यहाँको प्रसिद्ध शक्तिपीठ कालिका भगवतीसहित सबै मठमन्दिर भोलिदेखि सर्वसाधारणका लागि खुला हुने भएका छन् । कोरोना महामारीका कारण गत वैशाखदेखि धार्मिक क्षेत्र बन्द थिए । आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थान केन्द्रको बैठकले जनस्वास्थ्य मापदण्ड पूरा गरेर मठमन्दिर खोल्ने निर्णय गरेको हो । मन्दिरको प्रवेशद्वारमा हात धुने व्यवस्था गर्नुपर्ने, दर्शनार्थीको ज्वरो नाप्ने, अनिवार्य मास्क प्रयोग र पूजाको लाममा रहँदा भौतिक दूरी कायम गर्नुपर्ने नियम तोकिएको छ ।
कोरोनाको दोस्रो लहर भित्रिएपछि कालिका भगवती, सर्वसिद्धिधाम पञ्चकोटलगायत यहाँका धार्मिक पर्यटकीय गन्तव्यस्थल ठप्प थिए । मन्दिरमा दैनिक नित्य पूजापाठ मात्र हुँदै आएको थियो । कालिका भगवती मन्दिर गुठीका अध्यक्ष राजु खड्काले मन्दिर परिसरमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गरिने बताउनुभयो । बडादशैँ पनि नजिकिँदै गएकाले सुरक्षित तबरले भक्तजनलाई पूजापाठको प्रबन्ध गरिने उहाँको भनाइ छ । दशैँको नवदुर्गामा कालिका भगवतीको विशेष पूजाआजा हुन्छ । केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार मठमन्दिरसँगै चलचित्र घर, पार्टी प्यालेस, खेलकुदस्थल, जिमखाना, सौन्दर्य व्यवसाय, तालिम केन्द्रलगायत पनि स्वास्थ्य मापदण्ड पालना गरेर खोल्न पाइने भएको छ ।
चलचित्र घर आधा क्षमतामा चलाउने र अनलाइन टिकट बेच्नुपर्ने मापदण्ड बनाइएको छ । सरकारले तोकेको ‘स्मार्ट लकडाउन’ को प्रावधानभित्र रहेर स्थानीय तहले केन्द्रसँगको समन्वयमा विद्यालय सञ्चालनको निर्णय गर्न पाउने भएका छन् । सभा, सम्मेलन, मेला, उत्सवजस्ता भीडभाडजन्य क्रियाकलापमा भने अझै बन्देज लगाइएको छ ।
यो पनि – पछिल्लो २४ घण्टामा थप ९११ जनामा कोरोना संक्रमित,एक हजार ४२३ जना कोरोना संक्रमणमुक्त
काठमाडौं,२७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७,८७८ पीसीआर र ३१४० एन्टीजेन परीक्षणमा ९११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ७७ हजार १६३पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ८६ हजार ६९४ पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा एक हजार ४२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ३९ हजार ४५७ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि -चार स्थानीय तह कोरोनामुक्त : मृत्यु हुने संख्या ७०
एक सातादेखि यहाँ कोरोनाका सक्रिय सङ्क्रमित सय तलको अङ्कमा सीमित छन् । यही भदौ २० गते ९७ र २४ गते ९२ रहेकामा शनिबार त्यो सङ्ख्या अझ घटेर ८७ पुगेको छ । केही साताअघि सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर सात सय नाघेको थियो । सङक्रमण घटाउन दुई सातासम्म जिल्लाभर कडा निषेधाज्ञा लगाइएको थियो ।
सङ्क्रमण दर घट्दै गएपछि अहिले भने निषेधाज्ञा हटेको छ । स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले सङ्क्रमण स्थिर देखिएको बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय परीक्षण पनि घटेको छ । ताराखोला, बडिगाड, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा सङ्क्रमण शून्य छ । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बागलुङ नगरपालिकामा ४९ जना छन् । जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा पुनः सङ्क्रमण फैलनसक्ने चेतावनी चिकित्सकले दिँदै आएका छन् । सङ्क्रमण घटे पनि ढुक्क भएर बस्ने स्थिति नरहेको धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताउनुभयो ।
