काठमाडौँ, २६ भदौ (रासस) : काठमाडौँको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–१ मा रहेको कागेश्वरी महादेव मन्दिर जाने सिँढीको दायाँबायाँ क्षेत्रमा वृक्षरोपण गरिएको छ । कागेश्वरी मन्दिर जानेबाटोमा निर्माण गरिएको एक हजार सिँढीको दायाँबायाँ स्थानीयले घरमै तयार पारेको करिब एक हजार ५०० फलफूल र विभिन्न जातका रुखका हुर्केका बिरुवा रोपिएको हो । वाग्मती प्रदेशसभा सदस्य रामेश्वर फुँयालले कागेश्वर महादेव मन्दिर धामका रूपमा स्थापित गर्न एक दशकअघि देखि अभियान चलाउँदै आउनुभएको छ ।
कागेश्वरी धामको विकासका लागि चालु आर्थिक वर्षमा वाग्मती प्रदेश सरकारले रु २० लाख बजेट विनियोजन गरेको छ । यसैगरी नगरपालिकाले रु ६० लाख विनियोजन गरेको छ । गोकर्ण–तारेभीर, सुन्दरीजल–कागेश्वरीधाम, लोकतान्त्रिक शहीद उद्यान–मणिचुड, बज्रयोगिनी–जहरसिंहपौवालाईं पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ काम भइरहेको प्रदेशसभा सदस्य फुयाँलले जानकारी दिनुभयो । कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मेला लाग्ने गर्छ । यस दिन यहाँको महादेव मन्दिर पूजा आराधना गरेमा काग स्पर्शबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ ।
यो पनि – कांग्रेस सहमहामन्त्री डा महतद्वारा रुक्मशमशेरको निधनप्रति दुःख व्यक्त
काठमाडौँ, २६ भदौ (रासस) : नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्य सचिव एवं पूर्वसांसद रुक्मशमशेर राणाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
सहमहामन्त्री डा महतले आज एक शोक विज्ञप्ति जारी गरी कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री सुवर्णशमशेर राणाको कनिष्ट सुपुत्र रुक्मशमशेरको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । “राणाको असामयिक निधनको खबरले मलाई स्तब्ध बनाएको छ, यस दुःखद घडीमा दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, सहमहामन्त्री डा महतद्वारा जारी शोक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सहमहामन्त्री डा महतले योग्य पिताका सुयोग्य सुपुत्रको रुपमा रुक्मशमशेर राणाले नेपालको लोकतान्त्रिक आन्दोलन, आर्थिक एवं औद्योगिक विकास, कूटनीतिक क्षेत्र तथा खेलकुदको विकासमा पु¥याउनुभएको योगदान अतुलनीय एवं अविस्मरणीय रहेको बताउनुभएको छ । डा महतले स्व राणाको योगदानले नेपाली समाज र नेपाली कांग्रेसका कार्यकर्तालाई सधैँभर प्रेरणा दिने विश्वास लिनुभएको छ ।



प्रतिक्रिया