भारतसँग सीमा जोडिएको बैतडीका थप चार स्थानीय तहका विद्यालयमा आजदेखि भौतिक रुपमै पठनपाठन कार्य सुरु भएको छ । जिल्लाको मेलौली नगरपालिका, पुर्चाैडी नगरपालिका, डिलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिकाका विद्यालय आजदेखि सञ्चालनमा आएका हुन् । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै विद्यालयहरु सञ्चालनमा ल्याइएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिनुभयो । कक्षा कोठामा विद्यार्थीबीच सामाजिक दुरी कायम गरिएको छ भने उनीहरुलाई मास्क अनिवार्य गरिएको छ ।
त्यसैगरी विद्यार्थीलाई विद्यालयमा पनि स्यानिटाइजर लगाउने र साबुन पानीले हात धुने व्यवस्था गरिएको स्थानीय तहहरुले जनाएका छन् ।यसअघि दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकाका विद्यालयहरुमा भौतिक उपस्थितिमै पठनपाठन भएको छ । दश स्थानीय तह रहेको बैतडीका नौ स्थानीय तहका विद्यालय सञ्चालनमा आइसकेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकाले भदौ ३० गतेदेखि विद्यालय सञ्चालन गर्ने जनाएको छ ।
कोरोना सङ्क्रमणका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाई बिग्रने भन्दै अभिभावक र शिक्षकशिक्षिकाले चिन्ता व्यक्त गरेका थिए । सोही कारण विद्यालय सञ्चालनमा ल्याइएको हो । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भएको छ । हाल यहाँ १९ जनामात्रै सक्रिय सङ्क्रमित रहेका बताइएको छ । यसैबीच जिल्लाको शिवनाथ, पञ्चेश्वर, सिगास र डिलाशैनीमा हाल कोरोना भाइरसका सक्रिय सङ्क्रमित शून्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो पनि – बूढानीलकण्ठमा भौतिकरूपमै पढाइ
बूढानीलकण्ठ नगरपालिकाका विद्यालय आजदेखि भौतिकरूपमा खुलेका छन् । नगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाको निर्णयानुसार नगरपालिकाका विद्यालय भौतिकरूपमा नै सञ्चालन भएका हुन् । काभिड–१९ सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालयलाई भौतिक दूरीलगायतका सम्पूर्ण स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाउँदै कक्षा सञ्चालन गर्न नगरपालिकाले अनुरोध गरेको हो । विद्यालयमा कुनै विद्यार्थी, शिक्षक तथा कर्मचारीमा कोभिडको लक्षण देखिएमा नगरपालिकाले एन्टिजेन परीक्षणका लागि आवश्यक कीटसमेत निःशुल्क उपलब्ध गराउने जानकारी दिएको छ । सरकारले तोकेको मापदण्डभित्र रहेर विद्यालय सञ्चालन भए÷नभएको वडाबाट अनुगमन गरिनेसमेत नगरपालिकाले जनाएको छ ।
यो पनि – शैक्षिक संस्था आजदेखि सञ्चालन हुने
विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालनमाा आउन लागेका हुन् । स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीडभाड हुने सामूहिक कार्य गर्न नगराउन शैक्षिक संस्थालाई भनिएको छ । गत वैशाखको १५ गतेदेखि विद्यालय बन्द गरिएको थियो भने वैकल्पिक माध्यमबाट अध्ययन÷अध्यापन गराइँदै आएको थियो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा गत भदौ १७ गते बसेको कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले सबै स्थानीय तहलाई कोरोनाको अवस्था हेरेर विद्यालय खोल्न मिल्ने निर्णय गरेको थियो ।
बारा र पर्सामा आठ पक्की पुल निर्माण
बारा र पर्सा दुई जिल्लामा गत आर्थिक वर्ष २०७७÷७८ मा चार÷चार पक्की पुल निमार्ण भएका छन् । हेटौँडास्थित सडक डिभिजन कार्यालयका अनुसार विभिन्न आव निर्माण सुरुआत भएका थिए । कार्यालयको कार्यक्षेत्र बारा, पर्सा र मकवानपुर पर्दछ । कार्यालयका इञ्जीनियर लोमस उपाध्यायका अनुसार निर्माण सम्पन्न भएका पुलमा बाराको पसहाल , सिम्रौनगण कन्कालनी पोखरी पश्चिम पट्टि, पसाहाखोला र सिगहा नदीका पुल छन् भने पर्साकोमा सुपौलीको उत्तर , श्रीसियाखोला ड्राइपोट बाइपास परवानीपुर सडक , मरलहिया नदी र स्मृति पुल छन् । ती पुल न्यूनतम रु एक करोड ५२ लाखदेखि अधिकतम रु सात करोड ७२ लाखमा निमार्ण भएका हुन् ।



प्रतिक्रिया