कोरोना ‘ग्रिन जोन’तर्फ बागलुङ

कोरोना ‘ग्रिन जोन’तर्फ बागलुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तारानाथ आचार्य,कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख ८ गतेदेखि निषेधाज्ञा र रेडजोनमा परेको बागलुङ सामान्यतर्फ जान थालेको छ । पचासी वडामध्ये अब दुई मात्रै रेडजोनमा छन् । शनिबार स्वास्थ्य कार्यालयले जारी गरेको कोरोनाको सङ्क्रमणग्राफले बागलुङ नगरपालिका–२ र ५ मात्रै रेडजोनमा परेका हुन् । तीबाहेक अन्य स्थान सामान्य भइसकेका छन् । वडा नंं २ मा १६ र वडा नंं ५ मा १३ कोरोनाका सक्रिय सङ्क्रमित छन् । वडा नंं २ मुख्य बजार र वडा नंं ५ मा बिहेभोज खाएकामा धेरै सङ्क्रमण देखिएको हो ।

अब बागलुङ –१, ३, ४, ६, ७ र ८ तथा वडा नंं १२, १३ र १४ मा केही सङ्क्रमित होम आइसोलेसनमा बाँकी छन् । नगरपालिकाभित्र कूल ४९ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारीदिनुभयो । सरकारले सात जनाभन्दा कम सङ्क्रमित भएमा त्यस्तो वडालाई पहेँलो, सात जनाभन्दा बढी सङ्ख्या सङ्क्रमित भएमा रातो चिह्न लगाउने प्रावधान राखेको छ । अब गलकोट नगरपालिका–११, काठेखोलामा पाँच, बरेङमा चार, जैमिनीमा एक र तमानखोलामा एक जना सक्रिय सङ्क्रमित बाँकी छन् । अन्य सबै वडालाई निलो रङ लगाइसकिएको छ ।

गत साउन तेस्रो सातादेखि भदौ १५ गतेसम्म निरन्तर निषेधाज्ञा गरेपछि जिल्लामा सङ्क्रमित घटेको हो । अझै पनि सुरक्षित रहनुपर्ने अवस्था भने बाँकी नै रहेको कार्यालयका प्रमुख सुरज गुरौले बताउनुभयो । “महामारीले संसारलाई समस्यामा पारेको बेला हामी सुरक्षित छौँ भन्न सकिएन, तर अहिले सचेत भएर काम गर्दा जोगिने अवस्था छ”, उहाँले भन्नुभयो, “भर्खरै ग्रिनजोन छ भन्दै गर्दा सङ्क्रमित थपिएर रेडजोन बन्न सक्छ ।” सरकारले ल्याएको स्मार्ट लकडाउन र निषेधाज्ञा व्यवस्थापन गर्ने नयाँ कार्यविधिले वातावरण सहज बनाउन भने सहयोग गरेको उहाँले बताउनुभयो ।

सरकारले सात जनासम्म सङ्क्रमित भएमा टोलमात्रै सिल गर्ने, त्यो भन्दा बढी भएमा वडा सिल गर्ने नीति लिएको छ । जसका कारण सङ्क्रमण नभएको वडा सञ्चालन गर्न सहज हुनेछ । यसअघि एक÷दुई जना सङ्क्रमित हुँदा जिल्ला नै निषेधाज्ञा गर्ने क्रमले मदजुर तथा विपन्न समुदाय बढी मारमा परेका थिए । चाडपर्वको समयमा गरिने भीड तथा राजनीतिक क्रियाकलापले हुने भीड सकेसम्म सानो बनाएर काम गर्दा सङ्क्रमणबाट बच्न सकिने धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र पोखरेलको भनाइ छ ।

“अहिले अस्पतालमा कोरोनाका सङ्क्रमित घटेका छन्, तर हामी उत्तिकै सचेत छौँ”, उहाँले भन्नुभयो, “जोखिम कम भएको बेला अस्पतालमा अन्य बिरामी, शल्यक्रिया गर्नुपर्ने तथा डायलायसिस सेवालाई प्रभावकारी बनाउन लागेका छौँ ।” सङ्क्रमण कम भए पनि कन्ट्रयाक्ट ट्रेसिङ, पिसीआर र एन्टिजेन्ट विधिबाट परीक्षण भने नरोकिने उहाँले बताउनुभयो । नगर स्वास्थ्य शाखा, गाउँस्वास्थ्य शाखा र अस्पतालबाट पनि नियमितरूपमा कन्ट्रयाक्ट ट्रेसिङको काम भइरहेको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयले त आकस्मिकरूपमा सडक, बजारका चोक तथा गल्लीमा पुगेर भेटिएका मानिसको एन्टिजेन्ट परीक्षणसमेत गराइरहेको छ ।