काठमाडौँ, २६ भदौ (रासस) : देशभर ९९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा नौ हजार ८४० जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
सक्रिय सङ्क्रमित सङ्ख्या २७ हजार ३५५ छ । पाँच सय बढी सक्रिय सङ्क्रमित भएका जिल्ला १३ र २०० बढी सक्रिय सङ्क्रमित भएका जिल्ला २१ छन् । आज एक हजार ३६८ जना सङ्क्रमणमुक्त भएका छन् ।
यस अवधिमा सङ्क्रमणबाट १२ को ज्यान गएको छ । हालसम्म १० हजार ९३६ को सङ्क्रमणबाट मृत्यु भएको छ । चार सय ५६ सघन उपचार कक्ष, एक २२ भेन्टिलेटर, २५ हजार ७०८ होम आइसोलेशन, एक हजार ६४७ संस्थागत आइसोलेशन र ३१७ कोरोना सङ्क्रमित क्वारेन्टिनमा छन् ।
मन्त्रालयलका अनुसार आज ६८ हजार ६३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यस्तै ५७ लाख ६९ हजार ३२८ जनाले पहिलो मात्रा र ५१ लाख ६० हजार ५२४ जनाले पूर्णमात्राको खोप लगाएका छन् ।
यो पनि – चितवनमा अर्ना मृत फेला
चितवन, २६ भदौ (रासस) : चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुरस्थित खुला खोरमा राखिएको एउटा अर्ना मृत अवस्थामा फेला परेको छ । मृत्युको कारण खुल्न सकेको छैन । निकुञ्जले आज जारी गरेको सूचनामा शुक्रबार पोथी बयस्क अर्ना मृत फेला परेको उल्लेख छ । सोही खोरमा अन्दाजी दुई दिन अगाडि जन्मिएको अर्नासमेत फेला परेको छ ।
खोरमा १२ अर्ना थिए । यस निकुञ्जमा १२ कोशी टप्पु वन्यजन्तु आरक्षबाट र ३ चिडियाखानाबाट स्थानान्तरण गरी जम्मा १५ वटा अर्ना ल्याईएको थियो । यहांँ ल्याएपछि ७ वटा बच्चा जन्मिएका छन् । विभिन्न कारणले १० अर्ना मरेका कारण १२ वटा अर्ना मात्र बांँकी छन् ।



प्रतिक्रिया