“स्वास्थ्य सुरक्षा सावधानी अपनाउने कुरामा हरेक व्यक्ति स्वयं सचेत र जिम्मेवार बन्नुपर्छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणस्थिर भएसँगै अस्पतालमा कोरोनाका बिरामी पनि घटेका छन्, धवलागिरि अस्पतालको आइसोलेशन कक्षमा जम्मा चारजना सङ्क्रमित उपचाररत छन् । सङ्क्रमण उच्च हुँदा दैनिक ३५÷४० जनासम्मलाई उक्त अस्पतालमा राखेर उपचार गर्नुपर्ने स्थिति थियो । अहिले अवस्था केही सहज छ । अस्पतालमा गम्भीर बिरामी पनि कम छन् । सङ्क्रमितमध्ये ८० जना घरमै एकान्तबासमा छन् ।
यस्तै कोरोना सङ्क्रमणका कारण जिल्लामा ज्यान गुमाउनेको सङ्ख्या ७० पुगेको छ । कोरोना महामारीको पहिलो लहरमा जम्मा ११ जनाको मृत्यु भएकामा गत वैशाखयता सुरु भएको दोस्रो लहरमा ५९ जनाले ज्यान गुमाउनुपरेको छ । सो अवधिमा सङ्क्रमित हुनेको सङ्ख्या पनि पहिलो लहरको भन्दा बढी छ । गत वैशाख १ गतेदेखि यता छ हजार ५३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । जिल्लामा पहिलो पटक विसं २०७६ चैत १५ मा कोरोना सङ्क्रमणको घटना पुष्टि भएको थियो । त्यसयता सात हजार बढीमा कोरोना देखिइसकेको छ ।
यो पनि – झापामा कोरोना सङ्क्रमित वृद्ध मृत फेला
झापाको शिवसताक्षी नगरपालिका– ९ का एक कोरोना सङ्क्रमित वृद्ध मृत फेला परेका छन् । आज बिहान ४ः३० बजे ६३ वर्षीय गोविन्द खनालले आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । वृद्धलाई घरको निदाल कपडाको डोरी बनाएर झुण्डिएको अवस्थामा परिवारले देखेपछि प्रहरीलाई खबर गरेका थिए । गत शुक्रबार उनलाई सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमणपछि उनी होम आइसोलेशनमा उपचार गरिरहेको शिवसताक्षी कोभिड फोकल पर्सन रोसन अधिकारीले जानकारी दिनुभयो ।
यो पनि – भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढे
यहाँका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै यहाँ भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला अस्पतालमा हाल एक सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये आधा जतिमा भाइरल ज्वरो देखापर्ने गरेको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो । पहिलेको तुलनामा बिरामीको सङ्ख्या बढ्दै गएको छ । लक्षणहरु कारोनासँग मिल्दोजुल्दा हुने गरेको भए पनि कोरोना नभएर भाइरल ज्वरो रहेको डा जोशीको भनाइ छ ।
मौसममा आएको परिवर्तन र निषेधाज्ञा खलेसँगै ज्वरोका बिरामी बढेका डा जोशीले बताउनुभयो । “निषेधाज्ञा हटेको छ, बजार क्षेत्रमा भिडभाड बढ्यो, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गर्दैनन्, यसले पनि ज्वरोका बिरामी बढेका हुन्”, उहाँले भन्नुभयो, “मौसम परिवर्तन भएको छ, निरन्तर वर्षा भइरहेको छ, दूषित पानीको प्रयोगले पनि यो समस्या आएको हो ।”
उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकीका आउने गरेका श्रीकोट स्वास्थ्य चौकीका प्रमुख वीरसिंह भाटले बताउनुभयो । सरकारी स्वास्थ्य संस्थामा मात्रै नभएर नीजि मेडिकलमा पनि भाइरल ज्वरोका बिरामी बढेका छन् । केही दिनदेखि आफ्नो मेडिकलमा पनि ज्वरोका बिरामी बढ्दै गएका प्रकाश मेडिकल हल मुस्याचौरका सञ्चालक प्रकाशचन्द्र भट्टले जानकारी दिनुभयो । बालबालिकालाई समेत भाइरल ज्वरोले नछाडेको उहाँको भनाइ छ ।
यो पनि – बिरामीलाई हेलिकप्टरकै भर !
