प्रधानमन्त्री देउवाद्वारा पूर्वराजदूत राणाप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्री देउवाद्वारा पूर्वराजदूत राणाप्रति श्रद्धाञ्जलि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री शेरबहादुर देउवाले गए राति निधन हुनुभएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले बत्तीसपुतलीस्थित स्व राणाको निवास पुगेर उहाँको पार्थिव शरीरमा माल्यार्पण गरि पार्टीको चारतारे झण्डा ओडाएर श्रद्धासुमन व्यक्त गर्नुभयो । राणाको गए राति ८५ वर्षको उमेरमा निधन भएको उहाँका ज्वाई अनिलकेशरी शाहले जानकारी दिनुभयो । उहाँको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार नेपाली काङ्ग्रेसका संस्थापक सुवर्ण शमसेर राणाका कान्छा छोरो स्व रूक्म शमशेर राणाप्रति पार्टीको झन्डा ओढाई श्रद्धाञ्जलि व्यक्त गर्दै । तस्वीर ः रोशन सापकोटा÷रासस

राणालाई श्रद्धाञ्जलि दिन काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, उदयशमशेर राणालगायत उहाँको निवासमा पुग्नुभएको थियो । राणा मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । मिर्गौला प्रत्यारोपणपछि उहाँ नियमितरूपमा डायलायसिस गर्दै आउनुभएको थियो । गए राति एक्कासी स्वास्थ्यमा खराबी आएपछि घरमै चिकित्सक र एम्बुलेन्स बोलाइए पनि अस्पताल लैजान नपाउँदै राणाको निधन भएको उहाँका ज्वाई शाहले बताउनुभयो । स्व राणाका एक श्रीमती र एक छोरी हुनुहुन्छ ।

नेपाली काँग्रेसका संस्थापक सुवर्ण शमसेर राणाका कान्छा छोरो स्व रूक्म शमशेर राणाप्रति पार्टीको झन्डा ओढाई श्रद्धाञ्जलि व्यक्त गर्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्वीर ः रोशन सापकोटा÷रासस

राणाले राखेपको दुईपटक सदस्यसचिवका रूपमा भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ पहिलोपटक विसं २०५० देखि २०५१ सम्म तथा दोस्रोपटक विसं २०५४ देखि २०५५ सम्म राखेपको सदस्यसचिव रहनुभएको थियो । राणा विसं २०५९ मा नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षसमेत बन्नुुभएको थियो । एनओसीले पछिल्लो समय राणालाई सम्मानस्वरुप मानार्थ अध्यक्ष बनाएको थियो ।

राणाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यवाहक अध्यक्षका रूपमा समेत भूमिका निर्वाह गर्नुभएको थियो भने नेपाल तेक्वान्दो सङ्घ र नेपाल एथलेटिक्स सङ्घको समेत अध्यक्ष रहनुभएको थियो । कांग्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाका कान्छा छोरा रहनुभएका राणा कांग्रेस नेतृत्वको सरकारको पालामा सन् २००९ देखि सन् २०११ सम्म भारतका लागि नेपाली राजदूतसमेत रहनुभएको थियो । राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशकसमेत हुनुहुन्थ्यो ।