खाना पकाउने ग्याँसको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा अर्जुनधारा नगरपालिका–७ मा एका घरका तीन घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार रोमनाथ खनालका घरमा नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्याँस चुहावट भई शनिबार साँझ ६ बजेतिर आगलागी भएको हो ।
आगलागीमा परी ४२ वर्षीय रोमनाथ, उहाँकी पत्नी ३८ वर्षीया दुर्गा र छोरा १८ वर्षीय पङ्कज खनाल घाइते भएका र उहाँहरुको विराटनगरस्थित म्याक्स हस्पिटल उपचार भइरहेको प्रनाउ आचार्यले बताउनुभयो । घाइतेमध्ये रोमनाथको अवस्था गम्भीर रहेको जनाइएको छ । बिर्तामोड नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट खनाल परिवारको टिनको छानो भएको एकतले पक्की घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
यो पनि – बिरामीलाई हेलिकप्टरकै भर !
काभ्रेपलाञ्चोक, २७ भदौ (रासस) : महाभारत पर्वत शृङ्खला (डाँडापारि) अवस्थित महाभारत गाउँपालिका–५ बुढाखानीको २१ वर्षीया गर्भवती अनुशा तामाङका स्वास्थ्यमा समस्या देखिएपछि गत शुक्रबार उपचारार्थ हेलिकोप्टरबाट काठमाडाँै लगियो । लामो ‘ब्यथा’ तथा दिसापिसाव रोकिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि उनीलाई तत्काल हेलिकोप्टरको व्यवस्थापन गरी प्रसूतिगृह थापाथली लगिएको वडाध्यक्ष रविन मोक्तानले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षाले कच्ची सडक विभिन्न स्थानमा क्षति पु¥याएपछि सदरमुकामस्थित अस्पतालमा ल्याउन सम्भव छैन ।
“निःशुल्क हवाई उद्धार निर्देशिका–२०७७ अनुसार अनुशालाई सेवा दिइएको हो”, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो । उहाँले हालसम्म छ हवाई सेवा प्राप्त गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लामो कच्ची सडकमा वर्षायाममा बिरामीलाई लैजान कठिन हुने भएकाले डाँडापारिका जनताले हेलिकोप्टरकै भर पर्नुपर्ने हुन्छ ।”
यसअघि गत साउन अन्तिम हप्ता डाँडापारिस्थित खानीखोला गाउँपालिका–४ डाँडागाउँका ७० वर्षीया सुन्तामाया जिम्बालाई उपचारका लागि हेलिकोप्टरमार्फत धुलिखेल अस्पताल ल्याइएको थियो । टाउको दुख्ने र हात झम्झमाउने रोगबाट पीडित उहाँलाई पनि गाउँको कच्ची सडकबाट एम्बुलेन्समा ल्याउन सम्भव नहुँदा हवाई चार्टर्ड गर्नुपर्ने बाध्यता बनेको थियो । तत्कालीन समयमा उहाँका आफन्तले रु ७० हजार भाडा तिरेर धुलिखेल ल्याउनुपरेको थियो ।
गतवर्षको साउनमै सोही वडास्थित जगथलीको एक गर्भवतीको हेलिकोप्टरमार्फत नै उद्धार गरिएको थियो । केही दिनदेखि ब्यथाले च्यापेपछि उहाँलाई अस्पताल लैजानुको विकल्प नभएपछि हेलिकोप्टर मगाइएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलाल बताउनुभयो । “गम्भीर प्रकृतिको बिरामी पर्दा वर्षायामका बेला हेलिकोप्टरको विकल्प छैन”, उहाँले भन्नुभयो ।
गतसाल नै तीन दिनदेखि झाडापखालाले ग्रस्त खानीखोला गाउँपालिका–६ को १७ वर्षीया रञ्जिता थोकरलाई उपचारार्थ अस्पताल लैजान हेलिकोप्टर गाउँ पु¥याइयो । तर हेलिकोप्टर रित्तै फर्कनुप¥यो । विडम्बना, हेलिकोप्टर गाउँ पुग्दैगर्दा उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममै मृत्यु भइसकेको थियो । उहाँको थप उपचारका लागि काठमाडौँ लैजान परिवार र जनप्रतिनिधिले निर्णय गरे तर, उहाँ बच्न सक्नुभएन । वर्षायाममा ग्रामीण भेगमा भएका सडक भत्किने र पहिराले अवरुद्ध पर्दा जिल्लाको दक्षिणी क्षेत्र महाभारत डाँडापारिका बासिन्दाले बिरामी पर्दा हेलिकोप्टरको भर पर्नुपर्ने हुन्छ । हेलिकोप्टरको भाडा तिर्न नसक्नेले उपचारबाट बञ्चित हुनुपर्ने बाध्यता पनि देखिएको छ । डाँडापारिस्थित टाढाको विकट क्षेत्रमा महङ्गो भए पनि सडक अवरुद्ध हुँदा हेलिकोप्टर निकै सजिलो साधन मानिन्छ ।
मनसुन सुरु भएसँगै बाढीपहिराले डाँडापारिका कच्ची सडक अवरुद्ध हुँदा गाउँपालिकामार्फत हेलिकोप्टर ‘चार्टर्ड’ गर्नुपर्ने खुलालले बताउनुभयो । “पहिले पनि समयमै उपचार नपाउँदा केही गर्भवती तथा सुत्केरी र बिरामीको गाउँमै मृत्यु हुन्थ्यो, अहिले स्थानीय तहको सहयोगमा स्वास्थ्य जोखिम भएकालाई केही सहजता भएको छ”, उहाँले भन्नुभयो ।
भौगोलिक विकटता तथा जारी अविरल वर्षाका कारण कच्ची सडक अवरुद्ध हुँदा काभ्रेका डाँडापारि क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारतमा हवाई उद्धार गर्नुपर्ने बाध्यता रहँदै आएको छ । महाभारतका अध्यक्ष जिम्बाले वर्षायाममा डाँडापारि क्षेत्रमा बिरामीको उद्धारमा निकै कठिनाइ हुने गरेको दुःखेसो गर्नुहुन्छ । हेलिकोप्टरबाट बिरामी÷गर्भवतीको उपचाररार्थ उद्धार गरिए पनि जिल्ला सदरमुकामका अस्पताल लैजान हवाई अवतरण गर्न अर्को व्यवस्थापन गर्नुपर्ने हुँदा काठमाडौँ लैजानुपर्ने अर्को बाध्यता रहेको छ ।



प्रतिक्रिया