निर्वाचन आयोगले दल विभाजनबारे वाग्मती प्रदेशसभालाई जानकारी गराएको छ । आयोगको पत्र प्रदेशसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजेन्द्रप्रसाद पाण्डेलगायतको टोलीले आज प्रदेशसभा सचिवालयमा दर्ता गराएको हो । आयोगले उक्त पत्रमार्फत नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित भएका १३ जना प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेको जानकारी प्रदेशसभा सचिवालयलाई गराएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) र राजनीतिक दलसम्बन्धी नियामवली, २०७४ (दोस्रो संशोधन अध्यादेश, २०७८) को नियम ५ अनुसार एमालेबाट विभाजन भई नेकपा (एकीकृत समाजवादी) बनेको जानकारी गराइएको छ । निर्वाचन आयोगले एकीकृत समाजवादी रोजेका प्रदेशसभा सदस्यहरुले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश २०७८) को दफा ३३(२क) बमोजिम दल त्याग गरेको नमानिने अवगत गराएको छ ।
प्रदेशसभामा नयाँ दल सूचीकृत भएसँगै वाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको सङ्ख्या सात पुगेको छ । सभामा विभाजनपछि पनि ४३ सदस्यसहित नेकपा एमाले सबैभन्दा ठूलो दल छ भने नेकपा माओवादी केन्द्र २३ सदस्यसहित दोस्रो त्यस्तै २२ सदस्यसहित नेपाली कांग्रेस तेस्रो दलका रूपमा रहेको छ । नयाँ दल नेकपा (एकीकृत समाजवादी) १३ सदस्यसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलमध्ये चौथो दल बन्न पुगेको छ ।
तीन सदस्य सङ्ख्यासहित प्रदेशसभामा यसअघि चौथो ठूलो दलका रुपमा रहेको विवेकशील साझा पाँचौँमा पुगेको छ । प्रदेशसभामा नेपाल मजदुर किसान पार्टी र राप्रपाको दुई÷दुई जना सदस्य रहेका छन् भने स्वतन्त्रतर्फ एक सदस्य छन् ।
यो पनि – भक्तपुर, ताप्लेजुङ र हुम्लामा नेकपा (एकीकृत समाजवादी) गठन
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन गरिएको छ । नेकपा (एमाले) का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतका अध्यक्षतामा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो । नेता बस्नेत यसअघि गठन गरिएको नेकपा (एमाले)को समानान्तर जिल्ला समितिका सचिव हुनुहन्थ्यो । समितिका उपाध्यक्षमा प्रेमानन्दलाल श्रेष्ठ, सचिवमा पुरुषोत्तम लामिछाने र उपसचिवमा रामगोपाल चौगुठी चयन हुनुभएको छ । नवगठित कमिटीका अध्यक्ष बस्नेतले जिल्लामा छिट्टै अगुवा कार्यकर्ता भेला गरी वडा, नगर र क्षेत्रीय कमिटी, विद्यार्थी, युवा र महिला कमिटी गठन गर्दै आउँदो स्थानीय तहको निर्वाचन पार्टीको उपस्थितिलाई बलियो बनाउने जानकारी दिनुभयो ।
ताप्लेजुङको अध्यक्षमा लामा
ताप्लेजुङ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्षमा छिरिङ लामा चयन हुनुभएको छ । शनिबार सदरमुकाम फुङलिङमा भएको अगुवा कार्यकर्ता भेलाले ७२ सदस्यीय जिल्ला कमिटीको घोषणा गरेको छ । कमिटीका उपाध्यक्षमा दुर्गाहाङ चोङ्वाङ (लिम्बू) र मञ्जु भट्टराई चयन भएका छन् भने सचिवमा मोहन न्यौपाने र उपसचिवमा रक्की थेबे रहनुभएको छ । एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य गणेश काम्बाङको प्रमुख आथित्यतामा भेला सम्पन्न भएको थियो । जिल्लामा २१ जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोज्दै जिल्ला निर्वाचन कार्यालयमा हस्ताक्षर गरेका थिए भने एक जनाले भने हस्ताक्षर फिर्ता लिएका थिए ।
हुम्लामा नेता शर्माका नेतृत्वमा १०१ सदस्यीय कमिटी
सिमकोट– नेकपा (एकीकृत समाजवादी)ले नेता शिवराज शर्माका अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । उहाँ तत्कालीन एमालेका जिल्ला सचिव हुनुहुन्थ्यो । शनिबार सार्वजनिक गरिएको जिल्ला कमिटी उपाध्यक्षमा तीर्थराज रोकाया, सचिवमा कमल छत्याल र उपसचिवमा प्रेमा लामालाई जिम्मेवारी तोकिएको जिल्ला अध्यक्ष शर्माले जानकारी दिनुभयो ।



प्रतिक्रिया