित भएर उपचार गराउन आउने बिरामीको सङ्ख्यामा कमी आएको छ । सो अस्पतालमा सघन उपचार कक्ष एवं अक्सिजन चाहिने बिरामी भर्ना हुन कमै मात्र आएका छन् । धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको र रोग प्रतिरोधात्मक क्षमता पनि बढेकाले सङ्क्रमण घटेको चिकित्सकहरुको भनाइ छ ।
यस्तै बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा पनि पहिलेको तुलनामा सङ्क्रमित भएर आउने बिरामीको सङ्ख्यामा कमी आएको छ । एक महिनाअघि दैनिक २० जना बिरामी आउने गरेकामा अहिले दैनिक पाँच÷छ जना मात्र बिरामी यहाँ आउने गरेका छन् । नेपालमा हालै गरिएको एक सर्वेक्षणमा ६८.६ प्रतिशत मानिसमा रोग प्रतिरोधात्मक क्षमता (एन्टिबडी) बनेको पाइएको थियो । यस्तै एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशतमा र पूर्णमात्रा खोप लगाएकामा ९० प्रतिशतमा एन्टिबडी बनेको मन्त्रालयले जनाएको छ । नेपालमा ५० वर्षभन्दा माथिका प्राय सबैले खोप लगाइसकेका छन् ।
सरकारको तथ्याङ्कअनुसार नेपालमा दैनिक एक लाख जनाले खोप लगाइरहेका छन् । नेपालले कोभ्याक्स सुविधा, अनुदान र खरिद गरेर अहिलेसम्म एक करोड ३३ लाख खोप ल्याइसकेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्ने उपायहरुमध्ये भरपर्दाे उपाय खोप देखिएकाले नेपाल सरकारले यसमा प्राथमिकता दिएर खोप भित्र्याएको छ । जनस्वास्थ्यका मापदण्ड लागू गरेकाले हाल सङ्क्रमण कम भएको तर सभा, सम्मेलन जस्ता गतिविधिले फेरि सङ्क्रमण बढ्नसक्ने खतरा रहेको भन्दै यसका लागि सबैले ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।
जनस्वास्थ्यविद्हरुले अहिले सङ्क्रमण दर स्थिर अवस्थामा रहेको र प्रायः सबैले खोप लगाइसको र जनस्वास्थ्यका मापदण्ड लागू गरेको हुनाले सङ्क्रमण नबढेको पाइएकोले यो अवस्थालाई निरन्तरता दिनुपर्ने सुझाव दिन्छन् ।सरकारले असोजसम्म कूल जनसङ्ख्याको ३३ प्रतिशत र चैतसम्म सबै नेपालीलाई खोप लगाइसक्ने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले हालै दिनुभएको जानकारीअनुसार सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप ल्याउने अन्तिम तयारी गरेको छ ।



प्रतिक्रिया