काभ्रेपलाञ्चोक, २७ भदौ (रासस) : महाभारत पर्वत शृङ्खला (डाँडापारि) अवस्थित महाभारत गाउँपालिका–५ बुढाखानीको २१ वर्षीया गर्भवती अनुशा तामाङका स्वास्थ्यमा समस्या देखिएपछि गत शुक्रबार उपचारार्थ हेलिकोप्टरबाट काठमाडाँै लगियो । लामो ‘ब्यथा’ तथा दिसापिसाव रोकिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि उनीलाई तत्काल हेलिकोप्टरको व्यवस्थापन गरी प्रसूतिगृह थापाथली लगिएको वडाध्यक्ष रविन मोक्तानले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षाले कच्ची सडक विभिन्न स्थानमा क्षति पु¥याएपछि सदरमुकामस्थित अस्पतालमा ल्याउन सम्भव छैन ।
“निःशुल्क हवाई उद्धार निर्देशिका–२०७७ अनुसार अनुशालाई सेवा दिइएको हो”, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो । उहाँले हालसम्म छ हवाई सेवा प्राप्त गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लामो कच्ची सडकमा वर्षायाममा बिरामीलाई लैजान कठिन हुने भएकाले डाँडापारिका जनताले हेलिकोप्टरकै भर पर्नुपर्ने हुन्छ ।”
यसअघि गत साउन अन्तिम हप्ता डाँडापारिस्थित खानीखोला गाउँपालिका–४ डाँडागाउँका ७० वर्षीया सुन्तामाया जिम्बालाई उपचारका लागि हेलिकोप्टरमार्फत धुलिखेल अस्पताल ल्याइएको थियो । टाउको दुख्ने र हात झम्झमाउने रोगबाट पीडित उहाँलाई पनि गाउँको कच्ची सडकबाट एम्बुलेन्समा ल्याउन सम्भव नहुँदा हवाई चार्टर्ड गर्नुपर्ने बाध्यता बनेको थियो । तत्कालीन समयमा उहाँका आफन्तले रु ७० हजार भाडा तिरेर धुलिखेल ल्याउनुपरेको थियो ।
गतवर्षको साउनमै सोही वडास्थित जगथलीको एक गर्भवतीको हेलिकोप्टरमार्फत नै उद्धार गरिएको थियो । केही दिनदेखि ब्यथाले च्यापेपछि उहाँलाई अस्पताल लैजानुको विकल्प नभएपछि हेलिकोप्टर मगाइएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलाल बताउनुभयो । “गम्भीर प्रकृतिको बिरामी पर्दा वर्षायामका बेला हेलिकोप्टरको विकल्प छैन”, उहाँले भन्नुभयो ।
गतसाल नै तीन दिनदेखि झाडापखालाले ग्रस्त खानीखोला गाउँपालिका–६ को १७ वर्षीया रञ्जिता थोकरलाई उपचारार्थ अस्पताल लैजान हेलिकोप्टर गाउँ पु¥याइयो । तर हेलिकोप्टर रित्तै फर्कनुप¥यो । विडम्बना, हेलिकोप्टर गाउँ पुग्दैगर्दा उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममै मृत्यु भइसकेको थियो । उहाँको थप उपचारका लागि काठमाडौँ लैजान परिवार र जनप्रतिनिधिले निर्णय गरे तर, उहाँ बच्न सक्नुभएन । वर्षायाममा ग्रामीण भेगमा भएका सडक भत्किने र पहिराले अवरुद्ध पर्दा जिल्लाको दक्षिणी क्षेत्र महाभारत डाँडापारिका बासिन्दाले बिरामी पर्दा हेलिकोप्टरको भर पर्नुपर्ने हुन्छ । हेलिकोप्टरको भाडा तिर्न नसक्नेले उपचारबाट बञ्चित हुनुपर्ने बाध्यता पनि देखिएको छ । डाँडापारिस्थित टाढाको विकट क्षेत्रमा महङ्गो भए पनि सडक अवरुद्ध हुँदा हेलिकोप्टर निकै सजिलो साधन मानिन्छ ।
मनसुन सुरु भएसँगै बाढीपहिराले डाँडापारिका कच्ची सडक अवरुद्ध हुँदा गाउँपालिकामार्फत हेलिकोप्टर ‘चार्टर्ड’ गर्नुपर्ने खुलालले बताउनुभयो । “पहिले पनि समयमै उपचार नपाउँदा केही गर्भवती तथा सुत्केरी र बिरामीको गाउँमै मृत्यु हुन्थ्यो, अहिले स्थानीय तहको सहयोगमा स्वास्थ्य जोखिम भएकालाई केही सहजता भएको छ”, उहाँले भन्नुभयो ।
भौगोलिक विकटता तथा जारी अविरल वर्षाका कारण कच्ची सडक अवरुद्ध हुँदा काभ्रेका डाँडापारि क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारतमा हवाई उद्धार गर्नुपर्ने बाध्यता रहँदै आएको छ । महाभारतका अध्यक्ष जिम्बाले वर्षायाममा डाँडापारि क्षेत्रमा बिरामीको उद्धारमा निकै कठिनाइ हुने गरेको दुःखेसो गर्नुहुन्छ । हेलिकोप्टरबाट बिरामी÷गर्भवतीको उपचाररार्थ उद्धार गरिए पनि जिल्ला सदरमुकामका अस्पताल लैजान हवाई अवतरण गर्न अर्को व्यवस्थापन गर्नुपर्ने हुँदा काठमाडौँ लैजानुपर्ने अर्को बाध्यता रहेको छ ।



प्रतिक्रिया