पत्रकारको सदस्यता सुदृढीकरण गर्नुपर्नेमा जोड

पत्रकारको सदस्यता सुदृढीकरण गर्नुपर्नेमा जोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले आफ्ना ३० सदस्यलाई राष्ट्रिय परिषद् सदस्यको प्रमाणपत्र प्रदान गरेको छ । शाखाको निर्वाचन समितिद्वारा यहाँ आज आयोजित कार्यक्रममा ९६ सदस्यलाई उपत्यका प्रदेश परिषद्को प्रमाणपत्र प्रदान गरेको हो । नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक र मर्यादित बनाउन आवश्यक सञ्चारसम्बन्धी कानून निर्माण गर्नुपर्नेमा जोड दिँदै त्यस्ता कानून बनाउँदा सम्बन्धित पक्षले महासङ्घको परामर्श लिनुपर्ने बताउनुभयो ।

महासङ्घका केन्द्रीय सदस्य एवं काठमाडौँ शाखाका पूर्वअध्यक्ष शान्तराम बिडारीले स–साना लगानीमा सञ्चालन भएका स्वरोजगारमुखी सञ्चारगृहको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउँदै श्रमजीवी पत्रकारको अधिकारलाई सुनिश्चित बनाउन एकताबद्ध हुन खाँचो रहेको र उनीहरुको सदस्यता सुदृढीकरण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । निर्वाचन समितिका संयोजक ईश्वरी वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका अध्यक्ष सूर्य सुवेदीले कोभिड–१९ को महामारीले धेरै सञ्चारकर्मी पेशाबाट विस्थापित हुनुपर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गर्नुभयो । महासङ्घका पूर्वकेन्द्रीय सदस्य रामहरि सिलवालले पत्रकारिता क्षेत्रको विकासका लागि काठमाडौँ शाखाले विभिन्न समयमा सञ्चालन गरेका रचनात्मक गतिविधिको सराहना गर्नुभयो ।

यो पनि – राष्ट्रिय बाल दिवस मनाउने तयारी

‘सामान्य अवस्था वा कोभिड महामारी ः बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ यही भदौ २९ गते ५७औँ राष्ट्रिय बाल दिवस मनाउने तयारी गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद्ले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी दिवसका अवसरमा बालअधिकार संरक्षण र संवद्र्धनमा भएका विषयगत प्रयास तथा उपलब्धिबारे जानकारी गराइनेछ ।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देश जारी हुनेछ भने प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअलरुपमा मूल समारोह समितिको कार्यक्रम शुभारम्भ गर्नुहुनेछ । दिवसका कार्यक्रममा ‘सङ्घीय नेपालमा बाल अधिकार’ विषयक दुई मिनेटको भिडियो निर्माण प्रतियोगितामा उत्कृष्ट तीन भिडियो सार्वजनिक गरी पुरस्कृत गरिनेछ । सडक बालबालिकामुक्त राष्ट्र नेपाल बनाउने अभियानअन्तर्गत सडकदेखि रङ्गशालासम्म कार्यक्रम, अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि रग्वी प्रशिक्षणको पनि दिवसकै दिन शुभारम्भ गरिनेछ ।

यस्तै भदौ ३० गते सातै प्रदेशमा बालबालिकाको सहभागितामा डिजिटल ह्याङआउट कार्यक्रम र कोभिडले पारेको प्रभाव र समाधानका उपायबारे सिर्जनात्मक अभिव्यक्ति प्रस्तुति गराइनेछ । मन्त्रालयका सचिव यामकुमारी खतिवडाले दिवसका अवसरमा बाल अधिकारका क्षेत्रमा नीगतगत समीक्षा र भावी कार्यदिशा तय गर्ने विषयमा पनि छलफल हुने बताउनुभयो । उहाँले बाल अधिकारबारे सञ्चारमाध्यमले उचित स्थान दिन नसकेको गुनासो गर्नुभयो । परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले नयाँ कानूनी व्यवस्थाबमोजिम सबै स्थानीय तहमा बालअधिकार संरक्षणका लागि संरचना स्थापना हुन थालेको जानकारी दिनुभयो ।

यो पनि – वाग्मती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान सुरु

खानेपानीको अभाव झेल्दै आएका वाग्मती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान अघि बढाइएको छ । वाग्मती प्रदेश सरकारले प्रदेशमा खानेपानी समस्या समाधान गर्न र सहज आपूर्तिका लागि ‘एक घर एक धारा’ अभियान अघि बढाएको हो । आगामी पाँच वर्षभित्र प्रदेशअन्तर्गत १३ जिल्लाका सबै घरमा खानेपानी धारा जोड्ने अभियानअन्तर्गत प्रदेश सरकारले कार्यक्रम अघि बढाएको छ । उक्त अभियानअन्तर्गत प्रदेश खानेपानी तथा सरसफइ डिभिजन नं १ को कार्यालय हेटौँडाले आर्थिक वर्ष २०७७÷७८ मा आठ वटा खानेपानी आयोजना सम्पन्न गरेको जनाएको छ ।

कार्यालयले सङ्घीय सःशर्त अनुदानतर्फ रहेका ७८ आयोजनामध्ये चितवनमा तीन र मकवानपुरमा पाँच गरी कुल आठ आयोजना सम्पन्न भएको कार्यालय प्रमुख सन्तोष श्रेष्ठले बताउनुभयो । निर्माण सम्पन्न भएको खानेपानी आयोजनाबाट ११ हजार ११९ घरपरिवार लाभान्वित भएको सो कार्यालयले जनाएको छ । त्यसैगरी आधारभूत खानेपानीतर्फ गत आर्थिक वर्षमा ४४ वटा आयोजना सम्पन्न भएको थियो । त्यसको कूल बजेट रु ६० करोड २९ लाख रहेकामा रु ५३ करोड २५ लाख खर्च गरी ८८ प्रतिशत वित्तिय प्रगति र ९४ प्रतिशत भौतिक प्रगति हासिल गरेको प्रमुख श्रेष्ठको भनाइ छ ।

यसअघि वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा १८ वटा र आर्थिक वर्ष २०७६÷७७ मा १५ वटा गरी कुल ३३ वटा आधारभूत खानेपानी आयोजना सम्पन्न गरिसकेको छ । प्रदेशको राजधानी हेटौँडामा पछिल्लोपटक मागअनुसारको खानेपानी आपूर्ति भएपछि सबै साधारणलाई सजिलो भएको छ । हेटौँडा खानेपानी बोर्डका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका नजिक इनार निर्माण भएपछि खानेपानी आपूर्तिमा सहज भएको बताइएको छ । सो बोर्डले भीमफेदीस्थित सामरी खोलामा कुल रु एक करोड १५ लाखको लागतमा इनार निर्माण गरेको हो । उक्त इनारबाट दैनिक २७ लाख लिटर पानी वितरण सुरु भएको बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले जानकरी दिनुभयो ।

दैनिक एक करोड ४५ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएको बोर्डले अब भने दैनिक एक करोड ७२ लाख लिटर आपूर्ति गर्दै आएको छ । बोर्डको कार्य क्षेत्रमा दैनिक एक करोड ८० लाख लिटर खानेपानी माग रहिआएको छ ।