गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत ‘ए ग्रेड’ मा परेको छ । विभिन्न छ वटा विषयगत क्षेत्र समेटेर गरिएको मूल्याङ्कनमा पर्वत उत्कृष्ट १४ जिल्लाभित्र पर्न सफल भएको हो । गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय÷सदाचारसँगै आर्थिक अनुशासन क्षेत्र समेटर कार्यसम्पादन मूल्याङ्कन गरेको थियो ।
यसरी मापन गरिएका आधारमा झापा, अर्घाखाँची र रुकुमपूर्व सर्वोत्कृष्ट अङ्क हासिल गरी ‘ए प्लस’ ग्रेडमा पर्न सफल भएका छन् भने ललितपुर, रुकुमपश्चिम, गुल्मी, स्याङ्जा र पर्वतलगायतका १४ जिल्ला ‘ए ग्रेड’मा पर्न सफल भएका छन् ।त्यस्तै कार्यसम्पादनको उत्तमस्तरमा मनाङ, नवलपुरलगायत १८ जिल्ला समावेश भएका छन् भने मध्यमस्तरमा २१ र न्यूनस्तरमा २१ जिल्ला समावेश भएका छन् । न्यूनस्तरमा काठमाडौँ जिल्ला प्रशासन कार्यालय पनि समावेश भएको बताइएको छ ।
यो पनि – म्याग्दीका पर्यटकीयस्थल खुल्न थाले
यहाँका पर्यटकीयस्थल करिब पाँच महिनापछि खुल्न थालेका छन् । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि गत वैशाख दोस्रो सातादेखि यहाँका पर्यटकीयस्थल भ्रमण गर्न रोक लगाइएको थियो । कोरोना सङ्क्रमण कम हुँदै गएको, कोरोना भाइरसविरुद्धको खोप लगाउनेक्रम चलिरहेकाले थलिएको आर्थिक गतिविधि र जनजीवनलाई सहज बनाउन पर्यटकीयस्थल खुलाइएको हो ।
घोडेपानी, मोहरेडाडा, खोपारा, टोड्के, रुइसे, झाँक्रीपानी, धौलागिरि र अन्नपूर्ण आधार शिविर, नारच्याङ झरना, मायालुडाँडालगायतका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको आगमन शुरु भएको छ । सिङ्गा, भुरुङ–तातोपानी, गुर्जा, ढोरपाटन सिकार आरक्ष, गुर्जालगायतका स्थलमा भ्रमण खुलाउन सम्बद्ध पालिका र प्रशासन कार्यालयमा अनुमति मागिएको छ ।
अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल घोडेपानीको टोल सुधार समितिका संयोजक विरेन गर्बुजाले आन्तरिक पाहुना आउन थालेकाले आगामी असोज १ गतेदेखि सबै पाहुनालाई भ्रमण खुला गरिने बताउनुभयो । “घोडेपानी–पुनहिल क्षेत्रको भ्रमणका लागि फाट्टफुट्ट पाहुना आउन थालेका छन्”, उहाँले भन्नुभयो, “असोज १ गतेदेखि औपचारिकरुपमै होटल र पर्यटकलाई भ्रमणका लागि खुला गर्ने तयारीमा छौँ ।”
गाउँपालिकाको अर्को पर्यटकीयस्थल भुरुङ तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष अमृतमान शेरचनले मुस्ताङमा निषेधाज्ञा हटाइएपछि त्यहाँ जाने आउने पाहुनाका लागि पनि बाटामा पर्ने भएकाले होटल खुलाइएको बताउनुभयो । “काठमाडौँ, पोखरा, मुस्ताङमा सबै खुला भइसकेपछि पाहुना आउन थालेका छन्”, उहाँले भन्नुभयो, “अहिलेसम्म तातोपानीमा बाहिरबाट आएकालाई स्नान गर्न दिएका छैनाँै, अब बन्द गरेर हँुदैन भनेर पालिका र प्रशासनसँग समन्वय गरेर खुलाउने तयारीमा छौँ ।”
तातोपानी र पुनहिल भ्रमणमा आउने पर्यटकबाट गाउँपालिकाले ठेक्का प्रतिस्पर्धाबाट प्रवेश शुल्क उठाउने गरेको थियो । गत आर्थिक वर्ष २०७७÷७८ मा प्रवेश शुल्क उठाउन नपाउँदा गाउँपालिकाको करिब रु एक करोड आम्दानी गुमेको छ । यस वर्ष प्रवेश शुल्क कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा गाउँपालिकाले अझै निर्णय लिन सकेको छैन् ।
प्राकृतिक उपचार स्थलका रुपमा परिचित बेनी नगरपालिका–४ सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिवकुमार केसीले स्नानका लागि खुला गर्न नगरपालिका र प्रशासनसँग अनुमति मागिएको बताउनुभयो । तत्काललाई कोरोनाविरुद्धको खोप लगाएकालाई स्नान गर्न मिल्ने गरी तातोपानी कुण्ड खुलाउन प्रस्ताव गरिएको छ ।
असोज–कात्तिक मुख्य पर्यटकीय याम हो । पर्यटन विभागका अनुसार आगामी याममा म्याग्दीस्थित धौलागिरि हिमाल आरोहणका लागि ४० जनाले अनुमति पाइसकेका छन् । पर्यटकीयस्थल बन्द हुँदा त्यस क्षेत्रमा अर्बांै लगानी भएका होटल व्यवसायी बैंकको ऋण र ब्याज तिर्न नसकेर समस्यामा परेका होटल व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले बताउनुभयो ।



प्रतिक्रिया