काठमाडौं,२५भदौ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६,१३७ पीसीआर र ३,७०३ एन्टीजेन परीक्षणमा ९९४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ७६ हजार ३२५ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ८६ हजार ६२१ पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा एक हजार ३६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि – भारतमा कोरोनाभाइरसबाट थप ३३ हजार सङ्क्रमित
भारतमा कोरोनाभाइरसबाट थप ३३ हजार ३७६ जना सङ्क्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार विहान दिएको जानकारीअनुसार नयाँ थपिएका सङ्क्रमितमध्ये २५ हजार १० जना केरलाका राज्यमा मात्रै रहेका छन् । पछिल्लो समय केरलामा दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक धेरै देखिएको छ । भारतका बाँकी भू–भागमा भन्दा केरलामा सङ्क्रमितको सङ्ख्या धेरै देखिएको हो ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ३२ लाख आठ हजार ३३० पुगेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ९१ हजार ५१६ रहेको छ ।त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाको सङ्ख्या चार लाख ४२ हजार ३१७ पुगेको छ । तीमध्ये ३०८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
सोही अवधिमा ३२ हजार १९८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या भने तीन करोड २३ लाख ७४ हजार ४९७ रहेको छ । भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा बृद्धि हुँदै आएपनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको पाइएको छ ।
यो पनि – मोरक्कोमा नयाँ प्रधानमन्त्री नियुक्त
मोरक्कोमा शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । मोरक्कोका राजा मोहम्मद छैठौँले अजिज अखान्नौचलाई नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गर्नु भएको हो ।नेस्नल र्याली अफ इन्डेपेन्डेन्ट (आरएनआई)का अध्यक्षसमेत रहेका अखान्नौचलाई मन्त्रिपरिषद् गठन गर्ने जिम्मेबारीसमेत राजाले दिनुभएको छ ।यही सेप्टेम्बर ८ मा भएको निर्वाचनको नतिजाका आधारमा उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राजदरवारबाट प्रकाशित वक्तव्यमा उल्लेख गरिएको छ ।
निर्वाचनमा उहाँको पार्टीले जित हासिल गरेको छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएका अजिज अहिले ६१ बर्षको हुनुभएको छ । उहाँले सन् २००७ देखि २०१७ सम्म कृषि मन्त्रीका रुपमा सेवा गर्नु भएको थियो ।उहाँको आगमनसँगै जस्टीस एण्ड डेभ्लभमेन्ट पार्टीको सरकार अन्त्य भएको छ । सो पार्टीले गत सन् २०११ देखि गठवन्धन सरकार चलाउदै आएको थियो ।
मरक्कोमा गत बुधबार तल्लो सदनका सदस्य र स्थानीय तहका प्रतिनिधि चयनका लागि मतदान भएको थियो । निर्वाचनका लागि देशभरी झन्डै एक करोड ७५ लाख आधिकारीक मतदाता रहेका थिए । कोरोनाभाइरसको महामारीलाई मध्यनजर गर्दै मतदान केन्द्र तोकिएको र मतदान केन्द्रमा भीडभाड नहुने व्यवस्था गरिएको थियो ।तल्लो सदनका लागि देशभरीबाट ३९५ जना छानिने गरी निर्वाचन भएको थियो । त्यसैगरी स्थानीय प्रतिनिधिका रूपमा झन्डै ३१ हजार चुनिने गरी निर्वाचन भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि मोरक्कोका मात्रै झण्डै चार हजार ५०० र विदेशी झण्डै १०० निकायका पर्यवेक्षक खटिएका थिए ।निर्वाचन आयोगले प्रान्तीय परिषद्को निर्वाचन भने यही सेप्टेम्बर २१ र माथिल्लो सदनको निर्वाचन अक्टोबर ५ मा गर्ने तयारी गरेको छ ।



प्रतिक्रिया