प्रतिस्थापन विधेयक जनताप्रति समर्पित छ ः मन्त्री भुसाल

प्रतिस्थापन विधेयक जनताप्रति समर्पित छ ः मन्त्री भुसाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारले जनताको पक्षमा अधिकतम काम गर्ने बताउनुभएको छ । किरात याक्थुङ चुम्लुङ, जिल्ला कार्यसमिति ललितपुरले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले हिजो ल्याएको प्रतिस्थापन विधेयक जनताप्रति समर्पित रहेको बताउनुभयो ।“आन्दोलनमा त्याग गरेका व्यक्तिका परिवारलाई सम्मान र राहतको व्यवस्था गरिएको छ । कोरोनाबाट सङ्कटमा परेका नागरिकलाई राहत, बेरोजगारलाई रोजगार दिने योजना, आर्थिक तथा भौतिक विकासलाई जोड दिएर बजेट आएको छ,” उहाँले भन्नुभयो । मन्त्री भुसालले आगामी आवको बजेट पनि राष्ट्रको हित र जनताको भावना सम्बोधन गर्ने गरी नै आउने विश्वास दिलाउनुभयो । उहाँले गरिब, विपन्न जनतालाई राहत दिने उद्देश्यले आफूले मासिक २० युनिट बिजुली खपत गर्ने परिवारलाई निःशुल्क उज्यालो दिने निर्णय गरेको बताउनुभयो ।

मन्त्री भुसालले स्वदेशमै उत्पादन भएको विद्युत्को खपत बढाउन तथा खाना पकाउने एलपी ग्यासको आयातबाट हुने व्यपार घाटा न्यूनीकरण गर्न आफूले विद्युत् महसुल घटाएको बताउनुभयो । “अहिले जसले बढी बिजुली बाल्यो, उसले बढी महसुल तिर्नु परेको अवस्था छ, विद्युत् नियमन आयोगले निर्णय गरेपछि लागू हुन्छ,” उहाँले भन्नुभयो ।

जातीय सामाजिक संस्था ‘किरात याक्थुङ चुम्लुङ’ को ३३ वर्षअघि स्थापना भएको हो । यस संस्थाको देशका नौ जिल्लामा र किरात जाति रहेका विश्वका १९ देशमा यस संस्था क्रियाशील छ । सो अवसरमा संस्थाका केन्द्रीय अध्यक्ष योगराज बानेमले नेपाल जातीय रङ्गीनता रहेको उल्लेख गर्दै यसको संरक्षणका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।संस्थाका ललितपुर जिल्ला अध्यक्ष रामबहादुर खख्खिम लिम्बूले संस्थाका गतिविधिबारे जानकारी गराउनुभयो । कार्यक्रममा बिजुली बत्ती भूमिगत गर्न तथा खानेपानीको समस्या रहेको भन्दै समाधान गरिदिन आग्रह गरिएको थियो ।सो अवसरमा मन्त्री भुसालले ललितपुर महानगरपालिका–१४ स्थित लिम्बू सङ्ग्रहालय परिसरमा निर्मित अतिथि गृहको उद्घाटन समेत गर्नुभएको थियो ।

यो पनि – सभापतिको दौडबाट पछि हट्दिनः महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताउनुभएको हो । उहाँले भन्नुभयो, “हैन म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न गर्दैछु ।” महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेको बताउनुभयो ।

उहाँले जिल्लाहरुमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु बाध्यता रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता विवाद अझै २१–२२ जिल्लामा कायमै रहेको र यो विवाद मिलाउनका लागि कार्यतालिका संशोधन गरिएको जानकारी दिनुभयो । क्रियाशीलको अन्तिम टुङ्गो छिट्टै लाग्ने उहाँले जानकारी दिनुभयो ।

एक फरक प्रसङ्गमा महामन्त्री कोइरालाले कम्युनिष्ट उच्छृङ्खल चरित्रका हुन्छन् भन्ने उदाहारण हिजो संसद्मा भएको घटनाले पुष्टि गरेको बताउनुभयो । विपक्षीको धर्म विरोध गर्ने भए पनि हिजोको घटनाले संसद्को गरिमामाथि आँच आउने काम भएको बताउँदै उहाँले भन्नुभयो, “उच्छृङ्खल चरित्रले कम्युनिष्ट पार्टीहरु चलिरहेका छन् ।”