नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको संसदीय दलको नेतामा प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डे चयन हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी) का जेष्ठ प्रदेशसभा सदस्य माधवप्रसाद पौडेलको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले संसदीय दलको नेतामा पार्टीका केन्द्रीय सदस्य पाण्डेलाई सर्वसम्मतरूपमा चयन गरेको प्रदेशसभा सदस्य बसुन्धरा हुमागार्इँले जानकारी दिनुभयो ।
सदस्य हुमागाईँले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई आफ्नो दलको तर्फबाट समर्थन नरहेको जानकारी प्रदेशसभा सचिवालयलाई गराइएको बताउनुभयो । “हामीले मुख्यमन्त्री कार्यालयलगायतलाई पनि आफ्नो दल अलग्गिएको र निर्वाचन आयोगले दललाई मान्यता दिएको जानकारी गराएका छौँ”, उहाँले भन्नुभयो उहाँले अब गठबन्धनसँग छलफल गरेर मुख्यमन्त्री शाक्यविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे छलफल गरिने जानकारी दिनुभयो । “भोलि हाम्रो गठबन्धनको बैठक बस्छ र प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गर्ने सम्बन्धमा छलफल हुन्छ” उहाँले भन्नुभयो ।
यो पनि – भक्तपुर, ताप्लेजुङ र हुम्लामा नेकपा (एकीकृत समाजवादी) गठन
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन गरिएको छ । नेकपा (एमाले) का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतका अध्यक्षतामा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो । नेता बस्नेत यसअघि गठन गरिएको नेकपा (एमाले)को समानान्तर जिल्ला समितिका सचिव हुनुहन्थ्यो । समितिका उपाध्यक्षमा प्रेमानन्दलाल श्रेष्ठ, सचिवमा पुरुषोत्तम लामिछाने र उपसचिवमा रामगोपाल चौगुठी चयन हुनुभएको छ । नवगठित कमिटीका अध्यक्ष बस्नेतले जिल्लामा छिट्टै अगुवा कार्यकर्ता भेला गरी वडा, नगर र क्षेत्रीय कमिटी, विद्यार्थी, युवा र महिला कमिटी गठन गर्दै आउँदो स्थानीय तहको निर्वाचन पार्टीको उपस्थितिलाई बलियो बनाउने जानकारी दिनुभयो ।
ताप्लेजुङको अध्यक्षमा लामा
ताप्लेजुङ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्षमा छिरिङ लामा चयन हुनुभएको छ । शनिबार सदरमुकाम फुङलिङमा भएको अगुवा कार्यकर्ता भेलाले ७२ सदस्यीय जिल्ला कमिटीको घोषणा गरेको छ । कमिटीका उपाध्यक्षमा दुर्गाहाङ चोङ्वाङ (लिम्बू) र मञ्जु भट्टराई चयन भएका छन् भने सचिवमा मोहन न्यौपाने र उपसचिवमा रक्की थेबे रहनुभएको छ । एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य गणेश काम्बाङको प्रमुख आथित्यतामा भेला सम्पन्न भएको थियो । जिल्लामा २१ जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोज्दै जिल्ला निर्वाचन कार्यालयमा हस्ताक्षर गरेका थिए भने एक जनाले भने हस्ताक्षर फिर्ता लिएका थिए ।
हुम्लामा नेता शर्माका नेतृत्वमा १०१ सदस्यीय कमिटी
सिमकोट– नेकपा (एकीकृत समाजवादी)ले नेता शिवराज शर्माका अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । उहाँ तत्कालीन एमालेका जिल्ला सचिव हुनुहुन्थ्यो । शनिबार सार्वजनिक गरिएको जिल्ला कमिटी उपाध्यक्षमा तीर्थराज रोकाया, सचिवमा कमल छत्याल र उपसचिवमा प्रेमा लामालाई जिम्मेवारी तोकिएको जिल्ला अध्यक्ष शर्माले जानकारी दिनुभयो ।



प्रतिक्रिया